बामपुड्के ‘सेकेन्ड म्यान’हरु

१८ चैतमा भारत भ्रमणमा निश्कदा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार र पार्टीमा दुई फरक पात्रलाई कार्यवहाकको जिम्मेवारी सुम्पिए । सरकारकोलागि गृहमन्त्री बालकृष्ण खाँड र पार्टीकोलागि उपसभापति पूर्णबहादुर खड्का कार्यवहाक प्रमुख बने ।

पाँच पटक प्रधानमन्त्री भएका शेरबहादुर देउवाले मुलुकलाई दिशानिर्देश गर्ने सवालमा के काम गरे ? देउवा मात्र होइन वर्तमानमा पार्टीको प्रमुख भएर क्रियाशिल कुनै पनि नेताले देशलाई समृद्ध बनाउन भूमिका खेलेको विश्वास जनतालाई छैन । तर, बिडम्बना चाहिँ के छ भने यी ‘फस्ट म्यान’भन्दा उनीहरुका ‘सेकेन्ड म्यान’ झनै बामपुड्का, ‘भिजनलेस’ र क्षमताविहीन देखिन्छन् । सरकारको कार्यवहाक पाउने गृहमन्त्री खाँड र कांग्रेस पार्टीको कार्यवहाक पाएका खड्का पनि अपवाद होइनन् ।

नेपाली जनता राजनीतिप्रति किन सकारात्मक छैनन् ? नेतृत्वका हिसावले हेर्दा सामान्यतया यसका तीन कारण छन् । पहिलो, वर्तमानमा ‘फष्ट म्यान’का रुपमा पार्टीको नेतृत्व गरिरहेकाहरुले देशलाई दिशा दिन सकिरहेका छैनन् । आफू शीर्ष नेता भएको अनुभव र अनुभूती समेत उनीहरुमा देखिन्न । देश र जनताको पक्षमा बोल्नेभन्दा आफू, गुट र पार्टीको रक्षाकालागि जुनसुकै हदमा पुगेर पनि अर्कोलाई तथानाम गाली गर्दिन्छन् । (गाली गलौजको सवालमा कांग्रेस तुलनात्मकरुपमा शालीन लाग्छ ।)

दोस्रो कारण, शीर्ष नेतापछिको अर्को नेता अर्थात ‘सेकेन्ड म्यान’हरु झनै आशलाग्दा छैनन् । यस्तो लाग्छ, ‘फष्टम्यान’को विश्वासी भएका कारण वा पार्टी ब्यालेन्स् गर्ने नाममा उनीहरुलाई ‘सेकेन्ड म्यान’ बनाएको छ । कतिपय चाहिँ निरन्तरताले त्यहाँसम्म पुगेका छन् ।

तेस्रो कारण, देश र जनताको पक्षमा राजनीति गर्लान् र भोलीको दिन सुनौलो बनाइदेलान् भन्ने दुरदुरसम्म अर्थात दोस्रो–तेस्रो पुस्ताका नेतासम्म पनि देखिदैनन् । आज, यी तीन मध्येको दोस्रो कारण अर्थात पार्टीका ‘सेकेन्ड म्यान’हरुको वारेमा चर्चा गर्न खोजिएको छ । कुरा सुरु गरौं, कांग्रेस पार्टीको ‘सेकेन्ड म्यान’ नेताबाट –

नेपाली कांग्रेस (पूर्णबहादुर खड्का)
– गत १५ चैतमा सम्पन्न नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सत्तागठबन्धनमा आवद्ध दलहरुसँग तालमेल गर्ने निर्णय गर्दै उपसभापति पूर्णबहादुर खड्कालाई चुनावी कमान्डर तोक्यो । पहिलो वरीयताको उपाध्यक्ष भएर मात्र होइन, सभापति शेरबहादुर देउवा र देउवा पक्षको विश्वासी भएकै कारण उनलाई चुनावी कमान्डरको जिम्मेवारी हात लागेको हो भन्न हिच्किचाउनु पर्दैन ।

चुनाव हाँक्ने जिम्मेवारी प्राप्त गर्नुको मतलव पार्टीको पक्षमा लहर सृजना गर्ने ल्याकत भएको नेता भन्ने बुझिन्छ । तर, के नेपाली कांग्रेसको वर्तमान नेतृत्वमा सबैभन्दा ल्याकत राख्ने नेता पूर्णबहादुर खड्का नै हुन् त ? खड्काको आजसम्मको सक्रियता नियाल्दा उनी सभापति देउवाको छायाँमा सीमित छन् । भनिन्छ, उनले गण्डकी पूर्व र कर्णाली पश्चिमलाई चिहाउनेसम्म प्रयास गरेका छैनन् ।

गृहमन्त्रालय लगायत अन्य केही मन्त्रालय सम्हालेको अनुभव बटुलेका उनीसँग मुलुकको समृद्धिकालागि आवश्यक एजेन्डा वा विचार रहेको पाईंदैन । २०३१ सालदेखि राजनीतिमा क्रियाशील खड्काले संसदीय चुनावमा प्रायः विजय हात पारेका छन् । तर, उनले देश र जनताको पक्षमा माखो मारेको देखिएको छैन ।

यदी नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा पछि नेतृत्वमा बरिष्ठ नेता रामचन्द्र पौडेल वा शेखर कोइराला आएपनि तात्विक फरक हुने देखिदैन । उनीहरु पनि देउवाको निरन्तरताभन्दा माथि हुने छन् भनेर आशा गर्न सकिन्न ।

एमाले (ईश्वर पोखरेल)
– अध्यक्ष केपी ओली बराबरको नेता एमालेमा छैनन् । तर, ओली पछि को ? भन्ने प्रश्नको जवाफकालागि ईश्वर पोखरेलको नाम आउँछ ।

अकुत सम्पत्ति कमाएको आरोप ईश्वर पोखरेलको निधारमा ठप्पा बनेर बसेको छ । पानीटंकीमा उनले पैसा राखे–राखेनन् ? त्यो प्रमाणित छैन । तर, यो आरोपको उनले कहिल्यै खण्डन गर्न सकेनन् ।

ईश्वर पोखरेलले उपप्रधानमन्त्री लगायत धेरै ओटा मन्त्रालय चलाउने मौका पाएका छन् । तर, उनले एउटा पनि सकारात्मक काम गरेको जनताले थाहा पाएनन् । बरु भ्रष्टाचारको आरोप, सेटिङको आरोप र अनियमितताको आरोप चाहिँ हरेक पटक मन्त्री हुँदा खेपेका छन्, उनले ।

अध्यक्ष ओलीको ‘मुभ’ हेर्दा उनले महासचिव शंकर पोखरेललाई उत्तराधिकारी बनाउन चाहेको देखिन्छ । तर, ओलीका खास विश्वासी शंकर समेत ‘डाइनामिक’ लाग्दैनन् । भनिन्छ, देशब्यापी जनमत त टाढाको कुरा उनी आफ्नै गृहजिल्ला दाङमा समेत प्रिय छैनन् । तीन बर्ष मूख्यमन्त्री चलाएका उनले समय बर्बाद मात्रै गरेको विपक्षीको आरोप छ । एमालेका उपाध्यक्षहरु क्रमशः युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ र सुरेन्द्र पाण्डे सवैलाई एकातिर राख्दा समेत ओली नै भारी पर्छन् भन्यो भने त्यो सायद सर्वमान्य नै ठहर्छ ।

माओवादी केन्द्र (नारायणकाजी श्रेष्ठ)
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) भनेकै पुष्पकमल दाहाल ‘प्रचण्ड’ जसरी स्थापित छ । यस पार्टीका कुनैवेलाका नेताहरु बाबुराम भट्टराई, मोहन बैध (किरण), नेत्रबिक्रम चन्द (विप्लव), रामबहादुर थापा (बादल) आदिले छोडेर गएपछि नारायणकाजी श्रेष्ठ प्रचण्डपछिको नेता बनेका छन् ।

नारायणकाजीलाई जनआन्दोलन र जनयुद्ध नै नलडेको नेता भनेर पार्टीभित्र हियाइन्छ । केन्द्रीय, क्षेत्रीय, जातीय, बर्गिय वा कुनैपनि किसिमको जनाधार उनले स्थापित गर्न सकेका छैनन् । पार्टीभित्र पनि उनी सानो आकारको प्रतिपक्ष जस्तै छन् ।

एमसीसी पारित गर्ने/नगर्ने सवालमा नारायणकाजी नमज्जाले पार्टीभित्र एक्लिएका थिए । अध्यक्ष प्रचण्डले ‘नारायणकाजीले पार्टी छोडेर जानसक्छन्’ भनेपछि उनी बिलखबन्दमा परेका थिए । उनीपछिको नेतामा कृष्णबहादुर महरा पर्छन् । तर उनीपनि ‘डाइनामिक’ लाग्दैनन् ।

जनता समाजवादी ( रेणु यादव, गंगानारायण श्रेष्ठ, राजेन्द्र श्रेष्ठ)
उपेन्द्र यादव र बाबुराम भट्टराई समान हैसियतमा रहेको जनता समाजवादी पार्टीमा अशोक राई पनि प्रमुख तीन नेतामा गनिन्छन् । यी तीन नेताका ‘सेकेन्डम्यान’हरुलाई नियाल्ने हो भने उपेन्द्रको रेणु यादव, बाबुरामको गंगानारायण श्रेष्ठ र अशोकको राजेन्द्र श्रेष्ठ जस्तो देखिन्छ । उनीहरुले दिएको प्राथमिकता वा पार्टीगत वरीयताले पनि यही देखाउँछ । तीन मुल पछिका यी कुनैपनि नेता स्थापित छैनन् । जनाधारको हिसावमा पनि उनीहरु धेरै पछि छन् ।

एकिकृत समाजवादी (राजेन्द्र पाण्डे)
माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)मा नेपालपछिको नेता को हुन् ? उपाध्यक्षको हिसावमा भन्ने हो भने तीन नम्बर प्रदेशको मूख्यमन्त्री समेत रहेका राजेन्द्र पाण्डे हुन् । त्यसपछि महासचिव बेदुराम भुषालको पनि नाम लिन सकिन्छ । यी दुवै नेताहरु माधव नेपालको तुलनामा थोरैमात्र पनि स्थापित छैनन् ।

अन्य पार्टीको हालखबर
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा महन्थ ठाकुर र राजेन्द्र महतोपछिको नेता को हो ? यसको जवाफ कसैलाई थाहा छैन । यी दुई नेता रहुन्जेल दोस्रो तहको नेताको खोजी हुने संभावना देखिदैन । त्यसैगरी राप्रपा, राप्रपा नेपाल, जनमोर्चा, विवेकशील साझा पार्टी आदिमा पनि ‘फष्टम्यान’हरुकै पूर्णरुपमा हालिमुहाली छ । यी पार्टीका ‘सेकेन्डम्यान’को पार्टीभित्र अर्थ र महत्व कति छ ? यो आमरुपमा थाहा हुने कुरा भएन । तर, जनतामाझ ‘फष्टम्यान’हरुकै हालत खस्ता छ भने ‘सेकेन्डम्यान’हरुको अर्थ कति लाग्ला ?

नेताहरु बाम पुड्का हुने ४ कारण ?
१. प्रतिभावानलाई ‘प्रमोट’ गरिन्न
– लोकतान्त्रिक पार्टी भन्ने दावी गरेपनि कुनैपनि पार्टीको चरित्र त्यस अनुरुप छैन । त्यसैले प्रवल संभावना बोकेका पात्रलाई ‘सेकेन्ड म्यान’ बनाउने कुरामा उनीहरुमा भय भएको प्रष्ट देखिन्छ । जस्तो कांग्रेस सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा महामन्त्री तर्फ तत्कालीन प्रवक्ता विश्वप्रकाश शर्मालाई आफ्नो प्यानलमा अटाएनन् । अहिले फेरि उनले निर्वाचन परिचालनको कमाण्डरमा आम अपेक्षित महामन्त्री गगन थापालाई मौका दिएनन् ।

तर, शेरबहादुरलाई कुनैवेला पार्टी सभापतिहरु विश्वेश्वरप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईले पटक पटक धाप मारेको इतिहासमा पढ्न पाईन्छ ।

२. फरक मत राख्नेलाई रुचाइन्न
– एमाले अध्यक्ष केपी ओलीले भीम रावल जस्तो जनाधार भएको र घनश्याम भुषाल जस्तो बौद्धिकतामा स्थापित नेतालाई पार्टीमा चिहाउनसम्म दिएका छैनन् । किनभने यी दुई नेताले फरक मत राख्दै आएका छन् । पार्टी फुटाएर नेकपा एस बनाउनेहरु पनि फरकमत पक्षधर थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा पनि त्यही रोग छ । उनी फराकिलो हुनसकेका भए पक्कै पनि मोहन बैध किरण, बाबुराम भट्टराई र नेत्रबिक्रम चन्द विप्लवले पार्टी छोडेर जाँदैनथे ।

कार्लमाक्सले फरक मत पार्टीको सम्पत्ति हुनेछ भनेका छन् । बिडम्बना, तिनै कार्ल माक्र्सका भक्त भनिने कम्युनिष्टहरु फरक मतलाई निषेध गरेर चलेका छन् ।

३. निरन्तरताका नाममा नेताभएकाहरुको बाहुल्यता
– जेल परेको, लामो समयदेखि योगदान गरेको, त्यागी आदि नाममा हरेक नेताको बढुवा हुँदै आएको छ । एक पटक राजनीतिमा छिरेपछि ‘पेन्सन’ पकाउनेभन्दा पनि जीवन सकाउने सोच हावी छ, हरेक नेतामा । राजनीति राष्ट्रसेवा नभएर जागिरको रुपमा स्थापित भइसकेको छ । माथि उल्लेख गरेका मूख्य पार्टीका ‘सेकेन्ड म्यान’ र अन्य नामहरु सवै नै निरन्तरताले नेता भएका हुन् ।

४. खुला वा प्रतिस्पर्धाबाट नेता बनाउने चलन छैन
– पार्टीको केन्द्रीय सदस्य हुनकालागि हरेकजसो पार्टीमा १०–१५ बर्षको योगदान आवश्यक देखिन्छ । अहिले आएर ‘डन’, ब्यापारी, पैसावाला लगायतलाई भने टिपेर केन्द्रमा राख्ने गरेको देखिन्छ । पैसामा समानुपातिक सांसद बिक्रि गर्नेमा त सवै दलको प्रतिस्पर्धा नै चल्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *