भक्तपुर अस्पतालमा मे.सु. (मेडिकल सुपरिडेन्डेन्ट) को ‘आतंक’

‘६२ जना स्टाफ’ लाई तीन महिनादेखि तलव दिएका छैनन् । तर, आफू अनुकूल भर्ती गर्न अन्तर्वार्ता लिँदै ।

भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मे.सु.) डा. श्रीधर अर्यालले अस्पतालभित्र आतंक खडा गरेका छन् । बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री, स्वास्थ्य सचिव र एक जना मेडिकल बिचौलियासँगको मिलेमतोमा मेसु अर्यालले अस्पतालमा आतंक मच्चाएका हुन् । भक्तपुर अस्पताल बाग्मती प्रदेश सरकार मातहत छ ।

मे.सु. अर्यालले पुराना कर्मचारी एवं ‘स्टाफ’ हरुलाई निरुत्साहित र हतोत्साहित गर्दै जागिरबाट पाखा लगाउने नियतले आफ्ना आसेपासे नियुक्त गर्न अन्तर्वार्ताको नाटक मञ्चन गरेका हुन् । मन्त्री, सचिव, बिचौलिया र मेसु अर्यालले आफू अनुकूल पात्रहरुलाई जागिर खुवाउन स्थानीय निर्वाचन आचार संहिताको समेत धज्जी उडाउँदै कर्मचारी भर्ना गर्न अस्ति १६ र हिजो १७ बैशाखमा अन्तर्वार्ता लिएका छन् ।

अस्ति २५ चैत्र राती १२ बजेदेखि निर्वाचन आचार संहिता लागू हुँदै थियो । तर, आफ्ना आसेपासेलाई नियुक्त गर्नका लागि २४ चैत्रमा कर्मचारी आवश्यकताको सूचना जारी गरियो । अनि हिजो र अस्ति अन्तर्वार्ता लिइएको छ । जब कि संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाकालमा नियुक्त गरिएका ‘स्टाफ’ मध्ये ७५ प्रतिशत कटौती गरी २५ प्रतिशत मात्र राख्न परिपत्र गरेको छ । मे.सु. अर्यालले केही समय पहिले ६ जना स्टाफ नर्सलाई जागिरबाट निकालेका थिए । अरु ६५ जनालाई निकाल्ने तयारी गरेका थिए ।

निकालिएका ६ जना स्टार्फ नर्स र उनीहरुका परिवारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नर्सिङ्ग काउन्सिल, एशोसियसन, स्वास्थ्य मन्त्रालयलगायतमा उजुरी दिएपछि जागिर थमौती भएको छ । तर, कोभिड महामारीको पहिलो र दोस्रो लहरमा राखिएका सहित ६२ जना कर्मचारीलाई अर्यालले बजेट अभावको कारण देखाउँदै तीन महिनादेखि तलव दिएका छैनन् । पुरानै कर्मचारीलाई तलव नदिएका मे.सु. अर्यालले नयाँ कर्मचारीका लागि भने २४ चैत्रमा विज्ञापनको औपचारिकता गरेर अन्तर्वार्ता लिएका हुन् । जानकारका अनुसार मे.सु. अर्यालले वागमती प्रदेशका स्वास्थ्य मन्त्री, सचिव, बिचौलिया र आफ्ना समेत गरी १५ देखि १८ जना कर्मचारीलाई जागिर खुवाउने गरी अन्तर्वार्ताको नाटक मञ्चन गरेका छन् ।

कोभिड–१९ को पहिलो लहरमा बिरामीको चाप धान्न एवं आइसियुको व्यवस्थापन गर्न भक्तपुर अस्पतालले ५ जना डाक्टर, १२ जना नर्स र ८ जना कार्यालय सहयोगी राखेको थियो । दोस्रो लहरमा ४ जना डाक्टर, १० जना नर्स र १० जना कार्यालय सहयोगी थपेको थियो । कर्मचारी राख्दा लोक सेवा आयोगले लिने प्रकृया अनुसार ति डाक्टर, नर्स र कर्मचारीहरु राखिएका थिए । कोभिडको तेस्रो लहर बढ्दै गएपछि १० जना कर्मचारीहरुलाई रित अनुसार लिखित\मौखिक परीक्षा लिएर प्रतिक्षा सूचीमा राखिएको थियो । तर, कोरोनाको तेस्रो लहर घट्दै गएकाले उनीहरुलाई सेवामा राखिएन । । मे.सु. अर्यालले प्रतिक्षा सूचीमा रहेकाहरुलाई नै निरन्तरता दिनुको साटो फेरि नयाँ विज्ञापन खुलाएर आफू अनुकूल भर्ना प्रकृया अघि बढाएका हुन् ।

तस्बिर-विजय मल्ल

‘भक्तपुर अस्पतालमा मे.सु. अर्यालले आतंक नै मच्चाएका छन् । उनले बागमती प्रदेशका मन्त्री, सचिव र बिचौलियाका सूची अनुसार कर्मचारी भर्ना गर्ने योजनामा निर्वाचन आचार संहिता समेत उल्लंघन गरिरहेका छन्’, स्रोतको भनाइ छ, ‘उनले कर्मचारीहरुलाई दुःख दिन पनि कुनै कसर बाँकी राखेका छैनन् ।’

नेपालमुहार डटकमले मोवाइल सम्पर्क गर्दा डा. अर्यालले उठाएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *