नारद र प्रकाशको चुनावी गीत
अभिनेता नारद खतिवडा चुनावी गीत लिएर आएका छन् । जितियो भने लुटिन्छ, हारियो भने कुटिन्छ उनको गीतको स्थायी हरफ हुन् । गीतको मुल ‘थिम’ पनि यही नै हो । यही गीतलाई भिडियोमा उतार्दा रमाईलो बनेको छ, सामाग्री ।

नारद खतिवडा निकै समयदेखि गुमनाम थिए । त्यही भएर पनि हुनसक्छ यस पटक उनी रमाईलो चुनावी गीत मार्फत आएका छन् । नारदले यस चुनावी गीतमा विभिन्न पात्र भएर अभिनय गरेका छन् भने गीत पनि गाएका छन् । उनी यस भिडियोका निर्माता समेत हुन् ।

नारदको गीतमा चुनावी माहोल छ । त्यस माहोलमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा छन् । एमाले अध्यक्ष केपी ओली पनि छन् । त्यसैगरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एसका अध्यक्ष माधव नेपालदेखि जनमोर्चाका चित्रबहादुर केसीसम्म छन्, नारदको चुनावी भिडियोमा । यी पात्र मार्फत उनले आफ्नो कलाकारिता प्रदर्शन गरेका छन् ।
यस चुनावी गीत मार्फत नारद मात्रै आएका छैनन् । उनीसँगै अर्का पात्र प्रकाश ओझा पनि गुमनामी मेटाउन आएका छन् । प्रकाश यस गीतका संगीतकार र भिडियोका निर्देशक हुन् । त्यसैगरी भिडियोमा मधेसीमुलका पत्रकार समेत बनेका छन् उनी ।

नारद खतिवडालाई पछिल्लो पुस्ताले सायद चिन्दैन । तर, बीचको छिमलले भने हाँस्यकलाकारको रुपमा राम्रैसँग चिन्दछ । यो गीत उनलाई चिन्ने वा नचिन्ने दुवै पुस्ताले हेरेर रमाईलो मान्नेछ । समग्रमा गीत रमाईलो बनेको छ । हाम्रो चुनाव, यसप्रतिको अपेक्षा, यसको परिणाम र संदेशलाई भिडियोले जस्ताको त्यस्तै उतार्ने प्रयास गरेको छ ।
गीत मार्फत जहाँ जहाँ बाँण चलाउन खोजिएको हो, नारद र प्रकाशको निशाना सही बिन्दुमा लाग्ने पक्का छ ।