यी १२ नेताका तन्नेरी सन्तान, जो राजनीतिमा छिरे (भिडियो सहित)

आज हामी राजनीतिमा नेताका तन्नेरी छोराछोरीको वारेमा रिपोर्ट प्रस्तुत गर्दैछौं । कुन–कुन नेताका छोराछोरीले हामफालेका छन् त राजनीतिमा ? सवैभन्दा पहिला कुरा गरौं, यही बैशाख ३० मा हुन गइरहेको स्थानीय निर्वाचनमा मेयरमा दावेदारी प्रस्तुत गरेका नेताका सन्तानहरुबाट–

१. पोष्टबहादुर बोगटीकी छोरी प्रभा बोगटी
२८ चैतमा माओवादी केन्द्रले विदुर नगरपालिकाको मेयरमा प्रभा बोगटीलाई उठाउने निर्णय गर्यो । आगामी ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा उम्मेदवार छनौटमा दलहरु सक्रिय हुँदैगर्दा प्रभा विदुरको मेयरमा छनौट भइन् । माओवादी विदुर नगर समितिकी अध्यक्ष समेत हुन् प्रभा ।

प्रभा बोगटीको राजनीतिमा अर्को पनि नाता छ । उनी माओवादी नेता स्व. पोष्टबहादुर बोगटीकी छोरी हुन् । उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को छोराबुहारी समेत हुन् । प्रचण्ड पुत्र प्रकाशकी जेठी श्रीमती हुन् प्रभा ।

२०७४ को चुनावमा विदुर नगरपालिकाको मेयरमा एमाले उम्मेदवारले चुनाव जितेका थिए । नेपाली कांग्रेस दोस्रो र माओवादीले तेस्रो स्थानमा चित्त बुझाउनु परेको थियो । त्यसकारण विदुरमा सत्तागठबन्धनले उम्मेदवारी दिएको खण्डमा कांग्रेसले मेयरमा दावी गर्ने निश्चित छ । भनिन्छ, – ‘यस्तो भएको खण्डमा प्रभाले उपमेयरमा चित्त बुझाउनु पर्ने हुन्छ ।’

२. गोविन्दराज जोशीका छोरा दीपकराज जोशी
नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशीका छोरा दीपकराज जोशीले तनहुँको व्यास नगरपालिका प्रमुखमा उम्मेदवारी दिने भएका छन् ।

कांग्रेसबाट आधिकारिक उम्मेदवार बन्न नसकेपछि उनी स्वतन्त्र उम्मेदवार बन्ने भएका हुन् । उनले एमालेसँग मिलेर स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरिसकेका छन् । अर्थात ब्यासमा एमालेले दीपकराजलाई सहयोग गर्ने छ भने तनहुका अन्य नगर र गाऊँपालिकामा गोविन्दराज जोशी समुहले एमालेलाई सहयोग गर्ने छ ।

सन् १९९७ मा अध्ययनका लागि अमेरिका गएका उनी १७ वर्ष उतै बसे । उनी टेलिकम्युनिकेशन इन्जिनियर हुन् ।

३. उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले विराटनगर महानगरपालिकाको मेयरमा चुनाव लड्ने घोषणा गरेका छन् । उनी ३४ बर्षका छन् ।

विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय अमरेन्द्रले आफू मेयरमा उम्मेदवारी दिनेवारे पार्टीका सबै शीर्ष नेतालाई समेत जानकारी दिईसकेका छन् ।

विधि विज्ञान विषय पढेका उनले पछिल्लो पाँच बर्ष मेयरलेभन्दा बढी काम गरेको दावी गर्दै आएका छन् । त्यही भएर त्यसवेला तेस्रो नम्बरमा आएको जसपा यसपटक पहिलो हुने उनको विश्वास छ । तर, जसपा सत्ता गठबन्धनभित्र रहेकाले उनले सोचेजस्तो उम्मेदवारी पाउने संभावना नहुन सक्छ । जे होस् उनले महानगरको मेयरमा दावेदारी प्रस्तुत गरेका छन् ।

