आउँदो ३० बैशाखमा हुने स्थानीय निर्वाचनका क्रममा विगत निर्वाचनमा जस्तै रोचक दृश्य देखिन थालेका छन् । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको मेयरको प्रतिस्पर्धामा यस्तै रोचक दृश्य देखिएको छ । नेकपा (एमाले) र नेपाली कांग्रेसले ज्वाइँ–जेठानलाई मेयरका प्रतिस्पर्धी बनाएपछि दाजुभाइ जस्तै मिलेर बसेका उनीहरुबीच भाले भिडन्त हुने भएको हो ।
निवर्तमान मेयर मदनसुन्दर श्रेष्ठलाई मध्यपुर थिमीमा एमालेले दोहोर्याउने निर्णय गर्यो भने कांग्रेसले उनकै जेठान सुरेन्द्र श्रेष्ठलाई मैदानमा उतार्यो । यही कारण एकै घरमा समेत बस्दै आएका ज्वाइँ–जेठान भाले जुदाईमा उत्रिन बाध्य भएका हुन् ।
भनिन्छ, ज्वाइँ (मदनसुन्दर)ले जेठान (सुरेन्द्र)को सहयोगमा अघिल्लो चुनाव जितेका थिए । यही कारण कांग्रेसको गढ मानिने मध्यपुर थिमीमा एमाले पहिलो पटक झन्डा गाड्न सफल भएको थियो । मेयरमा एमालेले जितेपनि नगरसभामा कांग्रेसको दुई तिहाई बहुमत आउनुले जेठानको सहयोगमा ज्वाईँले जितेको शंकालाई मलजल गरेको थियो ।
यस पटक जेठान सुरेन्द्रले कांग्रेसबाट टिकट पाएको खण्डमा मदनसुन्दर नदोहोरिने पक्षमा थिए । तर, कांग्रेसले टिकट बाँडफाँट ढिलो गरेपछि मदनसुन्दरले पनि आफ्नो पक्षमा ‘लबिङ’ कायम राखे । जेठानलाई छोड्ने भनेर बस्दा दुबैको हातमा टिकट नपर्ने भय पनि उनीहरुलाई उत्तिकै थियो । आ–आफ्ना पार्टीभित्रबाट अन्ततः अन्तिम समयमा टिकट बाँडफाँडमा भएको सहमतीले ज्वाइँ–जेठान नै भिड्न वाध्य भएका छन् ।
मध्यपुर थिमीका स्थानीय समीक्षकहरु भन्छन् –‘घिऊ कहाँ पोखियो, आफ्नै भागमा’ भन्ने उखानलाई यिनीहरुको जीत–हारले चरितार्थ गर्ने छ । यस्तो किनपनि भनिएको हो भने मदनसुन्दर र सुरेन्द्रको ज्वाइँ–जेठान सम्बन्ध औपचारिकतामा सीमित छैन । फरक पार्टी भएपनि हार्दिकता, मित्रता र आफ्नो अनुकुल अवस्था सृजना गर्नकालागि हुने मिलापमा यी दुबै उदाहरणिय मानिन्छन् ।