झापाको बिर्तामोडस्थित बी. एन्ड सी. अस्पताल, पूर्वाञ्चल क्यान्सर अस्पताल र धाइजनमा प्रस्तावित बी.एन्ड सी. मेडिकल कलेजका कार्यकारी निर्देशक हुन्, दुर्गा प्रसाईं । ६ बर्षअघि नै पूर्वाधार निमार्ण सम्पन्न गरेर पनि सञ्चालन अनुमती (सम्बन्धन) नपाएको बी. एण्ड सी. मेडिकल कलेज खण्डहरमा परिणत हुन थालेको छ । सरकारले तोकेका सम्पूर्ण मापदण्ड पुरा गर्दा गर्दैपनि यस कलेजले सञ्चालन अनुमती पाएको छैन । ‘मेडिकल’ शिक्षाको ‘वेसिक साइन्स’ अध्ययनका लागि आवश्यक पर्ने करोडौं मूल्यका उपकरण खरिद गरिएका छन् । तर, सम्बन्धन नपाएकै कारण उपकरणहरु ढुसी ग्रस्त छन् ।
मेडिकल क्षेत्रकै केही अगुवाहरुले प्रसाईँलाई ‘माफिया’ भनेर कठोर आरोप पनि लगाउने गरेका छन् । धरातलीय यथार्थ (ग्राउण्ड रियालिटी) के हो त ? नेपालमुहारले तथ्य जाँच गरेको छ । स्थलगत अध्ययनका क्रममा प्रसाईँलाई सोलोडोलो आरोप लगाउने अगुवाहरुले प्रस्तावित बी. एन्ड सी. मेडिकल कलेज वा बी. एन्ड सी. अस्पतालको अवलोकन नै नगरेको वा गर्न नचाहेको पाइएको छ ।
झापामा प्रसाईँका शुभ चिन्तकहरु ठूलो पक्तिमा भेटिन्छन् । उनीहरु प्रसाईंले मोफसलमा बसेर स्वास्थ्य क्षेत्रमा क्रान्ति नै ल्याएको बताउँछन् । खरो र प्रष्ट स्वभावका प्रसाईं आफ्ना विरोधीहरुलाई सधैं ‘फायर’ खोलिरहेका हुन्छन् । त्यो ‘फायर’ले धेरै जसो उनैलाई ‘व्याक फायर’ गरिरहेको छ । तर, उनी आफ्नो अडान र सोंचबाट टसटस छैनन् ।
नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा उद्योग विभाग उपप्रमुख समेत रहेका प्रसाईंसँग बिर्तामोडमा पुगेर नेपालमुहार डटकमकालागि माधव बस्नेत र दिवस गुरागाईँले लामो र कडै कुराकानी गरेका छन्, खासगरी उनलाई लगाइएका आरोप, उनको स्वभाव र बी.एन्ड सी. कलेजले सम्बन्धन नपाउनुको कारणका सम्बन्धमा । प्रस्तुत छ, कुराकानीको भिडियो अंश