के छ, रमेश खरेलहरुले काठमाडौंमा जित्ने आधार ? (भिडियो सहित)

गत पुषमा नेपाल सुशासन पार्टी गठन गरेपछि पूर्व डिआइजी रमेश खरेल चर्चामा आए । त्यसपछि चर्चा विहीन बनेका खरेल गएको चैत १६ देखि पुनः चर्चामा छन् । यसपटक रमेश खरेलको चर्चाको कारण हो, काठमाडौं महानगरको मेयरमा चुनाव लड्ने तयारी ।


रमेश खरेल के मेयर बन्न सक्लान् ?

दिवस गुरागाईं (टिप्पणीकार)
धेरै नेपालीलाई थाहा छ कि, रमेश खरेल नेपाल प्रहरीका भूतपूर्व डिआईजी हुन् । अनि यो पनि सबैले स्मरणमा राखेको कुरा हो, कि उनी इमानदार पुलिस अफिसर हुन् । विभिन्न समयमा प्रदर्शन गरेको इमान्दारिता र हिम्मतका कारण उनी नेपाली जनमाझ प्रिय छन् । अनौपचारिक नै सही, सामाजिक सञ्जालले पटक पटक रमेश खरेलको लोकप्रियताको सर्वेक्षण सार्वजनिक गरेको छ । प्रहरी सेवामा रहुन्जेल उनी हिरो नै थिए ।

सर्वेन्द्र खनाल प्रहरी प्रमुख भएपछि भने उनले २०७४ चैत २८ मा राजीनामा दिए । ह्युलेट भएर बस्दिन भनिरहँदा पनि उनले वाहिरै बसेर सहयोग गर्छु भन्ने परिपक्वता प्रदर्शन गरे । उनले मुद्धा मामिला गरेर आइजीपीमा दावी प्रस्तुत गरेनन् । बरु नयाँ आइजीपीलाई बधाई दिँदै कुर्सी खाली गरिदिए ।

रमेश खरेल सुरुमा भलिबल खेलाडिको रुपमा प्रहरी सेवामा प्रवेश गरेका थिए । उनी राष्ट्रिय भलिबल टिमको कप्तान समेत भए । एकबर्षपछि इन्स्पेक्टरमा भिडेर नाम निकालेपछि भने उनी आफ्ना ब्यचीहरुमा कहिल्यै दोस्रो भएनन् । प्रहरी भित्रका विकृति बिसंगतीहरु सार्वजनिक गर्ने गरेपछि भने उनलाई हाकिमहरुले मन पराएनन् । उनी राजनीतिककर्मी र आफ्ना हाकिममाझ जति छुच्चो हुँदै जान्थे त्यतिनै जनताको प्रिय हुँदै गए । उनको २९ बर्षे प्रहरी जीवनलाई देखाउन भोजपुरी भाषामा चलचित्र नै निर्माण गरिएको छ ।

काठमाडौंमा जित्ने आधार
२०७२ सालको निर्वाचनमा भन्दा २० हजार ९ सय ३३ मतदाता बढेपछि काठमाडौं महानगरमा ३ लाख २ सय मतदाता भएका छन् । ६४ हजार ९ सय मत ल्याएर एमालेका विद्यासुन्दर शाक्यले जित्दैगर्दा कांग्रेसका राजुराज जोशीले ४५ हजार २ सयमा चित्त बुझाउनु परेको थियो । माओवादी पार्टीले पनि सातहजार मत कटाएको थियो ।

काठमाडौं महानगरपालिकाको महत्वपूर्ण पक्ष चाहिँ के थियो भने ४१ हजार ९ सय मत ‘स्वीङ’ भएको थियो । विवेकशिल पार्टीकी रञ्जु दर्शनाले २३ हजार ४ सय र अर्का स्वतन्त्र उम्मेदवार किशोर थापाले १८ हजार ४ सय मत ल्याएका थिए । यस पटकको थप आकर्षण चाहिँ झन्डै २१ हजार नयाँ मतदाता हुन् । अर्थात ६२ हजारभन्दा बढी मतदाता एमाले र कांग्रेसलाई भोट नहालेकाहरु छन् ।

रञ्जु दर्शना र किशोर थापा जस्ता कमै जनताले चिनेकाहरुले त यतिधेरै मत ल्याउन सके भने रमेश खरेल उनीहरुभन्दा चर्चित र ह्याब्बी वेट पनि छन् । उनले खासगरी तिनै ६२ हजार मतदातालाई रिझाए पुग्छ ।

रमेश खरेल आफ्नो कामले आम रुपमा परिचित भइसकेका उम्मेदवार हुन् । तर ५ बर्ष महानगर हाँकेको एमाले जनअपेक्षा बमोजिम काम गर्न नसकेकी नुर गिरेको अवस्थामा चुनावमा जाँदैछ । ठूला ठूला चुनावी घोषणा गरेर पुरा नगरेको एमालेसँग नयाँ र विश्वासिला एजेन्डा हुने छैनन् । फेरि ५ बर्षअघि एमाले अध्यक्ष केपी ओलीको राष्ट्रबादी डंका राम्रैसँग बजेको थियो । ५ बर्षमा त्यो फिका मात्र होइन, पखालिएर पुरानै रंग देखिईसकेको छ । त्यसकारण एमालेको असंतुष्ट भोटको पनि उनले अपेक्षा राख्दा हुन्छ ।

यीनै कारणले खरेलले एमालेसँग होइन कांग्रेससँग प्रतिस्पर्धा गर्नुपर्ने अग्रिम अड्कल काट्न सकिन्छ । यसकालागि जनतामाझ गएर ब्यवहारिक प्रतिवद्धता गर्नु र जनतालाई विश्वासमा लिनु चाहिँ पर्छ नै ।

रमेशदेखि डर
रमेश खरेल काठमाडौंको मेयरमा चुनाव लड्ने कुराले मात्रै पनि ठूला पार्टीलाई झस्काएको छ । उनले स्वतन्त्र मत तान्ने डर त उनीहरुलाई हुनु स्वभाविक नै हो । पार्टीगतरुपमा समेत उनले घाटा लगाउने उनीहरुको बुझाई रहेको छ ।

ठूला दलका उम्मेदवारप्रति जनताले आशा मार्न थालेको देखिन्छ । सामाजिक सञ्जालमा ब्यक्त निराशाले यही भन्छ । अघिल्लो निर्वाचन दलहरु धेरैपछि सहभागि हुन पाएको महानिर्वाचन नै थियो । त्यसवेला समेत गैह् दलीय वा नामै नसुनेको दलका उम्मेदवारले काठमाडौंबाट मनग्गे मत ल्याउनु चानचुने कुरा थिएन । तर, यसपटक निर्वाचितहरुले कामै गर्न नसकेर वातावरण निरासामा वदलिएको अवस्था छ । त्यसकारण पनि सक्षम स्वतन्त्रहरुकालागि यो चुनाव अवसर बन्न सक्छ ।

रमेश खरेलले काठमाडौं मेयरमा उम्मेदवार दिए भने उनीमाथि जनताको विश्वास पोखिन सक्छ । किनभने जनताले चाहेर पनि उनीजति साहासी, दृढ, सकारात्मकसोच र लगनशिलता भएको उम्मेदवार पाउन सजिलो छैन । रमेशलाई काठमाडौंको मेयर जति आवश्यक छ, त्यसभन्दा बढी काठमाडौं नगरबासीलाई रमेश खरेलहरुको आवश्यकता देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *