चिकित्सा शिक्षा आयोगले अस्ति चैत्र १८ बाट सञ्चालन गरेको एमबीबीएस प्रवेश परीक्षामा ५ जना नक्कली विद्यार्थी पक्राउ परे । काठमाडौंको बालकुमारीस्थित सिसिआरसी कलेजबाट महोत्तरी सम्सी–४ का अमर पण्डित– २२, त्यही कलेजबाट सर्लाही चक्रघट्टा–४ का अनिकेत चौधरी–२२, ग्रामर स्कुल कोटेश्वरबाट रामआशिष यादव–२६ पक्राउ परेका छन् ।
पण्डितले जनकपुर–१४ का वृकेश यादव–२१, चौधरीले धनुषा अन्दुपट्टी–१ का आजिवकुमार यादव–२२ एवं राम आशिष यादवले रुपन्देही ओमसतिया –३ का स्मित सिंह–२० को परीक्षा दिइरहेका थिए । त्यस्तै भारतीय नागरिक ईस्तियाख अहमद–२४ ले बानेश्वरस्थित एम्बिसन कलेजमा महोत्तरी सम्सी–५ का सन्नीकुमार साह–२३ को परीक्षा दिइरहेका थिए । रोचक के भने आफ्नो स्थानमा अहमदलाई नक्कली परीक्षार्थी खडा गरेर साह भने पशुपतिनाथको दर्शन गरिरहेका थिए । महानगरिय प्रहरी अपराध महाशाखाले साहलाई पशुपति परिसरबाटै पक्राउ गरेको थियो ।
जानकारका अनुसार चिकित्सा शिक्षा आयोगले प्रवेश परीक्षामा सहभागी हुने परीक्षार्थीहरुलाई उपलब्ध गराएको प्रवेशपत्रमा कमजोर व्यवस्था गरेकाले नक्क्ली विद्यार्थीहरु सहजै परीक्षाहलमा प्रवेश गर्न सफल भएका हुन् । आयोगले प्रवेश परीक्षाका लागि अनलाइनबाट फर्म भरेर प्रवेशपत्र लिन सक्ने व्यवस्था गरेको थियो ।
तर, त्यस्तो व्यवस्था गर्दा रहेको त्रुटीले सक्कलीका स्थानमा नक्कली विद्यार्थीहरु परीक्षार्थी बन्न सफल भएका थिए । स्रोतका अनुसार प्रवेश परीक्षामा फर्म भर्दा सक्कली विद्यार्थीले आफ्नो नागरिकता समेत नक्कली बनाएका थिए । अनि त्यो नक्कली नागरिकतामा नक्कली विद्यार्थीकै फोटो राखेर अनलाइनबाट आवेदन भरेका थिए । त्यही आवेदनका आधारमा चिकित्सा शिक्षा आयोगले उनीहरुलाई प्रवेशपत्र दिएको थियो ।
त्यही प्रवेश पत्र बोकेर भाडाका नक्कली विद्यार्थीहरु सक्कलीको परीक्षा दिन हलमा छिरेका थिए । अर्थात प्रवेशपत्रमा नाम सक्कलीको थियो । फोटो भने नक्कली परीक्षार्थीको टाँसिएको थियो । एबीबीएस पढ्ने रहर र सामथ्र्य भएका तर कमजोर विद्यार्थी एवं तिनीहरुका अभिभावकले लामो योजना बनाएर भाडामा नक्कली विद्यार्थी खोजेका थिए ।
‘चिकित्सा शिक्षा आयोगले प्रवेशपत्रमा (वायोमेट्रिक) ‘फिङ्गर प्रिन्ट’को व्यवस्था मात्र गरि दिएको हुन्थ्यो भने नक्कली विद्यार्थीहरु सहजै परीक्षार्थी बन्न पाउने थिएनन्’, स्रोत भन्छ, ‘परीक्षा हलमा पस्दा सक्कली विद्यार्थीको ‘आई रेटिना’ वा ‘फेस रिडिङ’ गर्ने उपकरण राखिदिएको भएपनि नक्कली विद्यार्थी सहभागी हुन पाउने थिएनन् ।’
प्रविधिले छलाङ मारिसक्दा पनि चिकित्सा शिक्षा आयोगले परम्परागत ढंगले नै परीक्षा सञ्चालन गरेकाले इमान्दारिता निख्र्रिएका सक्कली विद्यार्थीले गरिब परिवारका जेहेन्दारहरु खोजेर नक्कली विद्यार्थी खडा गरेका थिए ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी भने आयोगको कमजोर व्यवस्थापनका कारण नक्कली विद्यार्थीले सहज पहुँच पाएका स्वीकार गर्न तयार छैनन् । उपाध्यक्ष गिरिका अनुसार परीक्षार्थीहरुको फिङ्गर प्रिन्ट लिइएको थियो । गिरि भन्छन्, ‘हामीसँग नक्कली शंका गरेका विद्यार्थीहरुलाई अनुसन्धान गर्ने पर्याप्त डकुमेन्ट छन् ।’ तर, चिकित्सा शिक्षा आयोगको भन्दा अपराध महाशाखाकै सक्रियतामा नक्कली परीक्षार्थीहरु पक्राउ परेका थिए ।
तस्बिर बाँयाबाट क्रमशः इस्तियाक अहमद, रामआशिष यादव, सन्नीकुमार साह, अनिकेत चौधरी, अमर पण्डित ।