ओलीले प्रथम सहिद भनेको बाकावीर को थिए ? (भिडियो सहित)

एमालेका अध्यक्ष केपी शर्मा ओली इतिहास र पौराणिक ग्रन्थहरुले पुष्टि गरेका तथ्यहरुमा सहजै आफ्ना फरक तर्क राखिदिने गर्छन् । उनका तर्क जतिनै हावादारी लागेपनि आखिरमा उनी तीन पटक प्रधानमन्त्री भइसकेको र सवैभन्दा ठूलो पार्टीको अध्यक्ष समेत भएकाले समाचार बन्ने गर्छन् नै । यस्तो पनि आरोप लाग्ने गर्छ, ओली आफ्ना भनाई बिक्रिगर्न उट्पट्याङ बोल्छन् ।

इतिहासमाथि अन्धभक्ती हुन जरुरी छैन । यसको पुनरलेखन पनि हुनसक्छ । तर, सतही र हावादारी तर्कले इतिहास बदलिदैन । पछिल्लो पटक एमाले अध्यक्ष केपी ओलीले इतिहास परिवर्तनकालागि गरेको तर्क हो, ‘प्रथम सहिद लखन थापा होइन, बाकाबीर हुन् ।’ इतिहास, राष्ट्र र आम जनताले मानेको पहिलो सहिद लखन थापा नभएर बाकावीर हुन् भन्ने ओलीको नयाँ तर्कमा कति दम छ ?

कुरो २०७८ चैत १८ गतेको हो । प्रसंग थियो, एमालेनिकट अनेरास्ववियुद्वारा आयोजित केन्द्रीय कमिटीको प्रथम बैठक तथा विस्तरित भेलालाई सम्बोधन । यही कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको पहिलो शहीद बाकावीर भएको बताइदिए ।

भाषणक्रममा ओलीले भने – ‘पहिलो सहिदको विषयको बुझाइमा सबैमा दोधारपन रहेको छ ।’ तर ओलीको तर्कमा भने दम देखिदैन । ओलीले भनेका थिए, – ‘बैतडी, बझाङ कतातिर हुन् बाकावीरले पहिलोपल्ट राणाशासनविरुद्ध लड्नुपर्छ भनेर सेना नै संगठित गरेका थिए र उनलाई पछि राणा शासनले गिरफ्तार गरेर हत्या गरेको थियो । र, उनी पहिलो शहीद हुन् ।’

ओलीको भनाइ त्रुटीपूर्ण छ । उनलाई बाकावीर कुन ठाऊँका हुन् भन्ने समेत जानकारी छैन । बैतडी, बझाङतिरका भनिदिन्छन् । खासमा बाकावीर अछामका हुन् । र, ओलीले भनेजस्तो उनलाई राणा शासनले गिरप्तार पनि गरेको होइन । राणाका सिआइडीहरु बाकावीरको विश्वासी भएर पसे र उनलाई काटेर मारिदिए । कथा यतिमात्र होइन ।

को थिए, बाकावीर ?
बाकावीर अर्थात बलदेव शाह सुदूर पश्चिमको अछाम जिल्ला निवासी थिए । वि.सं. १९०६ सालमा बाकावीरले राज्यसँग विद्रोह गर्न खोजेको इतिहासका जानकारहरु बताउँछन् ।

बाकावीर अर्थात बलदेव शाह अछामी राजा रणभुप शाहका कान्छा छोरा थिए । उनीहरुको राजा र राजकुमारको पदवी राणा शासनपछिसम्म पनि कायम थियो । यही कारण पनि बाकावीरको सम्बन्ध र सम्पर्क तत्कालीन राजा राजेन्द्रको दरबारसम्म रहेको मानिन्छ ।

देशको सुदूर–पश्चिम क्षेत्रमाथि निगरानी राख्न राणाहरुले अछाम जिल्लाको बान्निगढी भन्ने स्थानमा सैनिकक्याम्प राख्न लगाए । भनिन्छ, बान्निगढीमा राणा सरकारको सैनिकक्याम्प बसि सकेपछि अछामी जनताका दुःखका दिनहरु सुरु भए । राणाका सेनाहरु गाऊँ पसेर खानेकुरादेखि चेली बेटीका इज्जत लुटेदथे । उनीहरुको यही ज्याजतीका विरुद्धमा बाकावीरले सहेनन् । र, उनी विद्रोही भए ।

राणाका सिपाहीहरुको अत्याचारले सिमा नाघ्न थालेपछि बाकावीरले पनि सेना जस्तै समूह तयारगर्न थाले । बाकावीरको बिद्रोहको कथा काठमाडौंमा राणाहरुको कानसम्म आइपुग्यो । त्यसैले बाकावीरको खाजी कार्य र अछाममा सुरक्षा निगरानी ह्वात्तै बढाईयो । राज्यका सेनासँग उनको केही लागेन । तर पनि उनलाई झुक्याएर आछामतिरकै स्वारहरुले टाउको काटेर राणाभक्ति प्रदर्शन गरे ।

पहिला ती स्वाँरहरु बाकावीरको सहयोगी भएर उनको क्याम्पमा छिरे । र, मौका पाउनासाथ उनको टाउको काटे । कथा यही नै हो ।

यसरी हेर्दा बाकावीरले प्रथम सहिद मानिएका लखन थापा मगरभन्दा २७ बर्षअघि नै साहदत प्राप्त गरेका थिए । लखन थापालगायत उनका ७ अनुयायीलाई राणा शासकले वि.स. १९३३ मा मनकामना मन्दिर अगाडिको रुखमा झुण्ड्याइएर मारेका थिए । लखन थापालाई आजभन्दा २६ बर्षअघि सरकारले सहिद घोषणा गरेको थियो ।

ऐतिहासिक तथ्य फेरबदल गर्ने तरिका सस्तो भाषणले पक्कै हुँदैन । यसकालागि सरकारी प्रक्रिया हुनु पर्छ । पूर्व प्रधानमन्त्री ओलीलाई बाकावीर प्रथम सहित भएको ज्ञान पहिला देखिनै थियो कि भर्खरै हो ? पहिलादेखि नै त्यो ज्ञान थियो भने आफू प्रधानमन्त्री भएकाबेला किन प्रक्रिया सुरु गरेनन् ? भर्खरै थाहा भएको हो भने इतिहासकार मार्फत तथ्य राख्न किन धर्य गरेनन् ? प्रश्न पूर्व प्रधानमन्त्री ओलीलाई ।

स्रोत – स्वअध्ययन, इतिहासका जानकारहरु तथा इन्टरनेटको सहयोगमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *