२१ जनाबाट ६ सय ७२ थान मोवाइल र ६० वटा ल्यापटप बरामद
अध्यागमन (इमिग्रेसन) विभागले काठमाडौंको बाँसबारीमा सिङ्गो घर नै भाडामा लिएर अवैध कार्य गरिरहेका २१ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । अवैध कार्यमा संलग्न ती चिनियाँ नागरिकहरुलाई विभागले अस्ति शुक्रबार अर्थात ९ बैशाखमा नियन्त्रणमा लिएको हो ।
अध्यागमन उच्च स्रोतका अनुसार पक्राउ परेका २१ जना चिनियाँहरुको साथबाट ६ सय ७२ थान मोवाइल र ६० वटा ल्यापटप बरामद भएका भएका छन् । जसमा सबै ‘एप’ हरु चिनियाँ भाषाका ‘डाउनलोड’ गरिएको छ । चिनियाँहरु पक्राउ परेको घरबाट एनसेल र एनटिसीका सिम मात्र १ बोरा बढी बरामद भएका अध्यागमन स्रोत बताउँछ ।
स्रोतका भनाइमा पक्राउ चिनियाँहरुले नेपाली भूमि प्रयोग गरेर आफ्नै मुलुक चीन, भारत, पाकिस्तान, ताइवान, हङकङलगायत देशमा अवैध नेटवर्क विस्तार गरी अनलाइन ठगी गरिरहेका थिए । प्रारम्भिक अनुसन्धानबाट उनीरुले दैनिक करोडौंको ठगी गरिरहेका देखिएको छ । तर, उच्च स्तरको अनुसन्धान गर्नु पर्ने भएकाले अहिले नै उनीहरुले यति नै ठगी गरे । यस्तै काम गरिरहेका थिए भनेर ठोकुवा गर्न हतार हुने स्रोतको भनाइ छ ।
अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले ठूलो संख्यामा चिनियाँ नागरिकहरु पक्राउ परेको स्वीकार गरे । पक्राउ भन्दा पनि उनीहरुलाई सोधपुछका लागि लिएर आएको भट्टराई बताउँछन् । उनीहरुलाई अहिले जिम्मा जमानीमा छाडिएको उनको भनाइ छ । खोजेको बेला उपस्थित गराउने गरी अहिले कोही नेपाली नागरिकले नै जिम्मा जमानी लिएकाले छाडिएको महानिर्देशक भट्टराईले बताए ।
‘उनीहरुमाथि हामी थप अनुसन्धान गरिरहेका छौं । मलाई रिपोर्ट भए अनुसार एक जनाको एक वर्षदेखिको भिसा अवधी सकिएको छ । उहाँलाई त्यहीँ कानून अन्र्तगत निष्कासनको कारवाही प्रकृया अघि बढाइएको छ’, महानिर्देशक भट्टराई भन्छन्, ‘अरु चाहिँ धेरै विजनेश भिसा लिएको मान्छेहरु हुनुहुन्छ । उहाँहरुले गरेको काम त्यो भिसा लिएको प्रकृति अनुसार हो कि होइन भन्ने कुरामा सम्बन्धित निकायहरुसँग पनि सहकार्य गरेर अनुसन्धान सुरु गरेका छौं ।’
पक्राउ चिनियाँबाट भारी मात्रामा मोवाइल र सिम बरामद भएको पनि महानिर्देशक भट्टराईले स्वीकार गरे । ‘हो, उनीहरुबाट सामग्रीहरु ठूलो मात्रा बरामद भएको छ । त्यसैले अध्यागमन कानूनले लिगल (वैधानिक), इलिगल (अवैधानिक) के हो चिन्दछ । जस्तो भिसाको म्याद (अवधी) सकिएकोलाई निष्कासनको प्रकृया अघि बढाएका छौं । अरुलाई अनुसन्धानको बेलामा, खोजेको बेलामा उपस्थित गराउने गरी जिम्मा जमानीमा छाडेका छौं । यो मान्छेको कुरा भयो’, भट्टराई थप्छन्, ‘उहाँहरुले गर्नु भएको काम दर्ता गराउनु भएको विजनेशसँग मिल्ने हो कि नमिल्ने हो ? त्यो हेर्ने छुट्टै निकाय छ । उहाँहरुले क्रिमिनल (अपराधिक) काम गरेको हो कि होइन भनेर हेर्ने प्रहरीको छुट्टै निकाय छ । एकभन्दा बहुनिकायमा समन्वय गरेर काम गर्नु पर्ने भएकाले अनुसन्धानमा केही दिन लाग्छ । त्यतिन्जेललाई एक हिसावले हाम्रो तारेखमा हुनुहुन्छ । अनुसन्धान अघि बढ्दैछ ।’