४. विद्या भण्डारीकी छोरी उषाकिरण
गएको चैत ५ मा राष्ट्रपति विद्या भण्डारीकी छोरी उषाकिरण भण्डारी ‘मदन भण्डारी फाउण्डेशन’को अध्यक्ष बनिन् । यस फाउन्डेशनमा उषा किरणको कमान्डलाई एमालेका नाम चलेका नेताहरुले समेत स्वीकारेर कमिटीमा बसेका छन् ।

महेन्द्र बहादुर पाण्डे, सुशील प्याकुरेल, डा. कुन्दन अर्याल, डा. कैलाश भण्डारी
डा. कालू सिंह खत्री उषाकिरणका सदस्यहरु हुन् । उषाकिरणको मातहतमा सबैजसो उनीभन्दा सिनियर नै छन् । एमालेको भात्री संगठन अनेमसंघकी केन्द्रीय सदस्य समेत रहेकी उषाकिरणलाई राजनीतिमा दरैसँग अघि बढाउन खोजेको देखिन्छ । भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा राजनीतिक शास्त्र अध्ययन गराएर ल्याउनु पनि उषाकिरणको राजनीतिक जग मजबुतीकालागि थियो भनेर बुझ्न गाहे छैन ।

५. प्रकाशमानका छोरा प्रभाशमान सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको जेठो छोरा प्रभाशमान सिंह पनि पार्टी राजनीतिमा सक्रिय भएका छन् । उनी काठमाडौं क्षेत्र नं ७ बाट नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका थिए ।

३२ वर्षका प्रभाशमान सिंह यसअघि कांग्रेसको भातृ संस्था नेपाल तरूण दलको केन्द्रीय पार्षद थिए ।

६. राजेन्द्र खरेलको छोरा मेयर महेश खरेल
‘शासक होइनौं, सेवक हौं’ भन्ने भावनाका साथ काम गरे प्रतिकूल अवस्थामा पनि अगाडि बढ्न सकिन्छ भन्ने उदाहरण बनेका छन् पाँचखाल नगरपालिकाका मेयर महेश खरेल । करिब १४ वर्ष अमेरिका बसेर समाजसेवा गर्न नेपाल फर्केका खरेल कांग्रेस नेता तथा पूर्वमन्त्री राजेन्द्र खरेलका छोरा हुन् ।

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकालाई वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷७७ मा उत्कृष्ट नगर घोषणा गरेपछि उनी चर्चामा आएका हुन् ।

७. खुमबहादुर खड्काका छोरा अनुराग
नेपाली कांग्रेसका दिवंगत नेता तथा पूर्व गृहमन्त्री खुमबहादुर खड्काका छोरा अनुराग खड्का कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरेका छन् ।

कांग्रेस १४औँ महाधिवेशनमा दाङ क्षेत्र नं १ को अधिवेशनमा अनुरागले सर्वाधिक मतसहित जीत हात पारेका थिए । उनी कांग्रेसमो संस्थापन पक्षधर हुन् ।

८. विजय गच्छेदारको छोरा सुभाष
नेपाली कांग्रेसका पूर्व उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारका छोरा सुभाष गच्छदार कांग्रेसको राजनीतिमा प्रवेश गरिसकेका छन् । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ बाट कांग्रेस महाधिवेश प्रतिनिधि बनेपछि आधिकारिक रुपमा पार्टीमा ‘इन्ट्रि’ भएका हुन् । यद्यपि उनी बुवा अध्यक्ष भएको लोकतान्त्रिक फोरममा पनि सक्रिय भएर लागेका थिए । उनले युकेबाट इलेक्ट्रिल विषयमा इन्जिनियरिङ गरेका हुन् ।

९. कमल थापाको छोरी प्रतिष्ठा
राप्रपा नेपालका अध्यक्ष कमल थापाकी छोरी प्रतिष्ठा थापा रायमाझीले राप्रपा परित्याग गरेको समाचार चर्चित बन्यो । उनी राप्रपाको गत महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्बाचित भएकि थिइन् । तर बुबा कमल थापाले राप्रपा छोडेर राप्रपा नेपालमा सक्रियता जनाउँदा समेत प्रतिष्ठाले राप्रपा त्यागेकी थिइनन् ।

अव भने प्रतिष्ठा राप्रपा नेपालमा सक्रिय हुने भएकि छन् ।

१०. वामदेव गौतमका छोरा हरिश
निश्कृय एमाले नेता वामदेव गौतमका एक छोरा र एक छोरी छन् । छोरा हरिश गौतम एमालेको भातृ संगठन युवा संघको केन्द्रीय सदस्य समेत भइसकेका छन् ।

बामदेव पुत्र हरिशले चाइनाबाट इञ्जिनियरिङ गरेका छन् । तर, पढेर फर्केपछि भने राजनीतिसँगै उनी ब्यापार–ब्यवसायमा समेत संलग्न बने ।

११. झलनाथ खनालका छोरा निर्भिक
पूर्वप्रधानमन्त्री तथा एमालेका पूर्व अध्यक्ष झलनाथ खनालका एकमात्र छोरा हुन् निर्भिक चित्रकार खनाल । उनी अमेरिका अध्ययन गरेर नेपाल फर्केपछि राजनीतिमा सक्रिय रहे । एमाले भात्री संगठन युवा संघका केन्द्रीय सदस्य रहिसकेका निर्भिक राजनीतिमा सक्रिय छन् ।

१२. छोराछोरी
बाबुराम भट्टराइकी छोरी मानुषी यमी भट्टराई पनि राजनीतिमा छिन् । उनी युवापुस्ता माझ चर्चित छिन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’का पनि छोरीहरु सक्रिय राजनीतिमा नै छन् । छोरी रेणु भरतपुर महानगरको मेयर र गंगा प्रचण्डको सचिवालय ‘हेन्डिल’ गर्छिन् ।

त्यसैगरी नेपाली कांग्रेसमा बरिष्ठ नेता रामचन्द्र पौडेलको छोरा चिन्तन पौडेल पनि चर्चित पात्र हुन् । उनलाई बाबुको शक्तिमा ठूलो जागिरमा नियुक्त भएको आरोप लाग्ने गरेको छ । बुबाको सचिवालयको काम चिन्तनले नै हेर्ने गरेका छन् । पौडेल पुत्री संज्ञा पनि महाधिवेशन प्रतिनिधि बन्न सफल भएकी थिइन् । त्यसैगरी प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पुत्र जयवीरसिंह देउवा पनि कांग्रेसका क्रियाशील सदस्य हुन् । भनिन्छ, ‘उनलाई राजनीतिको ठूलो जिम्मेवारीमा इच्छा छैन ।’

नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री सुनिल थापाका छोरा सिद्धार्थ थापा पनि नेपाली कांग्रेस मार्फत राजनीतिमा प्रवेश गरेका छन् । उनले बाबु बाजे (सूर्यबहादुर थापा)को बिडो थाम्दै धनकुटाबाटै सक्रियता जनाएका हुन् । त्यसैगरी पूर्वमन्त्री चिरन्जिवी वाग्लेका छोरा देवेन्द्र वाग्लेले पनि कांग्रेस राजनीतिमा ‘इन्ट्रि’ मारिसकेका छन् । त्यसैगरी मन्त्री रेणु यादवका छोरा अभिषेक दुई नं प्रदेशका सभासद छन् ।

दर्शकबृन्द, राजनीतिमा ‘इन्ट्रि’ मारेका नेताका तन्नेरी सन्तानहरुको फरक र सुखद पक्ष के छ भने यी मध्ये अधिकांश ‘फुलटाइम’ राजनीतिमा छैनन् । कमाईको माध्यम ब्यापार–ब्यवसायलाई बनाएर उनीहरु छिरेका छन् । त्यतिकै दुखद पक्ष चाहिँ के छ भने यी कोहीले पनि देश बनाउने, प्रदेश बनाउने वा स्थानीय तहको मुहार फेर्ने कुनै पनि प्रकारको नयाँ सोच सार्वजनिक गरेका छैनन् । यस हिसावले हेर्दा नेताका तन्नेरी सन्तानहरु पनि ‘नयाँ बोतलका पुरानै रक्सी’ जस्ता लाग्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *