टिप्पणी ।
भ्रम नहोस् वामपन्थी सिंगल एमाले हो ।
२०७८।१२।२९ ललितपुर । पार्टी प्रवेश कार्यक्रममा ।
५ वटा बाख्रा एकै ठाऊँ भएपनि भैंसी जत्रो हुँदैनन् ।
२०७८।१२।२८, बझाङ । चुनावी सभामा ।
पाँच दलीय गठबन्धन कुहेको छ ।
२०७८।१२।२३, भक्तपुर । विद्यालय उद्घाटन कार्यक्रममा ।
पाँच दलीय गठबन्धन अदालतले ल्याएर जोडजाम गरिदिएको पुतली हो । टालाटुली बाटुली कति राम्री पुतली भने जस्तै हो ।
२०७८।१२।२१, काठमाडौं । प्रगतिशील इन्जिनियर्स एशोसिएसन नेपालको महाधिवेशनमा ।
‘एमालेले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्छ ।’
२०७८।१२।०१, काठमाडौं । अनेमसंघको तेस्रो बैठकमा ।
२०७८ चैतभरीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका भाषणको प्रतिनिधि हरफ हुन् यी । यस महिना उनले दैनिक एकभन्दा बढी कार्यक्रमलाई सम्बोधन गरे । जुनसुकै कार्यक्रमलाई सम्बोधन गरेपनि आउदो बैशाख ३० मा हुने स्थानीय चुनावमा एमालेसँग कसैले प्रतिस्पर्धा गर्न नसक्ने भनाई उनले राखे । खासगरी ५ दलीय सरकारी गठबन्धनलाई तारो बनाउँदै उनले एमाले एक्लै चुनाव लड्ने रटान समेत लगाईरहेका छन् ।
‘एमाले हात्ती हो, दुब्लाएर बाख्रो हुँदैन’
२०७४।०५।१८ काठमाडौं, कार्यकर्ता भेलामा ।
अघिल्लो चुनावमा केपी ओलीले यसरी भनाई राखिरहँदा त्यो विश्वसनीय नै मानिन्थ्यो । उनको राष्ट्रबादी छवी भीमकाय थियो । त्यतिहुँदा पनि २०७४ को स्थानी तहको चुनावमा एमालेले ४० प्रतिसत जितेन । ७ सय ५३ मध्ये २ सय ९४ मा चित्त बुझाउनु परेको थियो । अहिले त्यस्तो के थपिएको छ र ओलीमा यतिधेरै ‘कन्फिडेन्स्’ आएको हो ? आम नेपालीका मनमा यो प्रश्न खोलिरहेको हुनुपर्छ । आखिर किन एमाले अध्यक्ष केपी ओलीमा भरियो, ‘ओभरकन्फिडेन्स्’ ?
१. स्वभाव नै ‘अति महत्वकांक्षी’
– एमालेले चाहेमा सात दिनमा यो सरकारको जरो उखेलेर फालिदिन्छ । २८ चैतको चुनावी सभालाई बझाङमा सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीले यस्तो बताएका थिए । कतैकतै त एमालेले चाहेमा ‘दुई दिनमा नै’ सरकार ढालिदिने भन्न पनि उनले भ्याएका छन् ।
‘एमाले फेरि दुई तिहाई बहुमतका साथ सरकारमा जान्छ ।’ पार्टी फुटेपछि ओलीले यस्तो जिकिर गर्दै आएका छन् । स्मरण रहोस् अघिल्लो चुनावमा ओली ‘हाइहाई’ भएर चुनाव लड्दा समेत एमालेले बुहमत ल्याउन सकेको थिएन ।
एमाले अध्यक्ष केपी ओली जे बोल्छन्, आत्मविश्वासका साथ बोल्छन् । उनी सय प्रतिसत झुठ पनि यसैगरी बोल्न सक्छन् । लामो समयसँगै जेल बसेका ओलीका मित्र राधाकृष्ण मैनालीका अनुसार ओली जेलमा हुँदा देखिनै यस्तै थिए । ‘कल्पनालाई सत्य भनेर बसिरहन्थे’– ओलीमाथि मैनालीले लेखेको पुस्तकको सार यही नै हो ।
२. गोयबल्स् शैली
– केही समय यता एमाले अध्यक्ष केपी ओली जुनसुकै कार्यक्रममा गएर ‘गठबन्धन एकातिर एमाले एकातिर भएपनि भारी एमाले नै हुन्छ’ भन्छन् । यही कुरालाई उनी विभिन्न उखान–टुक्का वा उदाहरण मार्फत बोल्छन् । पाँच बाख्रा एकै ठाऊँ भएपनि भैसी बराबर हुँदैनन् भनेको पनि त्यही नै हो ।
जुनसुकै बिषयका कार्यक्रममा गएपनि उनी गठबन्धन, वर्तमान सरकार, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई तारो बनाउँछन् । बुद्धिजीवीका कार्यक्रममा गएर पनि ‘छुद्र’ शैलीमा त्यही कुरा दोहोर्याउँछन् । यस्तोलाग्छ, उनी गोयबल्स्को शैलीलाई आत्मसाथ गरिरहेका छन् ।
‘कुनैपनि कुरालाई सयौं चोटी दोहोर्याएर भनियो भने झुठ नै पनि सत्य ठहर्छ ।’ हिटलरका सञ्चारमन्त्री जोसेफ गोयबल्स्को यही ‘फर्मुला’ ओलीले जानेर–नजानेर पछ्याईरहे जस्तो लाग्छ ।
३. कार्यकर्तामा उत्साह छर्न
– ‘प्रचण्ड र माधव नेपाल पत्रु हुन् ।’ ओलीले दुई नेतालाई पत्रुसँग तुलना गरेर लामै भाषण हालेका छन् त्यो पनि पटक पटक । ‘तीन सीट पनि जित्दैन माओवादीले’ । यतिमात्र होइन उनले माओवादी अव यस चुनावपछि नरहने पनि जिकिर गरिसकेका छन् । ‘अव माओवादी केन्द्र रहँदैन, केन्द्र मात्र बाँकी हुन्छ ।’ प्रश्नचाहिँ के हो भने हैसियत नै नभएका भनेर पुष्टि गरेकाहरुको कुरा काटेर किन समय बर्बाद गरिरहेका छन् ओली ?
स्थानीय तहमा ६० देखि ७० प्रतिसतसम्म जितिन्छ, सरकार कुहिसकेको छ, एमालेले आउँदो चुनावमा दुई तिहाई ल्याउँछ लगायतका ओली जिकिर कार्यकर्तामा उत्साह छर्न बाहेकको अर्थ लाग्दैन ।
४. गठबन्धनसँग डर
– स्थानीय निर्वाचन आउन लागेपछि सबै घोषणापत्र लिएर आउने भन्दै केपी ओलीले अरुको घोषणापत्र हावाको हुने बताएका छन् । ‘मेरो टेम्पो उड्यो भने म तपाईलाई जापान उडाइदिन्छु भन्ने प्रकारको अरुको घोषणापत्र हुन्छ,’ उनले भनेका छन्, ‘जबकि न ट्याम्पो उड्छ न त जापान नै जान पाइन्छ ।’
अरुको घोषणापत्र हावादारी र एमालेको मात्र सही । ओलीको यो भनाई उनकै कार्यकर्तालाई पनि पत्याउन गाहे पर्ला । किनभने अघिल्लो निर्वाचनमा एमालेले घोषणापत्रमा उल्लेख गरेका अधिकांश योजना सुरु नै भएका छैनन् भने धेरैजसो अलपत्र छन् । काठमाडौंका जनताले खोई रेल भनेर प्रश्न गरेभने जवाफ के हुन्छ ?
गठबन्धन केही होइन, यो कुहीसकेको छ, एमाले हात्ती हो लगायतका पछिल्ला ओली भनाई सुन्दा उनी आत्मविश्वासी लाग्छन् । तर, अर्कोतिर उनी राप्रपा महामन्त्री धवलशम्शेर राणासँग चुनावी योजना बनाउँछन् । कमल थापाको पार्टीलाई सूर्य चिन्ह लिएर चुनाव लडाउन मरिहत्ते गर्छन् । परिवार दललाई समेत छोड्दैनन् । विप्लव समूहलाई समेत एमालेले गठबन्धन गरेर चुनाव लड्ने प्रस्ताव गरेको ‘ओपन सेक्रेट’ जस्तै छ । त्यसकारण ओलीका आत्मविश्वासी लाग्ने तर्क र हठ डरका प्रतिक हुन् भनेर बुझियो भने सत्य हनेछ ।
५. पार्टी फुटेको र एजेन्डा विहीन हुँदाको ‘रियाक्सन्’
– २०७४ सालको स्थानीय निर्वाचनमा कुल ७ सय ५३ स्थानीय तह मध्ये
नेकपा एमालेले– २९४ अर्थात ३८.५ प्रतिशत जितेको थियो । त्यसवेला एमालेले लगाएको समृद्धिको नारा तुलनात्मकरुपमा विश्वसनीय लाग्थ्यो । अघिल्लो चुनावमा एमालेले लगाएको राष्ट्रबादी नारा पनि राम्रैसँग बिक्रि भएको थियो ।
तर, पाँच बर्षपछिको चुनावमा एमालेको समृद्धि र राष्ट्रबादी नारा फिका मात्रै होइन पखालिई सकेकाछन् । त्यसैगरी एमाले पार्टी फुटेको छ । र, एमालेकै भनाईमा दश प्रतिसतमात्रै नोक्सान् भएको छ । यसै हिसावले हेर्दापनि दश प्रतिसतको नोक्सानीमा ५० प्रतिसत कम जीत हात लाग्न सक्छ, एमालेलाई ।
अन्त्यमा
‘माधव नेपाल गएपछि अव एमालेको हार्ने दिन सकिए । जति हारियो हारियो ।’ यो भाषण गरेर दर्शकको ताली खाएको पनि यही महिना हो, ओलीले ।
तर, माधव नेपालले पार्टी छोडेर गएपछि नै होइन सरकार ढलेको ? चार प्रदेशका मूख्यमन्त्री त्यसपछि नै होइनन् खुस्किएको ? अनि माधव नेपाल गएपछि नै होइन राष्ट्रिय सभाको चुनावमा बल्लबल्ल बिउ जोगिएको ? यस्तो घामजत्तिकै छर्लङ् तथ्यमा पनि सुन्नेलाई मन्त्रमुग्घ पारेर बिर्को लगाईदिन सक्ने जो कला छ, ओलीमा । सायद ‘ओभरकन्फिडेन्स्’ भनेको यही नै हो ।
त्यसकारण पार्टी फुटेको र एजेन्डा विहीन भएकाबेला कार्यकर्ताको अलिअलि मनोबल उच्चो बनाउन बोल्दा सुन्नेले पचाईदिन सक्छन् । तर दिउसै राता पार्ने कुरा बोलिरहँदा के इतिहासले माफी देला ?