यही बैशाख ३०मा हुने स्थानीय निर्बाचनको माहोल तात्दै जाँदा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले धेरैको ध्यान खिच्न थालेका छन् । ठूलाठूला योजनाहरु घोषणापत्रमा लेखेर सार्बजनिक गर्ने र चुनावपछि ती घोषणाहरु सबै बिर्सने लबस्तरो वर्तमान राजनीतिप्रति बालेन शाह आशाबादी भएर देखा परेका छन् ।
को हुन् बालेन शाह
बालेन शाहको वास्तविक नाम बालेन्द्र शाह हो । सधैं कालो चस्मा र टन्नै दारी पालेर देखापर्ने उनी हिपपप दुनियामा भने बालेन शाहको नामले चिनिन्छन् । उनी आयुर्वेदिक चिकित्सक डा. राम नारायण शाह र ध्रुवदेवी शाहका छोरा हुन् । बालेन ३१ बर्षे युवा हुन् ।
बालेनले हिपपपमा पनि नेपाली समाजकै चित्रण गर्ने गरेका छन् । राजनीतिको कुरुप पाटोलाई नै उजागर गरेर चेतना छर्ने कोशिस गरेका छन् । उनले निकैवटा यस्ता गीत गाएका छन् र ती गीतलाई दर्शक तथा स्रोताले मन पराएका पनि छन् । बालेन र्यापर, म्युजिक कम्पोजर, गीत लेखक र निर्देशक समेत हुन् ।
तर, गायनपक्ष बालेनको देखाउने दाँत मात्रै हो । उनी खासमा इन्जिनियर हुन् । सुरुमा उनी सिभिलइन्जिनियर हुन् र मास्टर्श गरेपछि भने स्ट्रकचरल इन्जिनियर भए । उनले ठूलो संख्यामा घरको नक्सांकन गरेका छन् । त्यसैगरी भुकम्पपछि उनले २ हजारभन्दा बढी घरको क्षती मूल्यांकन गरेका छन् । इन्जिनियरिङमा पनि उनको गहिरो अनुभव रहेको छ । साथै नामी निर्माण कम्पनीहरुमा नेतृत्वदायी ढंगले काम गरेको पनि उनले अनुभव संगालेका छन् ।
काठमाडौंमा जित्ने आधार
२०७२ सालको निर्वाचनमा भन्दा २० हजार ९ सय ३३ मतदाता बढेपछि काठमाडौं महानगरमा ३ लाख २ सय मतदाता भएका छन् । ६४ हजार ९ सय मत ल्याएर एमालेका विद्यासुन्दर शाक्यले जित्दैगर्दा कांग्रेसका राजुराज जोशीले ४५ हजार २ सयमा चित्त बुझाउनु परेको थियो । माओवादी पार्टीले पनि सातहजार मत कटाएको थियो ।
काठमाडौं महानगरपालिकाको महत्वपूर्ण पक्ष चाहिँ के थियो भने ४१ हजार ९ सय मत ‘स्वीङ’ भएको थियो । विवेकशिल पार्टीकी रञ्जु दर्शनाले २३ हजार ४ सय र अर्का स्वतन्त्र उम्मेदवार किशोर थापाले १८ हजार ४ सय मत ल्याएका थिए । यस पटकको थप आकर्षण चाहिँ झन्डै २१ हजार नयाँ मतदाता हुन् । अर्थात ६२ हजारभन्दा बढी मतदाता एमाले र कांग्रेसलाई भोट नहालेकाहरु छन् ।
रञ्जु दर्शना र किशोर थापाले यस्तो वेलामा यति धेरै मत प्राप्त गरेका थिए, जतिवेला मुलुकमा एमाले अध्यक्ष केपी ओलीको हाइहाइ थियो । उनले जहाँभन्यो त्यही भोट हाल्न ठूलो संख्यामा जनता तयार थिए । तर, ५ बर्षपछिको अवस्था बिल्कुलै परिवर्तन भएको छ । एमालेबाट जितेका काठमाडौंका मेयर सुपरफ्ल्प मात्र भएका छैनन् । उनले काठमाडौंबासीलाई निरास पनि बनाएका छन् । केपी ओलीको राष्ट्रबादी डंका पनि बिर्सनलायक बनिसकेको छ ।
ठूला ठूला चुनावी घोषणा गरेर पुरा नगरेको एमालेसँग नयाँ र विश्वासिला एजेन्डा छैनन् । पहिला राम्रो काम गरेपनि विवादीत र हावादारी छवी बनाएका केशव स्थापितलाई काठमाडौंका जनताले किन पत्याउने भन्ने प्रश्न उब्जिएको छ । कांग्रेस पनि फरक ड्याङको होइन । त्यसकारण ६० हजारभन्दा बढी स्वतन्त्र भोटर्श रहेको काठमाडौं महानगरको चुनावमा बालेनको र्याप सबैकालागि श्रवणिय हुनसक्छ । उनलाई अरु धेरै सेलिब्रेटीहरुले पनि भोट माग्न थालेका छन् । निर्मल शर्मा, स्वस्तीमा खड्का, निश्चल बस्नेत, हेमन्त शर्मा उनलाई जिताउन भोट भाग्दैछन् ।
काठमाडौंका जनता अन्यत्रकाकोभन्दा ‘बोल्ड डिसिजन’गर्न माहिर रहेको इतिहासले बताउँछ । त्यसकारण चुनाव जित्नकालागि जनतामाझ गएर ब्यवहारिक प्रतिवद्धता गर्नु र उनीहरुलाई विश्वासमा लिनु चाहिँ पर्छ नै ।