ओखलढुङ्गाको चिशंकुगढी गाउँपालिकामाको अध्यक्षमा पूर्व छापामारद्धय निशान्त शर्मा (शम्भु बाँस्तोला) र अशोक थापा (किसान) बीच प्रतिस्पर्धा हुने भएको छ । शर्माले नेकपा (माओवादी केन्द्र) र थापाले नेकपा (एमाले) बाट गाउँपालिका अध्यक्षको उम्मेदवारी मनोनयन गरेका छन् ।
शर्मा ०७४ को स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाटै गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । माओवादीले यस पटक पुनः उनै शर्मालाई दोहोर्याएको छ भने थापालाई प्रदेश नंं. एकका पूर्वभौतिक पूर्वाधार मन्त्री अमिरबाबु गुरुङको जोडबलमा एमाले ओखलढुङ्गाले टिकट दिएको छ ।
थापा ०५६ मा तत्कालीन माओवादी ‘जनयुद्ध’ मा भूमिगत भएका भए । उनी ओखलढुङ्गा जिल्लाबाट माओवादी जनयुद्धमा भूमिगत हुने अगुवा कार्यकर्ताभित्रै पर्छन । यता ओखलढुङ्गाकै भुईँभिरका शर्मा, अग्नी राई र चेतकुमारी राई ‘प्रभा’ पनि मंसिर ०५७ मा ‘जनयुद्ध’ मा पूर्णकालीन भएका थिए । तीन जना एकै पटक भूमिगत भएकामा चेतकुमारी राईलाई संकटकालमा तत्कालीन शाही नेपाली सेनाले ओखलढुङ्गा र सोलुखुम्बूको सीमा गैरी भन्ने स्थानमा ‘हत्या’ गरेको थियो भने भूमिगत अवस्थामै दुधकोशी नदीले बगाएर अग्नीको पनि मृत्यु भएको थियो ।
रोचक के भने शर्मा ०७४ को निर्वाचनमा थापाकै सहयोगमा जीत हात पार्न सफल भएका थिए । यदि थापाले सहयोग गरेका हुन्थेनन् भने शर्माले त्यसबेला गाउँपालिका अध्यक्ष जित्ने थिएनन । त्यो कसरी भने ०७४ को स्थानीय निर्वाचनमा शर्मा नेकपा (एमाले) सँगको प्रतिस्पर्धामा शर्मा ३ मत अन्तरले मात्र विजयी भएका हुन् । निर्वाचन अघि थापा बाबुराम भट्टराई (विद्यावारिधि) नेतृत्वको नयाँ शक्ति पार्टीमा थिए । निर्वाचनको सम्मुखमा मात्र उनी शर्मालाई सहयोग गर्ने गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका थिए । थापा माओवादी केन्द्रमा प्रवेश गरेसँगै उनको परिवारले १० भन्दा बढी मत शर्मालाई दिएका थिए । परिणाम– उनी ३ मत अन्तरले विजयी हुन सके ।

शर्मा निर्वाचित भएको केही समयमै उनीहरुबीच खटपट सुरु भएको थियो । ठेक्का पट्टा, प्राकृतिक स्रोत साधन कब्जा गर्ने विषयमा उनीहरुबीच विवाद सुरु भएको हो । अदालतले नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रलाई ब्युँताई दिएपछि थापा एमालेमा आवद्ध भए भने शर्माले माओवादी केन्द्रलाई नै निरन्तरता दिए ।
थापा एमालेमा लाग्नुको पनि कारण छ । ०६१ सालमा थापा माओवादी लडाकूको क्षेत्रिय कम्पनी कमाण्डर थिए । लडाकूहरुको एउटा एसटिएफ सिरहाको चोहर्वास्थित सेनाको ब्यारेकमा कमाण्डो आक्रमण गर्न आएका थियो । तर, पहिले नै सूचना चुहिएकाले छापामारहरुले आक्रमण गर्न सकेनन । तत्कालीन बिग्रेड कमाण्डर धनबहादुर मास्की ‘राजेश’ ले सूचना चुहाएको आरोप कम्पनी कमाण्डर थापालाई लगाएर निलम्बन गरेका थिए ।
निलम्बनकै बीचमा थापालाई खोटाङ च्युरीडाँडा जन्मथलो भएकी एक छापामारलाई ‘बलात्कार’ गरेको आरोप लाग्यो । ब्रिगेड कमाण्डर राजेशका लागि आगोमा घ्यु थपियो । यसपछि कमाण्डर राजेशले थापाको सम्पूर्ण जिम्मेवारी खोसेर कपिल नामका अर्का छापामारलाई कम्पनी कमाण्डर तोके । र, थापालाई बाँधेर राखे । तर, थापाप्रति सहानुभूती राख्ने बटालियन कमाण्डर हिमाञ्चलले राती ३ बजे राजेशलाई सुइँको नदिइ टोरी खुस्काएर भगाई दिए ।
शान्ति प्रकृयामा आएपछि थापा पुनः माओवादीमा जोडिए । यहाँ अर्को रोचक के भने उनी शर्मामार्फत नै त्यसबेला ओखलढुङ्गाका जल्दाबल्दा नेता बालकृष्ण ढुङ्गेल हुँदै माओवादीमा जोडिएका थिए । साथै, ओखलढुङ्गाकै रुम्जाटार जन्मथलो भएका विवादित छवीका व्यापारी अमिरबाबु गुरुङसँग पनि जोडिए । गुरुङ हाल ओखलढुङ्गाबाट प्रदेश सभा सदस्य छन् । गुरुङसँग जोडिएपछि थापा त्यस ‘गिरोह’ बाट निस्कनै सकेनन् । भनिन्छ, ‘अपराधिक समूहमा पसेपछि निस्कन खोजेर पनि संभव छैन । गिरोहले निस्कनेले आफ्ना सूचना बाहिर लैजान्छ भनेर कसैलाई बाहिर निस्कनै दिँदैनन । बरु त्यहीभित्र सिध्याई दिन्छन् ।’ गुरुङसँगको संगतपछि थापाका हकमा पनि यही ‘नियम’ लागू भइरहेको छ । फलत : थापा गुरुङकै कारण एमालेमै आवद्ध भएपछि उनकै दबाबमा टिकट पाउन सफल भएका छन् ।
थापाले अम्बिरबाबु गुरुङको दबाबमा चिशंकुगढी गाउँपालिकाको टिकट पाएपछि उनका भाई दुर्गाशम्शेर थापाले हिजो ११ बैशाख दिउँसो ११.३८ मा फेसबुक स्टाटस् लेखेका छन्, ‘मेरो पुजनीय आदरणीय दाई यो हुन गइरहेको स्थानीय तहको निर्वाचनमा चिसंकु गाउँपालिकाको अध्यक्षको लागि एक मात्र जनताको शक्तिशाली पाट नेकपा एमालेबाट उम्मेदवारमा नाम सिफारिस हुनु भएकोमा दाई अशोक थापाज्यूलाई भारी जनमतसहितको अग्रिम शुभकामना । साथै पटीका केन्द्र प्रदेशदेखि जिल्लका सबै उच्च नेता गणहरुमा धन्यवाद र विशेषगरी (हाम्रो परिवारका एक अभिभावक निवर्तमान मन्त्री आदरणीय अम्बिरबाबु गुरुङ दाई) ज्यूलाई दाई अनगिन्ती असिमित धन्यवाद सम्पूर्ण थापा परिवारबाट र यसरी नै सदैव दाईको माया, साथ, सयोगको अपेक्षा गरिरहने छौं ।’
