देश दलहरुले नै चलाउने हो । तर, दलहरुको फटाईं जव पराकाष्टामा पुग्छ । तव दल र नेतृत्वलाई जनताले पाठ पढाउने नै छन् । काठमाडौंका जनताले बालेन शाह (बालेन्द्र साह, काठमाडौं महानगर मेयरका स्वतन्त्र उम्मेदवार)को लौरो मार्फत दल र तिनको नेतृत्वलाई प्रसस्त संदेश छोडेका छन् । परम्परागत सोच पालेर बसेका दल र तिनको नेतृत्वले यी संदेशलाई मननगर्दा दलभित्रैबाट बालेन शाहहरु जन्मिन सक्छन् ।
१. जित्नकालागि ‘ब्रान्डेड’ चुनाव चिन्ह नचाहिने रहेछ ।
– खासगरी रुख र सूर्य चुनाव चिन्हप्रति विपक्षीहरु नै लोभाउँछन् । तर जनताले पत्याएभने ब्रान्डेड चुनाव चिन्ह नचाहिने रहेछ । लौरो नै जनताको प्रिय चुनाव चिन्ह बन्दो रहेछ ।
२. अनुभवी, जेल नेल भोगेको, कपाल फुलेको नेता नचाहिने रहेछ ।
– ३१ बर्षे बालेन शाहलाई राजधानीबासीले पत्याएको देख्दा जनप्रिय हुन अनुभवी वा कपाल फुलेको हुन नपर्ने रहेछ भन्ने पनि संदेश दियो । पूर्वमन्त्री, पूर्व मेयर, जेल नेल भोगेको, भयंकर परिवारको सदस्य वा ठूलो पार्टीको प्रतिनिधि हुन पनि आवश्यक नपर्ने रहेछ ।
३. विपक्षीलाई तथानाम गाली गलौज गर्न नपर्ने रहेछ ।
– आफ्ना एजेन्डाभन्दा पनि विपक्षीलाई गाली गर्नु, उडाउनु, तथानाम बोलेर संतोष लिने वर्तमानको राजनीति संस्कार भएको छ । तर, काठमाडौं मेयरका उम्मेदवार बालेन शाहले गाली वा आरोपलाई उर्जा माने । उनले कसैलाई गाली गरेनन् ।
४. गर्दै नगरेको कामको जस लिन नपर्ने रहेछ ।
– एक केजीको भारी बोकेर क्निटलको धक्कु लगाउने वर्तमानका राजनीतिज्ञहरुले यो बुझेनन् कि जनताले सत्य असत्यको फिल्टर लगाउने छन् । नचाहिदो जस लिने होड आवश्यक हुँदैन ।
५. लहर ल्याउने नाममा अरु पार्टीका नेता–कार्यकर्तालाई भेडाबाख्रा झैं भित्रयाउन नपर्ने रहेछ ।
– चुनावी लहर ल्याउने नाममा अरु पार्टीका नेता तथा कार्यकर्ता भित्राएर संख्यामा रमाउने खेल खेल्न आवश्यक छैन । मेयरका उम्मेदवार बालेनले यो काम पनि गरेनन् । चाहेको भए, काठमाडौंको ठूलो भिडलाई उनले चुनाव जिताउने अभियानमा सरिक गराउन सक्थे ।
६. जनता ओसारेर आमसभाको नाममा हावादारी भाषण पनि आवश्यक रहेनछ ।
– बालेनले चुनावी सभा गर्न चाहेको भए ठूला भनिएका दलको भन्दा धेरै जनता भेला गर्न सक्थे, त्यो पनि निशुल्क । तर उनले दलहरुले स्थापित गरेको यो परम्परागत सुत्र पनि पछ्याएनन् । खासमा यसो नगर्दा पनि हुने रहेछ ।
७. गठबन्धनको नाममा जनतालाई भागबण्डा नगर्दा पनि हुने रहेछ ।
– बालेनले कसैसँग पनि गठबन्धन गरेनन् । अन्य स्वतन्त्रका उम्मेदवारलाई समेत उनले आफ्नो पक्षमा पार्ने प्रयत्न गरेनन् । जनतालाई नै फैसला गर्न छोडिदिए ।
८. चुनाव प्रचारको नाममा मासुभात, यातायात सुविधा र भत्ता वितरण आवश्यक रहेनछ ।
– प्रारम्भिक समाचार अनुसार बालेन शाहले १ देखि डेढलाखसम्म मात्र रकम खर्च गरे । यसको मतलव उनले आफ्नो चुनाव प्रचारमा आउनेलाई यातायातभत्ता, मासुभात वा अन्य सुविधा केही पनि दिएनन् । खाजासम्म खुवाएनन् । यसोगर्दा पनि जनताले पत्याउने रहेछन् ।
९. चुनाव जित्ने नाममा जनतालाई बसका बस ओसारेर मतदान केन्द्र पुर्याउन नपर्ने रहेछ ।
– हरेक चुनावअघि काठमाडौंबाट बसका बस जनतालाई निशुल्क गाऊँ पुर्याएको दृश्य सामान्य भइसकेको छ । चुनावका दिन पनि मतदान केन्द्रसम्म जनता ओसार्ने परम्परा नै चलिसकेको छ । बालेनले त्यसो पनि गरेनन् ।
१०. जनताको मत खरिद गर्न करोडौं खर्च गर्न नपर्ने रहेछ ।
– मेयरका उम्मेदवारले १५ करोडभन्दा बढी खर्च गरेको समाचार तराईतिरबाट आइरहेका छन् । दुई–चार करोड खर्च त अन्यत्र पनि हुने गरेको अनुभवीहरु बताउँछन् । यस्तो अवस्थामा बालेनले दुईलाख पनि खर्च गरेनन् ।
११.काठमाडौंले पत्याउन मधेसीमुलकै भएपनि हुनेरहेछ
– आम विश्लेषण थियो, काठमाडौंले गैह् नेवारलाई पत्याउँदैन । यसो भनेर काठमाडौंलाई साम्प्रदायिक रङ पोतिएको थियो । तर, बालेन मार्फत काठमाडौंले यो दोष पखालिरहेको छ ।
१२. चुनाव जित्न सबैभन्दा पहिला जनताको विश्वास जित्न सक्नु पर्ने रहेछ ।
– ठूला भनिएका परम्परागत पार्टीहरु चुनावमा साम दाम दण्ड भेदको प्रयोग गर्न सिपालु मानिन्छन् । यस्ता कार्यले जनताको मन जित्ने होइन जनता झुक्याउने कार्य चाहिँ हुन सक्छ । धेरै पटक र पटक पटक जनता झुक्याउन सकिदैन भन्ने पाठ पनि दल र तिनीहरुको नेतृत्वले बुझ्न जरुरी छ ।
१३. काखा पाखाले दर्जनौं बालेन जन्माउन सक्छ
– लाभको पदमा पुर्याउनेबेलामा छोरा–छोरी, श्रीमती –बुहारी वा आफन्तलाई छान्ने परिपाटी हुनु भनेको पार्टीकै पनि प्रतिभावान नेताहरु पाखा लाग्नु हो । यस्तो अवस्थामा राजनीतिमा रुची राख्ने प्रतिभावान स्वतन्त्रहरु पार्टीमा प्रवेश गर्ने संभावना पनि हुन्न । त्यही कारण आउँदा चुनावहरुमा दर्जनौं बालेनहरु जन्मन सक्छन् । यस पटक काठमाडौंको मत परिणामबाट पार्टीका नेतृत्वले समयमा नै यस विषयमा गहन शिक्षा लिन जरुरी छ ।
निश्कर्ष
तर, पछिल्लो पटक एउटा ठूलो पार्टीको ब्यवहार हेर्दा ‘कुकरको पुच्छर १२ बर्ष ढुंग्रोमा राख्दा पनि जस्ताको त्यस्तै’ भन्ने उखान चरितार्थ गरेको छ । मतदान सम्पन्न भइन्जेलसम्म सबै ठीक, परिणाम आउन थालेपछि धाँदलीको विज्ञप्ती । मैदानमा देखिएका सवै पार्टीको सोचाइ र ब्यवहारको फर्मुला यही नै हो । यस्ता काइते सोच र ब्यवहार रहिरहे थोत्रा पार्टी ढिलो चाँडो लोप हुने ठोकुवा गर्न सकिन्छ ।