राजेश हमाल कसरी बने अतुलनीय ? (भिडियो सहित)

‘काठमाडौं सहरको मेयर बन्नु पर्छ कि क्या हो ?’ राजेश हमालले सुरु गरेको पहिलो भ्लगको हाइलाइट सम्बाद हो यो । आउँदो बैशाख ३० मा हुने स्थानीय चुनावले देश नै तात्न थालेकावेला ट्रेन्डिङ विषय माथि राजेशको यो भनाई कति ठट्टा हो र कति गम्भिर ? यो भिन्न समीक्षाको विषय हो । तर, उनको यस भनाईले सहरमा चर्चा भने मज्जाले नै पायो ।

राजेशले भ्लगमाभन्दा अघि नै यस विषयमा मजाक शैलीमा बोलेका थिए । जे होस् उनले मजाक शैलीमा बोलेको कुराले पनि राम्रै चर्चा पायो । राजनीतिक विषयमा ठट्टागर्दा पनि यो हदसम्मको महत्व पाउने अभिनेता सायद राजेश हमाल मात्रै हुन् ।

यी ६ कुराले
राजेश हमाल अतुलनीय

नेपाली चलचित्रमा अभिनय गरेर सवैभन्दा लोकप्रिय हुन कोही सफल भएको छ भने त्यो निशन्देह राजेश हमाल नै हुन् । उनलाई सवै उमेर समूह, गाऊँ वा शहर, पढेलेखेका वा अनपढ्ले समेत चिन्दछन् । चलचित्र क्षेत्रवाट उठेर सवैभन्दा ठूलो ‘ब्राण्ड’ बन्न उनी सफल छन् ।

राजेश हमाल चलचित्रक्षेत्रको अतुलनीय अभिनेता हुन् भन्दा अतिउत्ति नहोला । आखिरमा महानायक, सुपरस्टार आदि नामले पुकारिने राजेश हमाल किन र कसरी ‘ह्यावीवेट’ नायकको रुपमा स्थापित भए त ? भन्ने प्रश्नको बुँदागत जवाफ हो, यो रिपोर्ट ।

नं १
‘पर्फेक्ट म्यान’
४२ इन्चको चौडा छाती र ६ फिट अग्लो हैन्डसम मानिस त्यो पनि अंग्रेजीमा मास्टर्श गरेको । वास्तवमा नै नेपाली चलचित्रले उपहार पाएको थियो, राजेश हमाल सन् १९८८ मा निर्मित चलचित्र युगदेखि युगसम्म मार्फत । यसका बाबजुद उनीसँग बौद्धिकता र सालिनता जस्ता गुण पनि मिसिएका थिए । हरेक विषयबस्तुमा सहजै प्रवेश गरेर गहिरो जवाफ दिन सक्ने नायक पनि हुन् उनी । अर्थात यी सवै गुणहरुले राजेश हमाललाई ‘पर्फेक्ट म्यान’ बनाएको हो ।

नं २
बामे सर्ने चलचित्र उद्योगलाई हिडाए
राजेश हमालले अभिनय गरेको पहिलो चलचित्र युगदेखि युगसम्म प्रदर्शनमा आउनु अघिसम्म नेपाली चलचित्र बामे सर्ने अवस्थामा थियो । एउटा नेपाली चलचित्र रिलिज हुन धेरै समय कुर्नु पर्थो । तर, उनको इन्ट्री भएपछि यो क्षेत्र हिड्न थाल्यो । कतिपयले त राजेशले यस क्षेत्रलाई म्याराथुन दौडमा निकाले पनि भन्छन् । यस्तो समय आयो, राजेश एक्लैले बर्षमा १४ वटा सम्म फिल्ममा अभिनय गरे । उनका समकालीन केही नायकहरुले पनि धेरै फिल्ममा अभिनय गर्ने मौका पाए । चलचित्र क्षेत्र उद्योगमा रुपान्तरण हुँदै गयो । यस्तो माहोल सृजना गर्ने कार्यको मूख्य जस उनै राजेश हमाललाई जान्छ ।

नं ३
अन्यायको विरुद्धमा सधैं कराए
दुई सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका राजेश हमालका अधिकांश फिल्मले न्याय–अन्यायको पक्षमा वकालत गरेका छन् र, राजेश सधैं न्यायका पक्षमा उभिएका छन् । उनका फिल्मले दर्शकलाई ब्यूझाएका छन् । खलपात्रलाई सवक सिकाएका छन् । जसले निशन्देह समाजमा सकारात्मक संदेश प्रवाह गर्यो नै ।

नं ४
सफल फिल्म पनि दिए
राजेश हमालका सफल फिल्म कुन कुन हुन् । धेरैले लिने नाम हुन्, देउता र बसन्ती । आरोप लगाउनेहरु त उनले यी दुई वाहेकका फिल्मको नाम भन्न सक्दैनन् पनि भन्छन् । तर, यथार्थ त्यस्तो होइन । उनले युगदेखि युगसम्मपछि प्रकाश थापा निर्देशित फिल्म अधिकारमा अभिनय गरे । अधिकारले नेपाली समाजको एउटा गुपचुप पाटोलाई उदिनेको छ । उनले अभिनय गरेको अर्को फिल्म हो, देउकी । पश्चिम नेपालमा रहेको देउकी प्रथालाई यस फिल्मले छर्लङ पारेको छ भने प्रकाश सायमी निर्देशित फिल्म पृथ्वी पनि उनको सफल फिल्म हो । उनले राजनीतिक विषयबस्तुमा बनेको फिल्म परिभाषामा पनि अभिनय गरेका छन् । देउता र शंकर उनलाई ब्राण्ड बनाउने फिल्म हुन् भने बसन्ती ऐतिहासिक कथामा बनेको छ । ब्यवसायिक रुपमा सफल फिल्मको त उनको लम्बेतान पंक्ति नै छ ।

नं ५
स्क्यान्डलभन्दा सधैं टाढा बसे
राजेश हमाल करिअरको सुरुआतताका नग्न तस्बिर सार्वजनिक भएपछि विवादमा तानिए । तर, औषधि उपचारकालागि खिचिएको भन्ने उनको तर्कलाई सवैले मानिदिएपछि उनी अर्को कुनै विवाद वा स्क्यान्डलमा परेनन् । आम नायक–नायिका जस्तो लभ अफेयरहरुबाट पनि उनी टाढा रहे । विवाहकोलागि समाजले तोकेको उमेर घर्केपछि उनले जोसित प्रेम गरे, उसैसँग बिहे पनि गरे ।

नं ६
टेलिभिजन कार्यक्रममा समेत सफल भए
राजेश हमाल फिल्म क्षेत्रमा मात्र होइन, टेलिभिजनमा पनि सफल छन् । विद्यार्थिहरुलाई ज्ञानगुनका कुरामा प्रतिस्पर्धा गराउने हाजिरी जवाफका कार्यक्रमदेखि को बन्छ करोडपति जस्तो फ्रेन्चआइजी कार्यक्रमहरु पनि उनले सञ्चालन गरेर सफल भए । उनको लोकप्रियताको एउटा नमुना यो पनि हो ।

निश्कर्ष
राजेश हमालमाथि लाग्ने आरोपहरुलाई उनका धेरै गुण र विशेषताहरुले छोपिदिएका छन् । जतिसुकै आरोपहरु भएपनि उनी नेपाली चलचित्र बृत्तमा सबैभन्दा पढेलेखेको, बौद्धिक, अध्ययनशील र सालिन अभिनेता नै हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *