एमालेले किन दिएन नमूना काम गरेका मेयरलाई टिकट ?

बुटवल उपमहानगरबाट सिदार्थनगर नगरपालिका भैरहवातिर लागे पछि जब तिलोत्तमा नगरपालिकाको मणिग्राम आसपास पुगिन्छ । सडक किनाराको हरियाली, सफा र फराकिला सडक, रात्ती पनि सडकको दाँया बाँया नै ठूल्ठूला चिमसहितको उज्यालो बत्ति देखेपछि सहजै अनुमान गर्न सकिन्छ, अब बुटवल खण्ड सकिएछ ।’

नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको होस् वा कुनै सार्वजनिक संस्थाहरुले गरेको मुल्यांकन– रुपन्देहीको तिलोत्तमा नगरपालिका उत्कृष्टभित्र दर्ज भएको थियो । तिलोत्तमा नगरपालिकालाई उत्कृष्ट बनाउने कामको अगुवाई अरु कसैले नभएर मेयर बासुदेव घिमिरेले गरेका थिए । ०७४ को निर्वाचनमा घिमिरे नेकपा (एमाले) बाट मेयर निर्वाचित भएका थिए । त्यसैले धेरैले अनुमान गरेका थिए, तिलोत्तमालाई उत्कृष्ट नगरपालिकाको रुपमा विकास गरेका घिमिरेलाई नै पुनः एमालेले मेयरको उम्मेदवार बनाउने छ ।

तर, एमालेले त्यहाँ मोहन चापागाईलाई मेयरको प्रत्यासी खडा गरेको छ । एमालेले घिमिरेलाई किन निरन्तरता दिएन त ? जानकारका अनुसार ५ पुस ०७७ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले विघटन गरेको प्रतिनिधि सभाको घिमिरेले बिरोध गरेका थिए । एमालेको संस्थापन समूह उनले गरेको त्यो बिरोधबाट रुष्ट थियो । पछि उनी ओलीका समर्थक त बने । तर, सिधैं ओलीसँग पहुँच बनाएर होइन, ओली क्याम्पकै अर्का खेलाडी उपाध्यक्ष विष्णु पौडेलमार्फत ।

जानकारका भनाइमा यहाँ पनि घिमिरेलाई अर्को तगारो आइलाग्यो । उनी पौडेल निकट त भए । तर, यसबेलासम्म पौडेलका भित्रिया अरु नै भइसकेका थिए । घिमिरेको दरिलो आँड कोही पनि भएनन् । ‘घिमिरे कस्का मान्छे हुन् भन्ने भेउ नै कसैले पाएनन्’, स्रोतको भनाइ छ, ‘घिमिरेको पक्षमा लविइङ गरिदिने एमालेका शिर्ष नेताहरु कोही पनि भइ दिएनन् । त्यसैले राम्रो काम गर्दा गर्दै पनि निरन्तरता पाएनन् ।’

तिलोत्तमाकै मणिग्राम निवासी भरत भुसालका शब्दमा एमाले जिल्ला कमिटीको बहुमतले समेत एक स्वरमा मेयर घिमिरेको पक्षमा ‘सर्पोट’ गरेन । ०७४ को निर्वाचन अघिकै जसरी घिमिरे, मोहन चापागाईसहित तीन जनाको नाम सिफारिस भयो । ‘त्यसैले बासुदेवजीले निरन्तरता पाउन सक्नु भएन जस्तो लाग्छ’, भुसाल भन्छन्, ‘उहाँले आफ्नो कार्यकालमा राम्रै काम गर्नु भएको हो । कामका हिसावले निरन्तरता पाउनु पर्ने हो । तर, पाउन सक्नु भएन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *