मध्यपश्चिम विश्वविद्यालय सेवा आयोगले कार्यविधि विपरित काम गरेको प्रमाण फेला परेको छ । कम्प्युटर इन्जिनियरिङ विषयको उप–प्राध्यापक पदमा विषयसँग सम्बन्धित दावेदार भन्दा फरक बिषयमा स्नातकोत्तर गरेका व्यक्ति पास गरेको भन्दै उजुरी परेपछि सेवा आयोगले कार्यविधि विपरीत काम गरेको तथ्य फेला परेको हो । उक्त उजुरीलाई सेवा आयोगले दर्ता गर्न नमानेपछि हुलाकबाट दर्ता गरिएको छ ।
मध्यपश्चिम विश्वविद्यालय सेवा आयोगले उप–प्रध्यापक र अन्य कर्मचारीको पद पूर्तिका लागि २०७५ साल फागुन २३ गते गोरखापत्रमा विज्ञापन प्रकाशित गरेको थियो । त्यही विज्ञापन अनुसार लिखित परीक्षाको नतिजा प्रकाशित भएपछि आयोगले गत चैत ११ गते मौखिक परीक्षा गरी नतिजा प्रकाशित गरेको थियो ।
विज्ञापन नः २८-२०७५-०७६ कम्प्युटर इन्जिनियरिङ विषयको उप–प्राध्यापक पदका लागि एक जना माग गरिएको थियो । जसमा लिखित र मौखिक दुवै परीक्षामा दुई जना सहभागी भएका थिए । त्यसमध्ये एक जना उमेदवारले कम्प्युटर इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन्, जो मध्यपश्चिम विश्वविद्यालयमा अध्यापन गरिरहेका छन् ।
अर्का उम्मेदवार हरिनारायण यादवले ‘इनर्फाेमेसन सिस्टम इन्जिनियरिङ’ मा स्नातकोत्तर गरेका छन् । तर, उनलाई लिखित र मौखिक परीक्षामा पास गरिएको छ । उनले इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङमा स्नातक गरेका छन् । स्नातकमा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ गरेका व्यक्तिले त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तरमा कम्प्युटर इन्जिनियरिङ गर्न नपाईने नियम छ । यादव त्रिभुवन विश्वविद्यालयको पुल्चोक इन्जिनियरिङ क्याम्पसमा आशिंक रुपमा कार्यरत उपप्रध्यापक हुन् ।
विश्वविद्यालयको कार्यविधिमा ‘विश्वविद्यालयको उपप्राध्यापक वा सो भन्दा माथिको पदमा शिक्षण सेवामा आवेदन दिनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा कम्तीमा पनि द्वितीय श्रेणीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनु पर्ने’ उल्लेख छ । सम्बन्धित विषयको व्यक्ति नपाइएमा मात्र उक्त बिषयसँग निकट विषयमा स्नातकोत्तर गरेका व्यक्तिलाई आशिंक रुपमा लिन सकिने सरोकारवालाहरु बताउँछन् ।
इनर्फाेमेसन सिस्टम इन्जिनियरिङको पाठ्यक्रमले कम्प्युटर इन्जिनियरिङको ३० प्रतिशत पाठ्यक्रम मात्र समेट्ने विज्ञहरुको भनाइ छ । यसर्थ कार्यविधि विपरित सेवा आयोगले फरक विषयका व्यक्तिलाई पास गरेको प्रष्ट देखिन्छ । पीडित पक्षका अनुसार यस विषयको लिखित र मौखिक दुवै परीक्षामा चलखेल भएको छ ।