१. प्रधानमन्त्री देउवाले मागे भारतसँग थप तीनवटा नयाँ हवाई रुट
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारसँग थप तीन वटा नयाँ हवाई रुट मागेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता र नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठकमा नयाँ तीन वटा हवाई रुट उपलब्ध गराउन अनुरोध गरिएको हो ।
‘हामीले सडक, रेल र हवाई कनेक्टीभिटीका क्षेत्रमा छलफल गयौं,’ नेपाल–भारत उच्चस्तीय द्विपक्षीय बैठकपछि आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘महेन्द्रनगर, नेपालगन्ज र जनकपुरबाट थप हवाई रुटको लागि अनुरोध गरेका छौं ।’
प्रधानमन्त्रीको रुपमा पाँचौं पटक भारत भ्रमणमा रहेका देउवाले कोरोना नियन्त्रणमा खोप उपलब्ध गरि सहयोग गरेकोमा भारत र भारतीय जनतालाई धन्यवाद दिएका थिए ।
भारतीय प्रधानमन्त्रीसँगको भेटमा राजनीतिक, आर्थिक र सामाजिक सबै पक्षमा गहन कुराकानी भएको उनले जनाए ।
उनले नेपाल र भारतले समावेशी विकासको साझा उदेश्य लिएको समेत बताए । भारतसँगको सम्बन्ध नेपाललाई निकै महत्वपूर्ण रहेको भनाई उनको थियो । ‘भारतको समृद्धि र विकासबाट हामी पनि फाइदा लिन चाहन्छौं,’ प्रधानमन्त्री देउवाले भने ।
२. भारतमा विद्युत निर्यात गरेर नेपालले आर्थिक प्रगति गर्नसक्छः भारतीय प्रधानमन्त्री मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट भारतमा विद्युत निर्यात गर्ने योजनाले नेपालको आर्थिक प्रगतिमा ठूलो योगदान पुग्ने बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवासँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले पञ्चेश्वर परियोजनालाई गति दिन दुवै देशका प्रधानमन्त्री सहमत भएको जनाउँदै विद्युत निर्यातले नेपालको अर्थतन्त्रमा सुधार आउने समेत मोदीले बताएका हुन् ।
‘भारतीय कम्पनीद्वारा नेपालको विद्युत परियोजनामा अझ धेरै भागेदारीका विषयमा सहमति व्यक्त गरेका छौं,’ मोदीले हैदरावाद हाउसबाट भने, ‘अब नेपालले भारतका लागि विद्युत निर्यात गर्दैछ, यसले नेपालको आर्थिक प्रगतिमा योगदान दिनेछ ।’
नेपालमा ‘रुपे’को कार्डको सुरुवातपछि आर्थिक कनेक्टीभिटी नयाँ अध्याय सुरु भएको जनाउँदै मोदीले अरु नेपाल प्रहरी प्रतिष्ठान, नेपालगञ्जको एकीकृत चेकपोष्ट र रामायण सर्किटले दुवै देशलाई थप नजिक जोड्ने उनले जनाए ।
देउवासँग व्यापार र क्रस बोर्डर कनेक्टिभिटीलाई प्राथमिकता दिने विषयमा जोड गरेको उल्लेख गर्दै जयनगर–कुर्था रेललाइनको उद्घाटन सुरुवाती मात्रै भएको मोदीको भनाइ छ ।

३. पञ्चेश्वर परियोजना गेम चेन्जर साबित हुनेछ: भारतीय प्रधानमन्त्री मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर परियोजना तेज गतिमा अगाडि बढाउन सहमति भएको बताएका छन् । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग नयाँ दिल्लीको हैदराबाद हाउसमा भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले पन्चेश्वर परियोजनालाई तीव्र ढंगले अगाडि बढाउन सहमत भएको बताएका हुन् ।
यो परियोजना यस क्षेत्रको विकासका लागि एउटा गेम चेन्जर साबित हुने मोदीले विश्वास व्यक्त गरे ।
माेदीले विभिन्न परियोजनाको प्रगतिको समीक्षा र भविष्यको रुपरेखाबारे बिचार विमर्श गरेको बताए । उर्जा क्षेत्रमा दुबै पक्षले लाभ उठाउने विषयमा पूर्णसहमत भएको पनि उनले बताए ।
४. नेपाल र भारतबीच चारवटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर
नेपाल र भारतबीच आज चारवटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा ती समझदारी तथा सम्झौतापत्रमा दुई देशका सम्बन्धीत अधिकारीले हस्ताक्षर गरेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितीमा भएको नेपाल–भारत द्विपक्षीय बैठकपछि समझदारी तथा सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो ।
समझदारी तथा सम्झौता पत्रमा भएको हस्ताक्षरलाई दुवै देशका प्रधानमन्त्रीले अवलोकन गरेका थिए ।
शनिबार नेपाल र भारतबीच भएका चारवटा समझदारी तथा सम्झौतापत्रमा अन्तर्राष्ट्रिय सोलार गठबन्धनको लागि फ्रेमवर्क सम्झौता, रेल क्षेत्रमा प्राविधिक सहयोग अभिवृद्धि गर्ने समझदारी पत्रको आदानप्रदान, पेट्रोलियम पदार्थको आपूर्ति सम्बन्धी सम्झौता र पेट्रोलियम पदार्थको क्षेत्रमा प्राविधिक विशेषज्ञता आदानप्रदान सम्बन्धी सम्झौता रहेका छन् ।

५. देउवा र मोदीले संयुक्तरुपमा गरे चार परियोजनाको उद्घाटन
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले आज चारवटा परियोजनाको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
भारतको हैदरवाद हाउसमा नेपाल–भारत उच्चस्तरीय बैठक सम्पन्न भएपछि उनीहरुले त्यहींबाट भर्चुअल रुपमा चार वटा परियोजनाको उद्घाटन गरेका हुन् ।
संयुक्त रुपमा उद्घाटन गरिएका परियोजनामा भूकम्पपछि पुनर्निर्माण भएका १३२ वटा स्वास्थ्य चौकी, नेपाल र भारतबीच रुपी कार्ड सञ्चालन, ९० किलोमिटर लामो १३२ केभीको सोलु करिडोर प्रसारण लाइन र कुर्था–जयनगर ३५ किलोमिटर रेल सेवा रहेका छन् ।