‘भरतपुरमा रुखले हसियाँ हथौडालाई मत नदिने हो भने देश नै दुर्घटनामा पर्छ ।’
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं गठबन्धनकातर्फबाट भरतपुर महानगरपालिकामा मेयरको उम्मेदवार रेणु दाहाल पाठकका ‘बा’ पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजो २२ बैशाखमा दिएको धम्कीयुक्त अभिव्यक्तिको अंश हो यो ।
दाहाल यतिमा मात्र रोकिएनन्, थोरै नै सही, ०७४ को स्थानीय निर्वाचनको स्मरण पनि गरे । उनी भन्दै थिए, ‘०७४ को स्थानीय निर्वाचनमा कांग्रेसका मतदाताले हँसिया–हथौडामा भोट हाल्न गाह्रो मान्दा गठबन्धन टुट्यो । उतिबेला पनि शेरबहादुरजीसँग गठबन्धनलाई १०, १५, २० वर्षसम्म लैजाने गरी छलफल भएको थियो । तर व्यवहारमा सहज नभएपछि चिन्तित भएर वामपन्थी गठबन्धन पो ठीक हो कि भन्ने लागेको हो । अहिले त्यस्तो अवस्था नआओस् ।’
गठबन्धनकातर्फबाट सभालाई सम्बोधन गर्न त्यसको अघिल्लो दिन २१ बैशाखमै नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरु भरतपुर पुगेका थिए । अर्थात दाहाल पुत्री रेणुलाई मत माग्न भरतपुरमा गठबन्धनको कर्कशयुक्त लर्को लागेको थियो ।
आज २३ वैशाखमा निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै भरतपुर महानगरपालिकामा नै भूमिको निस्सा बाँडियो । नेकपा (माओवादी केन्द्र) का स्थानीय नेता एवं भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिना र उपाध्यक्ष नहेन्द्र खड्काले आज बिहानै सुकुमबासी तथा भूमिहीनलाई भूमिको निस्सा बाँडे । निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रत्यक्ष प्रभावित पार्न उनीहरुले भरतपुर–११ गणेशस्थानमा भूमिको निस्सा बाँडेका थिए । यो सब ‘नाटक’ को मञ्चन रेणुलाई जिताउन गरिएको प्रपञ्च हो भन्ने घाम जतिकै छर्लङ्ग भइसकेको छ । तर, रेणुका पक्षमा पल्लाभारी बनाउन जे ‘हर्कत’ गरिँदैछ, उनका पक्षका ‘तना’ भने झन् झन् खुस्किँदैछन् । एउटै जगन्नाथ पौडेलले गठबन्धनको असली धरातल देखाई दिएका छन् ।
थाहा भएकै कुरा हो, सत्ता गठबन्धनको ‘सिण्डिकेट’ लाई चुनौती दिँदै भरतपुर महानगरपालिकाका कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । जो ०५४ को स्थानीय निर्वाचनमा भरतपुर नगरपालिकाको उपमेयर भएका पात्र हुन् भने राष्ट्रियसभाको सांसदसमेत भइसकेका छन् । जगन्नाथ पौडेलेको बागी उम्मेदवारी फिर्ता गराउन २२ बैशाख बिहानसम्म कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उनलाई आफू बसेको होटलमा नै बोलाएर आग्रह गरेका थिए । तर, जगन्नाथले उनको आग्रहलाई फिस्स बनाएर टारिदिए ।
त्यसअघि जगन्नाथलाई मनाउन प्रधानमन्त्री देउवाले आफ्ना भरोसा पात्र गृह मन्त्री बालकृष्ण खाँड र प्रधानमन्त्री कार्यालयकै राज्य मन्त्री उमेश श्रेष्ठलाई खटाएका थिए । उनीहरुले दुई दिन बसेर पहल गर्दा पनि जगन्नाथलाई टसमस गराउन सकेनन् । नेपाली कांग्रेसका एक जना केन्द्रीय सदस्यका भनाइमा जगन्नाथलाई पाँच करोड रुपैयाँसम्म दिने बचन दिइएको थियो । संघीय निर्वाचनमा प्रतिनिधि सभा सदस्य वा राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने आश्वासन पनि दिइएको थियो ।
तर, जगन्नाथले ‘केवल प्रचण्डकी छोरी हुनुको नाताले मात्र रेणुलाई जिताउन भरतपुरका कांग्रेसले पटक–पटक हसियाँ हथौडामा भोट हाल्न सक्तैनन । यो निष्ठावान कांग्रेसको स्वाभिमान विरुद्धको प्रहार हो’ भनेर चुनौती दिए । पैसा र पदको आश्वासन दिँदा पनि केही सीप नलागेपछि खाँडको समूह रित्तो हात काठमाडौं फर्किएको थियो ।
स्मरणीय के भने जगन्नाथ ०४७ सालपछिका चैते कांग्रेस होइनन् । पञ्चायतकालीन कठिन अवधीमा पनि टाउकोमा कफन बाँधेर नुन–पानी खाएर कांग्रेस जोगाएका पुराना पात्र हुन् । अपवादलाई छाडेर यस्ता पात्रको निष्ठा र स्वाभिमान अलि उचो नै हुन्छ । त्यसैले नै सिङ्गो सत्ता गठबन्धनलाई एउटा जगन्नाथले हायलकायल पारिदिएका हुन् । सिङ्गो राज्य सत्ता जगन्नाथका पछि लागेको छ, यतिबेला। चितवनका स्थानीय के भन्छन् भने गठबन्धनलाई ‘ओल्लो घाट न पल्लोतिर’ बनाई दिन निर्वाचनको अन्तिममा एमालेले जगन्नाथलाई मत दिन बेर छैन । एमालेले मत दियो भने त जगन्नाथ विजय हुन्छन नै, एमालेले मत दिएन भने पनि उनी रेणु दाहाललाई हराई दिने सामथ्र्य राख्छन् । ०७४ कै पाराले ‘सेटिङ’ मा रेणुलाई मेयर घोषणा गर्नु अलग कुरा हो ।
जानकारका अनुसार सत्ता गठबन्धनले २२ बैशाखमा भरतपुरमा कांग्रेस नेता शेखर कोइरालालाई पनि निम्त्याएको थियो । त्यहाँ जान शेखर मानेनन् । यसपछि गगन थापालाई पनि भनिएको थियो । थापा पनि इच्छुक भएनन् । रामचन्द्र पौडेल भने देउवाको पछि लागेर भरतपुर पुगे । किनभने पौडेललाई तनहुँमा हाल नेकपा (एकीकृत समाजवादी) का तर्फबाट श्रम मन्त्री बनेका किसान श्रेष्ठको डर छ । गठबन्धन टिकी रहे आफू वरिष्ठ नेता हुनुका नाताले तनहुँमा किसान श्रेष्ठलाई पछि पार्न सकिन्छ भनेर पौडेल हौसिएका हुन् ।
पानीभन्दा पातला नेताका अभिव्यक्ति
भरतपुर सभामा बोल्दै प्रधानमन्त्री देउवाले गठबन्धनकै कारण नेपाली कांग्रेसको महाधिवेशनमा आफूले ८२ प्रतिशत मत पाएको जिकिर गरे । अनि गठबन्धनलाई भरतपुरमा जग्गाको अचाक्ली मूल्य वृद्धिसँग लगेर समेत जोडे । । जब कि राज्यको दायित्व मूल्य वृद्धिमा खुशी हुनु होइन, घटाउनु हो । यसबाहेक नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा देउवाले ८२ प्रतिशत मत पाउनु र गठबन्धनको साँइनो के छ ? गठबन्धनका तर्फबाट नै देउवाले कांग्रेस महाधिवेशनमा सभापतिको उम्मेदवारी दिएका थिए ? वा गठबन्धनको आडमा बनेको सत्ताको चरम दुरुपयोग गरेर उनी सभापति निर्वाचित भएका हुन् ? देउवाले गठबन्धनबाट प्राप्त प्रधानमन्त्री पदको दुरुपयोग गरेर पार्टीको आन्तरिक महाधिवेशनमा ८२ प्रतिशत मत पाएको खुलासा गरेका हुन् भने त्यो झन् अक्षम्य अपराध हो । उनी वैधानिक नभएर कांग्रेसका किर्ते सभापति हुन् । जसरी रेणु दाहाललाई ०७४ मा भरतपुरको मेयर ‘निर्वाचित’ गराईएको थियो । ।
हिजै डडेल्धुरा पुगेर प्रधानमन्त्री पत्नी आरजु राणाले कांग्रेसले नजितेका नगरपालिकामा बजेट नै नदिने घोषणा गरिन । संयोग के भने डडेल्धुरामा नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति कर्ण मल्लले नेकपा (एमाले) सँग मिलेर गठबन्धन गरेका छन् । जो कुनै समय देउवाकै असली चेलो हुन् । मल्ललाई कांग्रेसले साधारण सदस्यबाटै निष्कासन त गरेको छ । तर, डडेल्धुरामा उनको लोकप्रियतालाई भने निष्कासन गर्न सकेको छैन । जानकारका भनाइमा आरजुको व्यवहारकै परिणाम मल्ल देउवाका बागी बन्न पुगेका हुन् ।
तर, सत्ताको मातमा आरजु ‘म्याडम’ ले बजेट रोकिने चेतावनी दिइरहँदा उनले संविधानको भने ख्याल गरिनन् । किनभने संविधान अनुसार स्थानीय तह स्वायत्त सरकार हुन् । संविधान जारी हुनु अघिका स्थानीय निकाय होइनन् । त्यसमाथि बजेट रोक्छु भनेर धम्की दिने आरजु को हुन् ? भलै, आफूहरुले चाहेमा संविधान, ऐन, नियमावलीलाई खोस्टा बनाउँछौं भन्ने अहंकार आरजुमा पलाएको होस् । शेरबहादुर देउवाको श्रीमती हुनु बाहेक सरकारको प्रवक्ता, अर्थ मन्त्री, अर्थ मन्त्रालयको प्रवक्ता ? कुन हैसियतमा आरजुले बजेट रोक्ने चेतावनी दिएकी हुन् ?
विधि र कानूनको खिल्ली कसरी उडाइन्छ भन्ने सवतु बनिरहेका छन्, नेताहरुका दैनिक अभिव्यक्ति तथा व्यवहार । उनीहरु संविधान, ऐन, नियमावली मिचेर मैमत्त भइरहेका छन् । विधिको खिल्ली उडाईने देशहरुको सूचीमा नेपाल संभवतः संसारकै पहिलो, दोस्रो भित्र पर्ला । प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री दाहालले भरतपुर र देउवा पत्नीले डडेल्धुरामा हिजो दिएका भाषण अभिव्यक्ति स्वतन्त्रताको सन्तुलन गुमाएका दृष्टान्त हुन् । अर्थात भरतपुर र डडेल्धुराका उनीहरुका अभिव्यक्ति पतनका पदचाप हुन् । एमाले अध्यक्ष केपी ओली पनि छुद्र अभिव्यक्तिबाट रौं बराबर मुक्त छैनन् । नेताहरुको यस्तो अभिव्यक्तिले उनीहरुको मत बढ्नुको साटो घटिरहेको छ । हिजोको देउवा, दाहाल र आरजुको अभिव्यक्तिले तत्तत ठाउँमा उनीहरुका पक्षमा २० प्रतिशत मत गुमेको प्रारम्भिक अनुमान गर्न सकिन्छ ।
एउटा जाबो मेयरका लागि देश नै दुर्घटनामा पर्ने, गठबन्धन भत्कने, बजेट रोकिने धम्की नागरिकलाई विवेकी होइन, रैती बन भनेर गरिएको फर्मान हो । जो गुलामहरुका लागि स्वीकार्य होला । विवेकी नागरिकका लागि किमार्थ स्वीकार्य हुन सक्तैन । यस्तो निर्वाचनलाई स्वस्थ्य प्रजातान्त्रिक अभ्यास भन्न पनि सकिँदैन । तर, बिडम्बना के भने नेपाल र नेपालीको को दुर्भाग्य हो वा नियतीको खेल- गए गुज्रेको मानिसकता भएका नेताहरुबाटै शासित हुन अभिशप्त छौं ।
कुनै पनि पार्टीका नेताहरुसँग म यति वर्षमा यसरी देशलाई यो स्तरमा पुर्याउँछु भन्ने लिखित, व्यवस्थित र वैज्ञानिक योजना छैन । उनीहरुमा होस पनि छैन । जोस पनि छैन । होस र जोस नभएकैले उनीहरुले चरम रोष मात्र देखाइरहेका छन् । जो होस्, प्रधानमन्त्रीदेखि पूर्व प्रधानमन्त्री र ‘फष्ट लेडी’ सम्मले जे अभिव्यक्ति दिइरहेका छन्, यो कुरा भने ढुक्कले लेख्न सकिन्छ– २०७९ को स्थानीय तह निर्वाचनको धरातलीय ‘हिरो’ भरतपुरका जगन्नाथ पौडेल र डडेल्धुराका कर्ण मल्ल हुन् ।