कैलालीको अमरावती सामुदायिक जंगलमा विभत्स ढंगले हत्या गरेको अवस्थामा ३ पुस ०७८ मा एउटा लाश फेला पर्यो । प्रहरी अनुसन्धानबाट खुल्यो, उक्त लाश अर्जुन दासको हो । दासलाई जंगलमा लगेर रुखमा बाँधेर खसी काटे झैं टाउको गिडेर निसंस हत्या गरिएको थियो । तर, हत्यारा पक्राउ पर्न सकेका थिएनन् ।
महानगरीय प्रहरी अपराध महाशाखाले लामो अनुसन्धानपछि हत्याराहरु पक्राउ गरेको छ । सुमित साउद–१९, बमे भनिने बमबहादुर बोहोरा–१९, रोनी परियार भनिने दिलिप दास–१९, र मनोज भण्डारी–१९ पक्राउ परेका छन् । उनीहरु सबै कैलालीको जानकी गाउँपालिका–९ का हुन ।
अभियुक्तहरुलाई महानगरीय अपराध महाशाखाले भर्खरै सार्वजनिक गरेको छ । अपराध महाशाखाका प्रवक्ता एसपी (प्रहरी उपरीक्षक) कृष्णप्रसाद कोइरालाका अनुसार ३ पुस ०७८ को साँझ हत्या गरिएका दाससहित उसका साथीहरु लागू औषध सेवन गर्न जंगलमा भेला भएका थिए ।

त्यस क्रममा कमल दास नामका युवाको २५ हजार बराबरको लागू औषध र मोवाइल हत्या गरिएका दासले चोरेको आरोपमा कुटपिट गरी हातखुट्टा बाँधेर लडाएका थिए । मृतक दासलाई २–३ घण्टा बाँधेर लडाएपछि मार्ने योजना बनाई शुशिल मलयाको घरबाट खुकुरी लगी घाँटी छिनाएर विभत्स हत्या गरेका थिए ।
हत्यापछि हत्यारा समूह लागू औषध सेवन गरी रातभर घटनास्थलमा नै बसेको थियो । उज्यालो भएपछि हत्यारा समूहका मनोज भण्डारी, बादल बि.क., दिलिप दास, बमे बोहोरा, सुमित साउद र विवेक सिंह भारतको दिल्ली हिडेका थिए भने कनकलाल बि.क. करन दर्नाल, शुशिल मलयाहरु कैलालीका विभिन्न स्थानमा लुकेर बसेका थिए ।

हत्याराहरु पक्राउ गर्न निरन्तर अनुसन्धानमा रहेको प्रहरीले सुमित साउद, बमबहादुर बोहोरा, दिलिप दास र मनोज भण्डारी भैरहवास्थित नेपाल–भारत सीमा लुकीरहेको पत्ता लगाएपछि हिजो १ बैशाख मा पक्राउ गरेको थियो ।