विवाहमाथि एउटा हाँस्य मिश्रित उखान निकै चर्चित र सदावहार छ । ‘बनारसके लड्डु, खाएभी पछुताए, नखाएभी पछुताए’ । अर्थात बनारसको लड्डु खाने पनि पछुताउँछन् र नखाने पनि पछुताउँछ । विवाहको प्रतिक बनाइएको बनारसको लड्डु वास्तवमा धेरैले खान्छन् र कतिपयले नखाएरै जीवन सकाउँछन् ।
जीवन बिताउन विवाह अनिबार्य छैन । त्यसैले ‘लिभिङ टुगेदर’ मज्जासँग फस्टाएको छ । तर, बंश परम्परा धान्न भने विवाह अनिवार्य नै हुन्छ । यसका बाबजुद पनि धेरैले विवाह गरेनन् र गरेका छैनन् । नेपाली राजनीतिको कुरा गर्दा दुई पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र सुशील कोइरालाले विवाह नै नगरी जीवन पुरा गरे । आजको रिपोर्टमा हामी बनारसको लड्डु नखाई बसेका अर्थात विवाह नगरी बसेका चर्चित राजनीतिकर्मीहरुको कुरा गर्दैछौं । सर्वप्रथम कम्युनिष्ट नेताहरुबाट–
१. नारायणकाजी श्रेष्ठ, ६३
माओवादीका पूर्व उपाध्यक्ष एवं बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ६३ बर्षका भए । उनको जीवन कथा पढ्दा १७ वर्षकै उमेरमा उनी कसैको प्रेममा परेका थिए । तर, अहिले उनलाई बिहे अनिवार्य छ जस्तो लाग्दैन । बिहे नगरेर ठिक गरियो भन्ने अनुभव सुनाउँछन् उनी । ‘माक्सले आफूले बिहे गरेर गल्ती गरेको भनेका थिए, त्यसैले मैले चाहिं ठिकै गरे जस्तो लाग्छ’ नारायणकाजी भन्छन् ।
२. गिरिराजमणि पोखरेल, ६३
माओवादी नेता तथा मन्त्री गिरिराजमणि पोखरेल पनि अविवाहित नेता हुन् । नारायणकाजी श्रेष्ठसँगै माओवादी पार्टीमा आएका उनी पनि ६३ बर्षका नै भए । तर उनलाई चाहिँ कहिलेकही विवाह नगरेर गल्ती गरिएछकि भन्ने पनि लाग्छ ।
उनी एकपटक गम्भिर दुर्घटनामा परेर ८६ दिन ओछ्यान परे । अस्पतालमा बसे । त्यसवेला अर्को बेडको विरामीलाई जीवनसाथीले हेरचाह गरेको देखेर भने उनलाई विवाह नगरेर गल्ती गरिएछ कि भन्ने पनि लागेको थियो । यद्यपि उनले अहिलेसम्म बिहे गरेनन् । खोटाङ जन्मथलो रहेपनि उनी महोत्तरीको बर्दिबासमा १३ वटा संयुक्त परिवारले तयार गरेको कम्युनमा गुजारा चलाईरहेको छन् ।
३.पम्फा भुषाल, ५९
पम्फा भुषाल नेपाली राजनीतिकबृत्तमा परिचित र चर्चित नाम हो । हाल उर्जामन्त्री रहेकी उनी हालसम्म अविवाहित पनि छिन् ।
वि.सं. २०१९ साउन ४ गते अर्थात आजभन्दा ५९ बर्षअघि अर्घाखाँचीमा जन्मिएकी उनी २०५१ सालमा संयुक्त जनमोर्चा नेपालको अध्यक्ष समेत बनिन् । नेपालमा पार्टीको अध्यक्ष बन्ने पम्फा पहिलो महिला हुन् । विवाह नगरेपनि पम्पाको प्रेम चर्चा भने जनयुद्धताका निकै चर्चित बनेको थियो ।
४. विन्दा पाण्डे, ५५
लामो समय एमालेको झण्डामुनी बसेर राजनीति गरेकी विन्दा पाण्डे हाल सम्म अविवाहित छिन् । एमालेको पोलिटव्युरो सदस्य समेत रहेकी सांसद पाण्डे उमेर गणनामा ५५ पुगिसकेकी छिन् ।
विन्दा पाण्डेले किन विवाह गरिनन् त ? यस सम्बन्धमा उनी निकटका नेताहरु भन्छन् – ‘उमेरमा कसैको प्रेममा परेकि थिइन् । त्यो सफल हुन नसकेपछि उनी बिरक्तिएको हुन सक्छ ।’ तर, यो पुष्ट कुराचाहिँ होइन ।
