दुहवी नगरमा स्वतन्त्रका मेयर–उपमेयरको आकर्षक नारा

योजना बैंकदेखि लगानी सम्मेलनसम्मका घोषणा

२०७९ बैशाख ३० मा हुनगईरहेको स्थानीय निर्वाचनमा स्वतन्त्र तर्फ दुहवी नगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारले आकर्षक नारा लगाएर चुनाव प्रचार गरिरहेका छन् । यसरी आकर्षक नारा लगाउने स्वतन्त्र उम्मेदवार हुन् मेयरका भगवत लाल चौधरी र उपमेयरका गीतादेवी चौधरी ।

सुन्सरीको दुहवी नगरका यी मेयर र उपमेयरका प्रत्यासीले फरक र आकर्षक नारा लगाएपछि दुहवीमा उनीहरु चासो र चर्चाको विषय बनेका छन् । उनीहरुको घोषणा पत्र दुहवीमा मात्र होइन, आम उम्मेदवारको घोषणा पत्रको तुलनामा नवीन लाग्छ ।

घोषणा पत्रमा योजना बैंक स्थापना गरेर टोलदेखि नगरसम्मका तत्कालीन र दीर्घकालीन योजनाहरुको ‘बन्डल’ तयार गर्ने भनिएको छ । त्यसपछि नगरभरीका स्वतन्त्र बुद्धिजीवी र बौद्धिक ब्यक्तिहरुको सल्लाहकार टिम बनाएर आगामी योजना तयार गरिने पनि भनिएको छ । जनताले चुनेर पठाएका प्रतिनिधि शासक होइन, जनताका नोकर हुन भन्ने अनुभुत गरेर क्रियाशील होइने पनि घोषणा पत्रमा उल्लेख छ ।

त्यसैगरी कार्यकालको सुरुवातमा नै लगानी सम्मेलन गरेर आर्थिक जोहो गरिने छ र उद्योगधन्दा र कलकारखानाको स्थापना गरिने समेत उल्लेख छ । दुहवी नगरमा औधोगिक क्षेत्रको विकासलाई तिब्रता दिईने पनि घोषणा पत्रमा उल्लेख छ ।

घोषणा पत्रमा भ्रष्टाचार मुक्त सहर बनाउने उल्लेख गर्दै भ्रष्टहरुलाई जनताकोबीचमा भण्डाफोर गरिने उल्लेख छ । ‘एक घर एक स्नातक’को अवधारणा, शैक्षिक धितो लिएर साना उद्योग तथा सीप मुलक कार्य गर्नकालागि वित्तिय संस्थाहरुलाई प्रोत्साहित गरिने, रोग नै लाग्न नदिनकालागि योगा तथा ‘एक्सरसाइज’को निशुल्क ब्यवस्था गरिने, स्वास्थ्यलाई खेलकुदसँग जोडेर स्वास्थ्यकालागि खेलकुदको राष्ट्रिय अवधारणालाई मूर्तरुप दिईने लगायतका नारा पनि घोषणा पत्रमा उल्लेख गरिएको छ ।

मेयरका स्वतन्त्र प्रत्यासी भगवत लाल चौधरी र उपमेयरका उम्मेदवार रिता देवी चौधरीले ‘घर घरमा स्वास्थ्यकर्मी’को अवधारणालाई मूर्तरुप दिन स्वास्थ्यकर्मीको टोलीलाई एम्बुलेन्स् सहित ‘रेडी टु गो’ अवस्थामा राखिने समेत उल्लेख गरेका छन् । त्यसैगरी नयाँ उद्योग तथा कल कारखाना स्थापनामा दुहवीबासीलाई ४० प्रतिसतसम्म लगानीको सुनिश्चितता गरिने उल्लेख छ ।

यस्तै आकर्षक र नवीन घोषणाकै कारण भवगत लाल र गीतादेवीको चर्चा भएको हो । उनीहरुको आकर्षक नारालाई जनताले कसरी पत्याउने हुन् ? त्यो हेर्न भने आउँदो बैशाख ३० कुर्नै पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *