प्रहरी महानिरीक्षक बढुवाः जसलाई फुली लगाई दिए, उनैलाई स्यालुट !

शेरबहादुर देउवा नेतृत्वको सरकारले अन्ततः जेष्ठताको वरियता मिचेर तेस्रो नम्वरका एआईजी  धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको छ । १८ महिना अघि नै एआईजी बढुवा भएर १ नं. रहेका विश्वराज पोखरेल र १० महिना अघि बढुवा भएका सहकुल थापालाई पछि पार्दै सिंह महानिरीक्षक नियुक्त भएका हुन् । ऐनमै उल्लेख जेष्ठताको रोलक्रम मिचेर प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहलाई महानिरीक्षक नियुक्त गरेका छन् ।

ठिक एक महिना अघि १७ चैत्र बिहान बसेको मन्त्रिपरिषद् बैठकले बसन्त पन्त, सिहं र धानुकलाई एआईजीमा बढुवा गरेर त्यही दिन हतार–हतार प्रहरी प्रधान कार्यालयले दर्ज्यानी चिन्ह लगाई दिइको थियो । पन्त, सिंह र धानुकलाई नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र वरिष्ठता क्रममा एक नम्वरमा रहेका एआईजी (प्रहरी अतिरिक्त नायव महानिरीक्षक) विश्वराज पोखरेलेले दर्ज्यानी चिन्ह लगाई दिएका थिए ।

रोचक के भने जेष्ठताको रोलक्रम मिचेर कनिष्ठ एआईजीलाई आईजीपी बनाएकामा कानूनी उपचार खोजेनन् वा राजीनामा दिएनन् भने विश्वराज पोखरेलले आफैंले दर्ज्यानी चिन्ह लगाई दिएका सिंहलाई स्यालुट गर्नु पर्ने भएको छ । किनकी डेढ वर्षअघि बढुवा भएका पोखरेल र १० महिना अघि एआईजी भएका सहकुलबहादुर थापालाई पन्छ्याउँदै देउवाले सिंहलाई आईजीपी नियुक्त गरिसकेका छन् ।

गृह मन्त्रायले जेष्ठतामा पहिलो नम्बरमा रहेका पोखरेललाई आईजीपीका लागि सिफारिस गरेको थियो । तर, प्रधानमन्त्री देउवाले नै हस्तक्षेप गरेर सिंहलाई नियुक्त गरेका हुन् । आर्थिक लेनदेनमा सिंह महानिरीक्षक नियुक्त हुँदैछन् भनेर नेपालमुहार डटकमले बिहान सात बजे नै समाचार प्रकाशित गरिसकेको छ ।

२३ करोड रुपैयाँमा कनिष्ठलाई प्रहरी महानिरीक्षक बनाउने घिन लाग्दो खेल ! वरिष्ठहरु हेरेका हेर्यै ! – नेपाल मुहार (nepalmuhar.com)

प्रधानमन्त्री देउवाको रूची र चाहनाअनुसार सुदूरपश्चिम प्रदेशका दैलेख जन्म थलो भएका सिंह नियुक्त भएका हुन् । आज बिहान बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले भने वरीयताक्रम अनुसार नै आइजीपी नियुक्त गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिएका थिए । बैठकमा आईजीपी नियुक्तिको विषयमा छलफल भएको थियो । छलफलको क्रममा वरीयताक्रम अनुसार पोखरेललाई नै नेपाल प्रहरीको आईजीपीमा नियुक्त गर्न सुझाव दिइएको थियो ।

गठबन्धन बैठकमा सहभागी गृहमन्त्री बालकृष्ण खाँण र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले वरिष्ठता क्रम अनुसार पोखरेललाई नै आईजीपी बनाउनुपर्ने अडान लिएका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवा सिंहलाई नै आईजीपी बनाउने अडानमा दिए । नभन्दै देउवाले गठबन्धनका सहकर्मीको सुझावलाई नै उपेक्षा गरेर सिंहलाई काखी च्यापेका छन् ।

अब हेर्न बाँकी छ, एआईजी विश्वराज पोखरेल प्रधानमन्त्री देउवाले प्रहरी ऐनमा उल्लेख वरिष्ठता मिचेर गरेको नियुक्तीलाई टुलुटुलु हेरेर आफैंले दर्ज्यानी चिन्ह लगाई दिएका पात्र सिंहलाई स्यालुट हान्छन् ? कानूनी बाटो रोज्छन् वा राजीनामा दिन्छन् ?

पोखरेलसँग रहेका यी तीन विकल्पमा उनी र अर्का वरिष्ठ एआईजी सहकुल थापाले कानूनी बाटो अख्तियार गर्ने तयारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *