कार्यविधि विपरित मौखिक परीक्षामा विज्ञकोरुपमा ‘अयोग्य’ सहभागी
‘उपप्राध्यापक पदका लागि प्राध्यापक एवं सहप्राध्यापक वा सो सरहका विषय विज्ञ र प्राध्यापक सहप्राध्यापक पदहरुका लागि प्राध्यापक वा सो सरहका विषय विज्ञ मात्र विशेषज्ञ बन्न सक्नेछन् ।’
विश्वविद्यालयहरुमा उपप्रध्यापक, सहप्राध्यापक र प्राध्यापक छनोटका लागि तोकिएको कार्यविधि हो यो । तर, कार्यविधि विपरीत मध्य पश्चिम विश्वविद्यालय सेवा आयोगले आमसञ्चार र पत्रकारिता विषयको उप–प्राध्यापक पदकोे मौखिक परीक्षामा विज्ञकोरुपमा अयोग्य व्यक्तिलाई बोलाएको पाईएको छ । गत चैत १० गते भएको मौखिक परीक्षा प्रभावित पार्नका लागि अन्तर्वार्ता टोलीमा अयोग्य व्यक्ति बोलाईएको हो ।

ति अयोग्य व्यक्ति हुन्, नेपाल पत्रकार महासंघ, न्युनतम पारिश्रमिक निर्धारण समिति र नेपाल टेलिभिजनको प्रमुखमा राजनीतिक नियुक्ती खाईसकेका महेन्द्र विष्ट (विद्यावारिधि) । विष्ट पत्रकार त हुन् । तर, विश्वविद्यालयमा आमसञ्चार र पत्रकारिता पढाउने सहप्राध्यापक, प्राध्यापक होइनन् । उनको विद्यावारिधि समेत महेन्द्र संस्कृत विश्वविद्यालयबाट हो । जब कि विश्वविद्यालयको कार्यविधिमा उपप्राध्यापक पदका लागि प्राध्यापक वा सहप्राध्यापक वा सो सरहका विषय विज्ञ बोलाउन सकिने भनी स्पष्ट उल्लेख गरिएको छ । कार्यविधि अनुसार विष्टको योग्यता पुग्दैन् ।
मध्य पश्चिम विश्वविद्यालय सेवा आयोगले २०७५ साल फागुन २३ गते उपप्रध्यापक र अन्य कर्मचारीको पद पूर्तिका लागि गोरखापत्र दैनिकमा विज्ञापन प्रकाशित गरेको थियो । त्यही विज्ञापन अनुसार गरिएको लिखित परीक्षाको नतिजा प्रकाशित भएपछि आयोगले मौखिक परीक्षालाई प्रभावित पार्ने उद्देश्यले अन्तर्वार्ता टोलीमा अयोग्य व्यक्ति बोलाईएको हो ।
आयोगले मौखिक परीक्षाको विज्ञको रुपमा त्रिभुवन विश्वविद्यालयका सहप्रध्यापक बद्रिप्रसाद पौडेल र पत्रकारिता तथा आम सञ्चार विषयको सहप्राध्यापक, प्राध्यापक नरहेका विष्टलाई बोलाएको थियो । उपप्राध्यापकका दावेदार त्रिभुवन बिसीलाई अन्तर्वार्तामा पास गराउनका लागि योजनावद्ध रुपमा कार्यविधि अनुसार योग्यता नपुग्ने विष्टलाई विशेषज्ञका रुपमा बोलाईएको जानकारको भनाइ छ ।
बिसी र विष्ट नेकपा (एमाले) निकट पत्रकारहरुको सञ्जाल प्रेस चौतारी नेपालमा सक्रिय रुपमा आवद्ध छन् । मध्य पश्चिम विश्वविद्यालय सेवा आयोगकी अध्यक्ष प्रा. डा. भारती जोशीले पनि २०७७ चैत्र ३० गते एमालेको कोटाबाट अध्यक्षको जिम्मेवारी पाएकी हुन् । त्यसैले सेवा आयोगले अन्तर्वार्ता प्रभावित पारेर पार्टीगतरुपले एमाले नजिक रहेका त्रिभुवन बिसीलाई उपप्राध्यापकको स्थायी पदमा नियुक्ती दिनका लागि सेवा आयोगको कार्यविधि मिचेर विज्ञकोरुपमा सहभागी हुने कुनै आधार नभएका विष्टलाई बोलाईएको हो । बिसी अहिले पनि प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य छन् ।
‘सेटिङ’ मार्फत अन्तर्वार्तामा अयोग्य विष्ट बोलाएर मौखिक परीक्षामा पास गराईका बिसी आफ्नै विद्यार्थीमाथि यौनहिंसा गरेको आरोप र अभद्र व्यवहार कसुरमा १० हजार रुपैयाँ जरिवाना तिरेका व्यक्ति हुन् । उनले सुर्खेत जिल्ला प्रशासन कार्यालयमा जरिवाना तिरेका हुन् ।