५. कोमल वली, ५१
लामो समय रेडियो नेपालमा समाचार बाचन गरेर र गायनमा संलग्न रहेर चर्चित बनेकी कोमल वली एमालेको केन्द्रीय सदस्य हुन् । उनी तत्कालीन नेकपाबाट राष्ट्रियसभाको सांसद समेत बनेकी थिइन् ।
केही पटक टेलिभिजन अन्तर्वार्तामा उनले यही बर्ष बिहे गर्ने भनेर घोषणा गरेपनि त्यो मजाकमा सीमित भए । ‘पोइल जान पाम शिव’ भन्दै गीत गाउने उनले आफ्नो उमेर लुकाउँदै आएकि छन् । उमेरमा कोमलले बताउने गरेकोबाट हिसाव गरेर ल्याउने हो भने चाहिँ उनी पोहोर साल नै ५० कटेकी छन् ।
अव सुरु गरौं नेपाली कांग्रेसका नेताहरुको अविवाहित जीवनबाट –
६. प्रदीप गिरी, ७४
नेपाली कांग्रेसका विद्यान केन्द्रीय नेता प्रदीप गिरी दर्शनशास्त्रका विद्यार्थी हुन् । उनी पटक पटक सांसद बनेका छन् । र, भनिन्छ, उनले मन्त्री हुने पटक पटकको अफर पनि अस्वीकार गरेका छन् । अस्वस्थ भएर भारतमा उपचार गरेर फर्केका प्रदीप गिरी ७४ बर्ष पुगेका छन् ।
७. उमेश श्रेष्ठ, ५४
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ शिक्षा क्षेत्रका डन नै हुन् । उनी धेरैवटा स्कूल तथा कलेजका सञ्चालक समेत हुन् । हाल उनी ५४ बर्ष पुगेका छन् ।
८. रामहरि खतिवडा, ५२
नेपाली कांग्रेसमा युवा नेताको परिचय बनाएका रामहरि खतिवडा पनि अविवाहित छन् । ओखलढुंगाका नेता खतिवडा कांग्रेसको केन्द्रीय नेता हुन् । नेता खतिवडा आफ्नो उमेर गोप्य राख्न रुचाउँछन् । तर उनका निकटस्थहरु भन्छन् ‘उनी ५० कटेको केही बर्ष भयो ।’
९. फर्मुल्लाह मन्सुर, ६९
पूर्व श्रम तथा रोजगार मन्त्री फर्मुल्लाह मन्सुर नेपाली कांग्रेसको सहमहामन्त्री हुन् । जीवनभरी बिहे नगर्ने र बुढेसकालमा बृद्धाश्रम बस्ने योजना बनाएका नेता मन्सुर हाल ६९ बर्ष पुगे ।
१० . अम्बिका बस्नेत, ७२
पूर्वमन्त्री तथा नेपाली कांग्रेसकी नेतृ अम्बिका बस्नेत ७२ बर्ष पुग्दासम्म अविवाहित छिन् । उनी पटक पटक सांसद बनेकी छन् । २०५६ सालको संसदीय निर्वाचनमा उनी वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिस्पर्धी बनेकी थिइन् ।
११. आङगेलु शेर्पा र पिएल सिंह
नेपाली कांग्रेस केन्द्रीय सदस्य आङगेलु शेर्पा अविवाहित छन् । त्यसैगरी कांग्रेस नेता तथा काठमाडौंका पूर्व मेयर पिएल सिंह पनि अविवाहित छन् ।
दर्शकबृन्द माथि उल्लेखित बाहेक पनि निकैजना नेताहरु अविवाहित बसेका छन् । ४० कटेर पनि अविवाहित त अझ बढी छन् । मुल प्रश्न हो, यी चर्चित नेताहरु किन अविवाहित बसे ? यसको एउटै मात्र कारण छैन । केहीको कारण असफल प्रेम देखिएको छ भने केही बिहे गर्ने भन्दा भन्दै ढिलो भएका छन् । त्यसैगरी कसैकसैले जीवनभरी बिहे नगर्ने संकल्प नै गरेका छन् ।
बिहेगरेपछि साथी हुन्छ । साथी भएपछि परिवार बढ्छ । त्यस्तो झमेलामा किन फस्ने ? भन्थे अभिनेता राजेश हमाल । तर उनले ढिलै भएपनि बिहे गरेरै छोडे । भनिन्छ, विवाह नगरी बस्ने धेरैलाई समय–समयमा पछुतो भने हुने गर्छ । अर्थात बनारसको लड्डु नखाँदा हुने पछुतो महसुस गरेका हुन्छन् अविवाहितहरुले ।