काठमाडौं, १५ वैशाख
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले काठमाडौं महानगरपालिकामा एमालेबाट उम्मेदवार बनेका केशव स्थापितको गेम इज ओभर भएको बताएका छन् ।
काठमाडौं महानगरमा गठबन्धनको तर्फबाट मेयरको उम्मेदवारी दिएकी कांग्रेस नेतृ सिर्जना सिंहको प्रतिबद्धता सार्वजनिक कार्यक्रममा बोल्दै महतले स्थापितको हार निश्चित भएको बताएका हुन् ।
‘स्थापित जी नोमिनेसन गरेर निस्किँदा मैले सुन्दै थिएँ, गेम इज ओभर रे । म भन्छु, उहाँको गेम इज ओभर । अब बागमतीमा धेरै पानी बगिसकेको छ । फेरि फर्केर आउने सपना नदेखे हुन्छ,’ महतले भने ।
एमाले अध्यक्ष केपी ओली र स्थापितलाई लक्षित गरेर उनले राजनीतिलाई मनोरञ्जनको साधन नबनाउन आग्रह गरे ।
काठमाडौं महानगर कांग्रेसले जित्नु भनेको ५० वटा अरु नगरपालिका जिते बराबर हुने उनले बताए । सिर्जना सिंहलाई मत दिएर जिताउन आग्रह गर्दै उनले भने, ‘अरुले कुरा गर्ने तर, नेपाली कांग्रेसले काम गर्छन् । त्यसैले काम गर्ने पार्टीलाई निर्वाचित गर्ने समय आएको छ ।’
काठमाडौं महानगरको प्रमुख हाम्रो मान्छे नहुँदा पीडा भोगेका छौं : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं महानगरपालिको प्रमुख आफ्नो मान्छे नहुँदा निकै पीडा भोगेको बताएका छन् । काठमाडौं जिल्लाबाट निर्वाचित थुप्रै कांग्रेस सांसद्हरूले काठमाडौं महानगरमा नेपाली कांग्रेसको प्रमुख नहुँदा निकै पीडा भोगेको बताए ।
‘काठमाडौंमा हामीले धेरै सांसद् भएर पनि काम गर्न सकेनौं । काठमाडौं महानगरपालिकाको मेयर हाम्रो मान्छे भएको भए पाँच वर्षमा धेरै काम गर्न सकिन्थ्यो । तर, नहुँदाको पीडा हामीले भोगेका छौं,’ थापाले भने ।
काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई अत्यधिक मतले निर्वाचित गराउन अनुरोध गर्दै उनले भने, ‘उहाँले कुनै नौला सपना देखाउनु भएको छैन । दिनहुँ तपाईं हामीले देखेको र भोगेको पीडालाई समाधान गर्ने उहाँको संकल्प छ ।’
सिर्जना सिंहबाट कुनै चमत्कार नेदख्न अनुरोध गर्दै अघिल्लो पटक सूर्यमा भोट हालेका मतदातालाई समेत यसपटक सिर्जना सिंहलाई मतदान गर्न अपिल गरे ।
आफू पाँच वर्षमा स–साना काम गर्न नपाएर छट्पटाएको मान्छे भएको भन्दै थापाले भने, ‘हामी महानगरसँग सहकार्य गरेर स–साना काम गर्न आतुर छौं । त्यसका लागि पनि हामीलाई उहाँलाई भोट दिनै पर्छ ।’ न्युज कारखाना