नेपाली सेनाका सहायक रथी (अ.प्रा.) संजय सिंह भण्डारीले केही समय अघि पूर्वप्रधान सेनापति पूर्णचन्द्र थापालाई सोल्टी होटलमा अपमानजनक व्यवहार गरे । मानार्थ उपरथी रमिन्द्र क्षेत्रीको ४० औं वैवाहिक समारोहमा उपस्थित भएका पूर्वप्रधान सेनापति थापालाई भण्डारीले अपशब्द प्रयोग गरी अपमान गरेका थिए । क्षेत्रीले सोल्टी होटलमा ४० औं वैवाहिक समारोह आयोजना गरेका थिए । त्यही समारोहमा आफूलाई उपरथीमा बढुवा हुन नदिएको भन्दै भण्डारीले पूर्व महारथी थापालाई अश्लिल शब्दबाट अपमान गरेका हुन् ।
थापा प्रधान सेनापति हुँदा भण्डारी सहायक रथी थिए । जानकारका अनुसार शैक्षिक प्रमाण पत्र र उमेर विवादले उपरथीमा बढुवा हुन नसक्ने बुझेपछि उनले सहायक रथीबाट राजीनामा दिएका थिए । तर, अहिले भने प्रधान सेनापति थापाकै कारण आफ्नो बढुवा हुन नसकेको भन्दै भण्डारीले उनलाई अपमान गरेका छन् ।
स्रोतका अनुसार भण्डारीको शैक्षिक प्रमाणपत्र अनलाइन स्नातकको छ । त्यो प्रमाणपत्र खुला विश्वविद्यालयको पनि होइन । पुतलीसडकको कन्सल्टेन्सीबाट बनाइएको हो । भण्डारीको जन्म मिति एउटा नागरिकतामा २०२३–०३–१५ छ । तर, अर्को नागरिकता, एसएससी, प्रमाणपत्र तहको लब्धाकं पत्रमा फरक–फरक छ । आर्थिक रुपमा पनि भण्डारीको व्यवहार शंकास्पद थियो । उनी बर्दीमै १० तोला भन्दा बढी सुनको सिक्री, बाला पहिरिएर कार्यालय आउँथे । उनी विरुद्ध चारित्रिक बिचलनका उजुरी पनि परेका थिए । शरदसिंह भण्डारीको भाई हुँ भन्दै उनले कार्यालयमा समेत निकै चुरीफुरी देखाउने गर्दथे ।

‘स्नातकको प्रमाणपत्र नक्कली, नागरिकता, एसएलसी, प्रमाणपत्र तहको लब्धाकं पत्रमा जन्म मिति मेल नखाएपछि कारवाहीमा परिने डरले थापा प्रधान सेनापति भएका बेला भण्डारी आफैंले सहायक रथीबाट राजीनामा दिएका थिए’, उच्च सैनिक स्रोत भन्छ, ‘उनले पेशागत दक्षताको कमी, प्रमाण पत्र, जन्म मिति विवाद र कमजोर आर्थिक अनुशासनका कारण राजीनामा दिएका हुन् । दुश्चरित्रका ति जर्नेलले अहिले सत्चरित्रका पूर्वप्रधान सेनापति थापालाई पो अपमान गरेछन् ।’
सैनिक स्रोतका अनुसार सशस्त्र द्धन्द्धकालमा भण्डारी रोल्पाका गणपति थिए । तर, उनले गणपतिको जिम्मेवारी बहन गर्न नसकेपछि त्यहाँबाट हटाइएको थियो । पछि भण्डारी ‘सोर्सफोर्स’ लगाएर इटहरीको गणपति भए । भण्डारी इटहहीको गणपति भएका बेला तत्कालीन माओवादीहरुले मोरङको जाँतेमा गस्तीमा रहेको सेनाका आधुनिक हतियार कब्जा गरेका थिए । गस्तीको कमाण्ड भण्डारी स्वयंले गरेका थिए । माओवादीहरुले जाँतेबाट ८१ एमएम मोटार समेत कब्जा गरेका थिए ।
अवकास प्राप्त एक जना सहायक रथी भण्डारीले मिलेमतोमै ति आधुनिक हतियार ‘लुटाएको’ दाबी गर्छन । सशस्त्र द्धन्द्धकालमा शाही नेपाली सेनाको संभाररथी प्रमुखको नेतृत्व सम्हालेका उपरथी कुमार फुदुङलाई शान्ति प्रकृयामा आए लगत्तै माओवादीले सांसद बनाएको थियो । ‘त्यो दृष्टान्तले सशस्त्र द्धन्द्धकालदेखि नै माओवादी र तत्कालीन शाही नेपाली सेनाका केही उच्च अधिकृतहरुको साँठगाँठ रहेछ भन्ने देखाउँछ’, ति सहायक रथी भन्छन्, ‘त्यसैले जाँतेमा हतियार लुटिनुमा मिलोमतो नहोला भन्न सकिने ठाउँ छैन ।’
माओवादीले मोरङको जाँतेमा सेनाका आधुनिक हतियार कब्जामा लिएपछि गणपति भण्डारी कारवाहीमा पर्न लागेका थिए । त्यसबेला रमिन्द्र क्षेत्री तत्कालीन प्रधान सेनापतिका प्रिय पात्र एवं सैनिक जनसम्पर्क निर्देशनालयका प्रमुख र सैनिक प्रवक्ता थिए । उनै क्षेत्रीलाई प्रभावमा पारेर त्यसबेला भण्डारी कारवाहीबाट जोगिएका स्रोतको भनाइ छ ।
भदौ ०६० मा युद्ध विराम भङ्ग गरेकै दिन माओवादी छापामारहरुले क्षेत्रीलाई गोगंबुस्थित घरमै गोली हानेका थिए । उनी संयोगले मात्र बाँचेका थिए । माओवादी गोलीले घायल क्षत्रीको त्यस यता कम्मरमुनीको भाग चल्दैन । उनी सेनाले उपलब्ध गराएको ह्वील चियरमा हिड्डुल गर्छन । जानकारका भनाइमा भण्डारी क्षत्रीको ह्वील चियर धकेल्ने असल सेवक हुन् । त्यही ह्वील चियर धकेलेकै कारण क्षत्रीको सदाशयता र सिफारिमा भण्डारी एनडिसी (नेशनल डिफेन्स कोर्स) गर्न चीन जान र सहायक रथी हुन बन्न सफल भएका एक जना रथी (अ.प्रा.) नेपालमुहारलाई बताउँछन् ।

ति रथीको दाबी केसम्म छ भने क्षत्री परिवारले जानीबुझी योजनावद्ध रुपमा सोल्टी होटलमा निम्त्याएर पूर्व सहायक रथी भण्डारी लगाएर पूर्वप्रधान सेनापति थापालाई अपमान गरेका हुन् । स्मरणीय छ, क्षत्रीका भाई राजेन्द्र क्षत्री प्रधान सेनापति हुँदा जङ्गी अड्डामा अर्बौ अनियमितता गरेका थिए । क्षत्रीपछि प्रधान सेनापति भएका पूर्णचन्द्र थापाले सेनाभित्रको भ्रष्टाचार रोकेका त थिए नै, भ्रष्टाचारमा संलग्न थुप्रै सैनिक उच्च अधिकारीहरुलाई कारवाही गरेका थिए । थापाले सेनाभित्र आर्थिक अनुशासन कायम राख्न पारिवारिक सदस्यको समेत कुरा सुनेका थिएनन् । क्षत्री र थापा अलि टाढाकै सही, नातेदार समेत हुन् । क्षत्रीको पुख्र्यौली थलो तनहुँ र थापाको लमजुङ हो ।
यति मात्र होइन, पूर्वप्रधान सेनापति थापाले आफ्नो कार्यकालमा विवादित र अनियमित काम गरेको भन्दै अहिले केही अनलाइन र साप्ताहिक पत्रपत्रिकामा समाचार प्रकाशन गर्न थालिएको छ । पूर्वप्रधान सेनापति राजेन्द्र क्षत्री, उनका दाजु मानार्थ उपरथी रमिन्द्र क्षेत्री, वहालवाला सहायक रथी षन्तोषवल्लभ पौडेललगायतको मिलेमतोमा पूर्व महारथी थापा विरुद्ध अर्नगल प्रचार गरिएको स्रोतको दाबी छ । थापा प्रधान सेनापति हुँदा पौडेल सैनिक जनसम्पर्क निर्देनालयको प्रमुख र सैनिक प्रवक्ता थिए । प्रभुराम शर्मा प्रधान सेनापति भएपछि पौडेल शान्ति सेना निर्देशनालयको प्रमुख छन् । गुल्मपति हुँदा व्यारेकबाट पेस्तोल हराएपछि कोर्ट मार्सल भोगेका सहायक रथी हुन्, पौडेल ।
‘पूर्वप्रधान सेनापति राजेन्द्र र उनका दाजु मानार्थ उपरथी रमिन्द्र क्षत्री पूर्णचन्द्र थापालाई पनि भ्रष्टाचारीको ट्याग लगाउन पाए आफू मात्र होइन, सबै प्रधान सेनापति भ्रष्ट थिए/छन् भन्ने देखाउन चाहन्छन् । त्यसैले क्षत्री दाजुभाईले नै पूर्णचन्द्र थापा समेत अनियमिततामा संलग्न छन् भनेर लेखाएका हुन्’, अर्का एक सहायक रथीको भनाइ छ, ‘यदि त्यसो हो भने पूर्वप्रधान सेनापति, वहालवाला प्रधान सेनापति र एक दुई वर्ष यता निवृत भएका जर्नेलहरु र वहालवाला जर्नेलहरुको सम्पति छानविन गर्ने/गराउने आँट गरुन । यथार्थ के हो ? प्रष्ट हुन्छ ।’
प्रधान सेनापति प्रभुराम शर्मा रमिते !
आफूलाई प्रधान सेनापतिको उत्तराधिकारीको दर्ज्यानी चिन्ह लगाई दिने पूर्वप्रधान सेनापति थापालाई पूर्व सहायक रथीले गरेको अपमानमा प्रभुराम शर्मा रमिते बनेका उच्च सैनिक स्रोतको भनाइ छ । बहालवाल होस् वा भूपु, कुनै पनि उच्च सैनिक अधिकारीलाई अर्को सैनिक अधिकारीले अपमान गर्यो, सैनिक संगठनको साख गिराउने काम गर्यो भने प्रधान सेनापतिले उसलाई नसियत दिन त सक्छन नै, निवृत भएपछि उसले पाइरहेको सेवा/सुविधा समेत कटौटी गरि दिन सक्छन । पूर्व उपरथी राजेन्द्र थापा र सहायकरथी प्रेमसिंह बस्न्यात (विद्यावारिधि) ले सैनिक अनुशासन विपरीत काम गरेको भनेर एक पटक उनीहरुलाई दिएको अर्दली समेत खोसिएको थियो । भलै, उनीहरुले पछि फिर्ता पाए ।
तर, पूर्व महारथी थापालाई भण्डारीले गरेको अपमानमा प्रधान सेनापति शर्मा मौन छन् । स्रोतका अनुसार थापाले ‘तीन वर्षे कार्यकाल थप्न लागेका थिए । भारतमा विपिन रावत जस्तै चिफ अफ डिफेन्स हुन लागेका थिए एवं फिल्ड मार्शल हुन खोजेका थिए । उनले तपाईलाई प्रधान सेनापतिको कुर्सी हस्तान्तरण गर्न चाहेका थिएनन्’ भनेर शर्मालाई उपरथीत्रय सुरेश कार्की, सीताराम खड्का र निर्मल थापाले बनावटी कथा वस्तु सुनाइ दिएका छन् ।
कार्की सेनाभित्र अनुशासन कायम राख्ने कार्यरथी, खड्का तालिम महानिर्देशक र थापा युद्धकार्य महानिर्देशकको जिम्मेवारीमा छन् । आफ्नै विश्लेषण क्षमता कम भएका शर्माले उपरथीत्रय कार्की, खड्का र थापाले लगाएको उक्त बनावटी कथा पत्याएका छन् । जानकारका भनाइमा बनावटी कुरा सुनेकाले शर्मा पछिल्ला दिनमा पूर्व प्रधान सेनापति थापालाई विल्कुलै रुचाउँदैनन् । त्यसैले थापाले आफ्नो कार्यकालमा अघि सारेका नीति तथा योजनाहरु शर्माले धमाधम उल्ट्याइरहेका छन भने केहीलाई थाती राखेका छन् ।
काल्पनिक कथा वस्तु पत्याएकैले आफैं दागी पूर्वसहायक रथी भण्डारीले पूर्वमहारथीलाई अपमान गर्दा समेत प्रधान सेनापति शर्मा मौन बसेका सैन्य स्रोतको भनाइ छ । ‘पूर्वप्रधान सेनापति थापालाई भुक्ने\टोक्ने यस्ता कुकुरले भोलि स्वयं शर्मालाइै पनि टोक्लान्’, उच्च सैनिक स्रोत भन्छ, ‘त्यसबेला शर्मा के ठान्दा हुन् ? अहिले थापामाथि अपमान हुँदा मौन बस्नुको पश्चाताप उनले त्यही बेला भोग्लान् ।’