३० बैशाखमा हुने स्थानीय निर्वाचनको माहोल बन्दै गइरहेको छ । तर, अपवाद बाहेक कुनै पनि उम्मेदवारको पक्षमा जनलहर सृजना भएको देखिदैन । काठमाडौं महानगरकालागि मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका बालेन शाह भने अपबाद भएका छन् । र्यापर बालेनको पक्षमा सामाजिक सञ्जाल राम्रैसँग सक्रिय भएको देखिन्छ ।
एकथरी मानिस भन्छन् ‘बालेनले अलीअली भोट ल्याएपनि एमाले–कांग्रेस जस्तो ब्रान्डलाई हल्लाउन सक्दैनन् ।’ अर्कोथरी भन्छन् ‘सही समय भएकाले बालेनले उछिट्याउन सक्छन् ।’ यी दुई मुल तर्कका पछाडि कति छ, सत्यता ?
काठमाडौं निर्वाचनको विगत नियाल्ने हो भने धेरै परिणामहरु अप्रत्यासित भएका छन् । वर्तमानमा बालेन शाहप्रति लहर सुरु हुनुको पछाडि विगतको पुनराबृत्ति त हुन खोजेको होइन ? यसको पछाडिका कारण के–के हुन सक्छन् ? आजको भिडियो यही विषयमा केन्द्रीत हुनेछ ।
यस्ता छन् बालेन लहरका ९ कारण
१. सेलिब्रेटी छवी
बालेन शाहको वास्तविक नाम बालेन्द्र शाह हो । आयुर्वेदिक चिकित्सक डा. राम नारायण शाह र ध्रुवदेवी शाहका छोरा हुन् उनी । ३१ बर्षे युवा बालेन र्याप गीत गाएर सेलिब्रेटी बनेका हुन् ।
बालेनले आफ्ना गीतमा नेपाली समाजकै चित्रण गर्ने गरेका छन् । राजनीतिको कुरुप पाटोलाई नै उजागर गरेर चेतना छर्ने कोशिस गरेका छन् । उनले निकैवटा यस्ता गीत गाएका छन् र ती गीतलाई दर्शक तथा स्रोताले मन पनि पराएका छन् । बालेन र्यापर, म्युजिक कम्पोजर, गीत लेखक र निर्देशक समेत हुन् ।
२. अनुभवी इन्जिनियर
बालेन खासमा इन्जिनियर हुन् । सुरुमा उनी सिभिलइन्जिनियर हुन् र मास्टर्श गरेपछि भने स्ट्रकचरल इन्जिनियर भए । उनले ठूलो संख्यामा घरको नक्सांकन गरेका छन् । त्यसैगरी भुकम्पपछि उनले २ हजारभन्दा बढी घरको क्षती मूल्यांकन गरेका छन् । इन्जिनियरिङमा पनि उनको गहिरो अनुभव रहेको छ । साथै नामी निर्माण कम्पनीहरुमा नेतृत्वदायी ढंगले काम गरेको पनि उनले अनुभव संगालेका छन् ।
३. ६२ हजार स्वतन्त्र भोट
२०७४ सालको निर्वाचनमा दुई उम्मेदवार रञ्जु दर्शना र किशोर थापाले झन्डै ४२ हजार भोट पाएका थिए । त्यसमा यस पटक २१ हजार नयाँ मतदाता थपिएका छन् । यो पनि जोड्दा ६३ हजार जति हुन्छ । यी भोटर्शले अघिल्लो चुनावमा एमाले–कांग्रेसलाई भोट हालेका छैनन् । यस अर्थमा स्वतन्त्र भनिएको हो । बालेनको मुल आधार भोट पनि यही नै हो ।
४. प्रतिद्धन्दी पार्टीका उम्मेदवारमा चार्म छैन
२०७४ को स्थानीय निर्वाचनमा ६४ हजार ९ सय मत ल्याएर एमालेका विद्यासुन्दर शाक्यले जितेका थिए भने कांग्रेसका राजुराज जोशीले ४५ हजार २ सयमा चित्त बुझाउनु परेको थियो । माओवादी पार्टीले पनि सातहजार मत कटाएको थियो ।
तर, ५ बर्षमा पार्टीका प्रतिनिधिले देशभरी गरेका निकम्मा कामका कारण जनतामा बितृष्णा फैलिएको छ । काठमाडौंको हकमा त्यो अझ बढी छ । घोषणा पत्रमा उल्लेख गरेका काम एउटा पनि नगर्ने र गरेका काम पनि नकारात्मक ढंगले सम्पन्न गरेपछि मेयर विद्यासुन्दर शाक्य बदनाम नै भए ।
हालका एमाले उम्मेदवार केशव स्थापित प्रदेश मन्त्रीबाट बर्खास्तीमा परेका र उनलाई महिला हिंसाको दोष लागेको छ । हावादारी योजना सुनाउने परिचय पनि उनले बनाएका छन् । उनले पनि यिनै तर्कको खण्डनमा समय बिताउनु पर्ने देखिन्छ । ९ पटक पार्टी परिवर्तन गरेका उनको सोच अवलाई थोत्रो भइसकेको धेरैको निश्कर्ष छ ।
कांग्रेसले महिलालाई मौका दिएको कुरालाई जसको रुपमा लिन खोजेको देखिन्छ । तर, म प्रकासमानकी श्रीमती भएर होइन, सक्रिय राजनीतिमा नै थिएँ लगायतका तर्क राखेरै समय सकाउनु पर्ने अवस्था छ, सृजना सिंहको पनि ।
५. साख गुमाएको एमाले
५ बर्षे कार्यकालको दौरानमा एमालेले काठमाडौं महानगरका जनतालाई निराश बनाएको छ । मेयर विद्यासुन्दर शाक्य निकम्मा सावित भएका छन्, जनताको मनमा । सामाजिक सञ्जालले यही भन्छ ।
एमालेले विद्यासुन्दर शाक्यलाई नदोहोर्याएर उनीभन्दा पुराना केशव स्थापितलाई ल्याउनुको अर्थ के हो ? विद्यासुन्दरले सही काम नगरेको हुनाले यदी उनलाई पुन टिकट नदिएको हो भने पार्टीले जनताकाबीच माफी माग्नु पर्ने होइन र ? राम्रो गरेको हो भने दोहोर्याउन किन कन्जुस्याइँ ? यो आम प्रश्न हो ।
अर्को कुरो अघिल्लो चुनावमा एमालेका अध्यक्ष केपी ओली हाइहाइ थिए । उनले जहाँभन्यो त्यही भोट हाल्न ठूलो संख्यामा जनता तयार थिए । तर, ५ बर्षपछिको अवस्था बिल्कुलै परिवर्तन भएको छ । ओलीको राष्ट्रबादी डंका पनि बिर्सनलायक बनिसकेको छ ।
६. सेलिब्रेटीहरुको साथ
अभिनेत्रीहरु प्रियङ्का कार्की, निशा अधिकारी, नम्रता श्रेष्ठ, स्वस्तिमा खड्का, निर्देशक दिपेन्द्रके खनाल, निश्चल बस्नेत, अभिनेताद्धय निर्मल शर्मा, अभिनेता तथा पाइलट विजय लामा बालेनको पक्षमा खुलेका छन् । गायनबाट राजेशपायल राई, इन्दिरा जोशी र हेमन्त शर्मा अनि चलचित्र निर्माताद्धय माधव वाग्ले र सन्तोष सेन पनि उनको पक्षमा खुलेका छन् । परिवर्तनका संभाहकद्धय डा. महाबीर पुन र डा. सन्दुक रुहितले पनि बालेनकै पक्षमा मत जाहेर गरेका छन् । सञ्चारकर्मी रवी लामिछाने पनि बालेनको पक्षमा खुलेका छन् ।
क्रिकेटका पूर्व कप्तान पारस खड्का र पूर्व सचिव भिम उपाध्याय उनैतिर लागेको देखिन्छ । नाम चलेका धेरै गायक/गायिकाहरु पनि उनको पक्षमा भोट मागेर हिड्न थालेका छन् । पार्टीमा नलागिसकेका कलाकारहरु क्रमशः बालेनको पक्षमा खुल्दै गएको देखिन्छ । यतिवेला पन्ध्रसयभन्दा बढी स्वयंसेवक पाएका छन्, बालेनले ।
७. आधुनिक एजेन्डा
बालेनसँग फरक एजेन्डा छन् कि छैनन् ? तर आधुनिक र समयसापेक्ष चाहिँ छन् नै । ‘ई’ सरकार बनाउँछु भन्छन् उनी । अर्थात इन्टरनेट मार्फत चल्ने नगर । यसको अर्थ गहिरो पनि छ । रात्रीकालीन दुनिया बनाउने उनको अर्को सोच हो । दुई सिफ्टमा काम गर्ने परिपाटीको विकास गर्ने पनि भनेका छन् । यी र यस्ता एजेन्डाले उनी आधुनिक लाग्छन् ।
८. सामाजिक सञ्जाल र टेलिभिजनमा सुपरहीट
पछिल्लो समय बालेनकै अन्तर्वार्तामा धेरै भिजिटर देखिन्छ । शीर्ष भनिएका नेताको अन्तर्वार्तामा न्यून भिजिटर र बालेनसँगको संवादमा लाखौं भिजिटर हुनुले उनीप्रतिको क्रेज प्रष्ट हुन्छ । सामाजिक सञ्जालमा पनि बालेनको पक्षमा खुलेर देखिनेहरु धेरै हुन थालेका छन् । टिकटक र ट्वीटरमा पनि उनी अतुलनीय अगाडि छन् ।
९. काठमाडौंको ‘नेचर’ उलटपुलट गर्ने खाले
सर्बमान्य नेता गणेशमान सिंहले काठमाडौंका जनता भेडा हुन् भनेको कुरा सदावहार भएको छ । हो, काठमाडौंका जनता अन्यत्रकाकोभन्दा ‘बोल्ड डिसिजन’गर्न माहिर रहेको इतिहासले बताउँछ । नानी मैया दाहाल, गोल्छे सार्कीहरुको जीतमा समेत काठमाडौंले उल्लेख्य संदेश दिएको थियो । तत्कालीन ह्याबिवेट प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई मदन भण्डारीका केही भाषण सुनेको भरमा हराउने निर्णय पनि चानचुने थिएन । यस्तो अपेक्षा यस पटक गर्नै नसकिने भने होइन ।