मेयरका ५ चर्चित स्वतन्त्र उम्मेदवार

२०७४ सालमा लामो समयपछि स्थानीय तहले नेतृत्व पायो । तर, त्यो नेतृत्व जनपक्षीय भएन । अधिकांश मेयर असफल भए । सायद यही कारण यस पटक स्वतन्त्र उम्मेदवारहरुको बिगबिगी छ । काठमाडौं महानगरदेखि निकैवटा नगरपालिकामा स्वतन्त्रले उम्मेदवारी दिएका छन् ।

पार्टीका उम्मेदवारले जन अपेक्षा अनुसार काम गर्न नसकेकाले उनीहरुप्रति बितृष्णा भएको पक्कै हो । तर, पार्टीका नेताहरु काम गर्न नसकेको कुरा स्वीकार्न सक्दैनन् । यति हुँदा पनि अर्को ‘अपसन’ छैन जनतासँग ।

स्वतन्त्र उम्मेदवारप्रति जनताको माया पार्टीप्रति बितृष्णाकै उपज मान्न सकिन्छ । भलै यस्तो माया सामाजिक सञ्जाल मार्फत नै किन नहोस् ? यी मध्ये ५ स्वतन्त्र मेयरको चर्चा राष्ट्रिय स्तरमा नै छ ।

५. जगन्नाथ पौडेल, चितवन महानगरपालिका

– चितवन महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेपछि जगन्नाथ पौडेल रातारात चर्चित बने । नेपाली कांग्रेसले मेयरकालागि गठबन्धनको नाममा माओवादी केन्द्रकी उम्मेदवारलाई समर्थन जनाएपछि जगन्नाथले बिद्रोहस्वरुप स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् ।

कांग्रेसको असल कार्यकर्ताको परिचय बनाएका जगन्नाथको उम्मेदवारी फिर्ता गराउन गृहमन्त्री बालकृष्ण खाँड चितवन गएको समाचार पनि भाइरल नै बन्यो । फाँसीमा झुन्डिन तयार छु तर उम्मेदवारी फिर्ता हुन्न भन्ने उनको अभिब्यक्ति पनि भाइरल नै बनेको छ । उनको चुनाव चिन्ह भुँइकटहर हो ।

४. हर्क साम्पाङ, धरान उपमहानगरपालिका

सर्वसाधारणले भोगिरहेका सवैखाले समस्यामा जनतासँगै हिडिरहेका उनी ब्यवहारिक नेता मानिन्छन् । जनताको साथीको रुपमा उनी केही बर्षदेखि क्रियाशीत छन् । हर्कको चुनाव चिन्ह लौरो हो ।

३. गनेस पौडेल, पोखरा महानगरपालिका

अटेरी अभियान सञ्चालन गरेर पोखराको मेयरमा उम्मेदवारी दिएका गनेस पौडेलको चुनाव चिन्ह पनि लौरो नै हो । लेखकको परिचय बनाएका गनेसले पोखरामा धेरै उदाहरणिय काम गरेका छन् ।

उनले र्यान्डम रिडर्स खोले, पोखरा विमानस्थल जनसरोकार समितिको नेतृत्व गरे, मझेरी सहकारीको स्थापना गरे । जे गरे फरक गरे र जनताको सहभागिता मुलक काम गरे । गनेसले निकैवटा पुस्तक लेखे । उनले लेखेको उपन्यास ‘पैताला’ भने पाठक माझ चर्चित बनेको छ । उनी प्रतिभावान युवाको रुपमा चिनिन्छन् । स्थानीय तहलाई दलीय छातावाट मुक्त गर्नु पर्ने उनको मत रहँदै आएको छ ।

२. गोपाल हमाल, धनगढी उपमहानगरपालिका

– ठूलाठूला सभा र भेला गरेर सुरुदेखि नै चर्चामा छन् धनगढी उपमहानगरपालिका मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमाल । सफल ब्यवसायीको परिचय बनाएका गोपाल हमाल २०७४ को स्थानीय निर्वाचनमा समेत मेयरका उम्मेदवार थिए ।

२०७४ मा विजेताले १४ हजार तीनसय भोट पाउँदा निकटतम प्रतिद्धन्दी भएका गोपालले ११ हजार ५ सय २७ भोट पाएका थिए । यसपटक गठबन्धन, एमाले र स्वतन्त्र उम्मेदवार हमालवीच त्रिपक्षीय भिडन्त हुने पक्का छ । उनको चुनाव चिन्ह आँप हो ।

१. बालेन साह, काठमाडौं महानगरपालिका

बालेन खासमा इन्जिनियर हुन् । सुरुमा उनी सिभिलइन्जिनियर हुन् र मास्टर्श गरेपछि भने स्ट्रकचरल इन्जिनियर भए । उनले ठूलो संख्यामा घरको नक्सांकन गरेका छन् । र्यापरको रुपमा चर्चित भएपनि महानगरको मेयरकालागि भने उनको इन्जिनियरिङ पेशा सुनमा सुगन्ध भएको छ । उनले एमाले, गठबन्धन र राप्रपासँग प्रतिस्पर्धा गर्नुपर्नेछ । उनले चुनाव चिन्ह लौरो पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *