भक्तपुरमा नै कमजोर महेश बस्नेत !

एमाले संस्थापनका चर्चित नेता महेश बस्नेत स्थानीय निर्वाचन २०७९ को टिकट वितरणमा गृहजिल्ला भक्तपुर भित्रै कमजोर देखिएका छन् । उनको इच्छा चाहाना बमोजिमका नेता–कार्यकर्ताले टिकट नपाएपछि उनी कमजोर देखिएका हुन् । भक्तपुरका चार मध्ये तीन नगरमा एमालेले झन्डा गाडेको थियो, स्थानीय निर्वाचन २०७४ मा । भक्तपुर नगरमा नेमकिपाले अरुलाई चिहाउन समेत नदिएकाले बाँकी तीन नगरको कुरा गरौं । प्रसंग सुरु गरौं, मध्यपुर थिमी नगरपालिकाबाट –

मध्यपुर थिमीमा निवर्तमान मेयर मदनसुन्दर श्रेष्ठलाई नै फेरि एमालेले टिकट थमायो । रोचक पक्ष चाहिँ के छ भने मदनसुन्दरसँग महेश बस्नेतको सम्बन्ध पानी बाराबार जस्तै छ । मदनसुन्दरले आफ्नो कार्यकालभरी महेशलाई ढिम्किन पनि दिएनन् । भनिन्छ, ‘महेशले ल्याएका ठूला–ठूला योजनाहरुमा समेत मदनसुन्दरले ‘इन्टरटेन्ट’ गरेनन् ।’

मदनसुन्दरलाई कुनैपनि हालतमा दोहोरिन नदिन महेश बस्नेतले जिल्ला पार्टी अध्यक्ष बचन देउजालाई अघि नसारेका होइनन् । तर, राम्रो काम गरेको कुरालाई स्थापित गरेका उनलाई ‘माइनस’गर्न जिल्ला पार्टीले पनि सकेन । मदनसुन्दर निकटका जानकार भन्छन् –‘जसरी महेश बस्नेतको सोझो सम्बन्ध बालकोटसँग छ, त्यसैगरी मदनसुन्दरको पनि छ । त्यही कारण उनको केही लागेन ।’

सूर्यबिनायक नगरको टिकट वितरणमा पनि महेश बस्नेत अशक्त देखिए । उनले केही समयदेखि वडा नं ८ का अध्यक्ष किरण थापालाई मेयर बनाउने तयारी गरिरहेका थिए । सोही मुताविक वडाबाट राजीनामा गरेर किरणले आफ्नो योजना समेत बताउन थालेका थिए । मेयर भएको खण्डमा नगरपालिकाले दिने कुनैपनि सेवा सुविधा नलिने समेत उनले घोषणा गरिसकेका थिए । त्यसैगरी गत शुक्रबार साँझ अध्यक्ष केपी ओलीको घरमा डेढसयजती कार्यकर्ताको झुन्ड किरण थापाको पक्षमा पठाइएको पनि थियो, दवाव स्वरुप ।

तर, अन्त्यमा मेयर बासुदेव थापालाई नै टिकट दिइयो । भनिन्छ, ‘अमुक ठाऊँबाट बालकोटमा आएको दबाबका कारण सम्पूर्ण तयारीमा रहेका किरण थापाको केही लागेन ।’

अर्को नगरपालिका चाँगुनारायणमा पनि महेशले चिहाउन पाएनन् । निवर्तमान उपमेयर बिना बास्तोलालाई मेयरको उम्मेदवारमा बढुवा गरेपछि उनी मौन स्वीकृति जनाउन बाध्य भए । मेयरकालागि चर्चामा आएका उम्मेदवार रमेश बुढाथोकी उपमेयरमा थन्किन बाध्य भए ।

भक्तपुरमा आफूले चाहेका कुरालाई जसरी पनि निर्णय गराउन सफल मानिदै आएका महेश बस्नेत मेयरको टिकट वितरणको निर्णय गर्ने समयमा निश्कृय बसेको एमालेबृत्तमा चर्चा छ । उनी किन निश्कृय भए ? निर्णय भएका उम्मेदवारको सवालमा मौन स्वीकृति जनाएर बस्ने अवस्थामा कसरी पुगे ? समग्रमा स्थानीय निर्वाचनको मुखमा महेश बस्नेतको स्वभाव कसरी परिवर्तन भयो ? आउँदा दिनमा यस प्रश्नको जवाफ खुल्दै जाने विश्वास गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *