क. माधव कुमार नेपाल
अध्यक्ष, नेकपा (एकिकृत समाजवादी), काठमाडौं ।
विषयः चुनावी परिणामबाट निराश नबन्नु हुन ।
स्थानीय चुनावको परिणाम आउँदै गर्दा तपाईंको आँखा, अभिब्यक्ति र आवाजमा आएको नैराश्यपनलाई देखेर यो खुला पत्र लेख्दैछु ।
क. नेपाल, तपाईं ७० बर्षको उमेरमा आफैंले स्थापना गरेको पार्टी छोडेर नयाँ पार्टी स्थापना गर्दै तत्कालै स्थानीय चुनावमा होमिएको सबैमा विदित छ । आधा बर्षको सक्रियतामा भएको यस चुनावमा आएको परिणामले तपाईं र तपाईका कार्यकर्ताले जति धेरै मन दुखाईरहेका छन्, त्यो किमार्थ स्वभाविक छैन । किनभने यो आम अपेक्षित परिणाम नै हो ।
अपवाद बाहेक, कुनैपनि पार्टी तत्कालै वा रहरमा बन्दैन । यदी तपाईंले यही चुनावमा धेरै स्थानीय तह जित्ने सोच्नु भएको थियो भने त्यो भ्रम मात्र थियो । सर्बप्रथम म, यस भ्रमबाट तत्काल मुक्त हुन निवेदन गर्दछु ।
क. नेपाल, एउटै विचार र ब्यवहारका दुईवटा पार्टी फस्टाएर अघि बढेको संसारमा कहिँ पनि उदाहरण छैन । तर, तपाईंले नयाँ खोलेको पार्टीलाई फरक बनाउन खोज्नु भएन मात्र होइन, एमाले जस्तै बनाउनु भयो । उही बहुदलीय जनबाद, उनी आदर्श ब्यक्ति मदन भण्डारी, उही स्कूलिङ आदि आदि । के कारणले एमाले छोडेर तपाईंको पार्टीमा प्रवेश गर्ने हो ? यसको गहिरो जवाफ तयार नै गर्नु भएन । अरु त अरु पार्टीको नाममा जोडिएको समाजवाद शब्दको समयानुकुल परिभाषा समेत यहाँले गर्न सक्नु भएन ।
चुनाव तोकिएपछि यहाँको पार्टीका केही नेताले सार्वजनिक गरेको अभिब्यक्ति संझन्छु । ‘हामीले जित्छौं, जित्दैनौं भन्दापनि हामी एमालेलाई हराउन काफी छौं ।’ माथिदेखि तलसम्म यहाँको पार्टीका नेता कार्यकर्ताको मिसन यही नै रहेको बुझिन्छ । यस मिसनमा यहाँको पार्टीले आंशिक सफलता हात पारेको कुरा सायद मैले भनिरहनु नपर्ला । तर, के कुरा चाहिँ भन्नै पर्छ भने अरुलाई हराउने मिसन राखेर चुनाव चाहिँ जितिदैन ।
तपाईंले भन्नुभयो, ‘गठबन्धनबाट धोका भयो’ । तर, तपाईंको तर्कमा दम चाहिँ छैन । ‘ग्राउन्ड रियालिटी’ बुझिएन भने एमाले जस्तै हुइन्छ । ६० देखि ७० प्रतिसत स्थानीय तह जितिन्छ भन्ने मूल्यांकनले अहिले एमाले नेताको बोल्ती बन्द भएको छ । एउटै स्कूलिङ भएकाले तपाईंले पनि ‘ग्राउन्ड रियालिटी’ बुझ्ने कुरामा कमजोरी गरेकै हो । त्यसकारण चित्त नबुझेपनि चित्त नदुखाउनु नै स्वास्थ्यकालागि लाभदायक हुन्छ ।
अर्को कुरा, तपाईंले गठबन्धनबाट धोका भयो भन्दै गर्दा गठबन्धनका ठूला दलले तपाईंको पार्टीलाई हैसियतभन्दा बढी सीट दिइएछ भन्ने निश्कर्ष निकाले भने के हुन्छ ? किनभने कांग्रेस, माओवादी, जसपा आदिले उम्मेदवारी नदिएर तपाईंको पार्टीकालागि छोडेका निकैवटा स्थानीय तहको रिजल्ट पनि हामीले देखेकै छौं । के गठबन्धनबिना चाहिँ तपाईंको पार्टीले यत्तिका ठाऊँमा चुनाव जित्थ्यो होला ? पोखरा, हेटौडा लगायतका नगरपालिकामा यसरी नै टक्कर दिन सक्थ्यो ? गौरमा चुनाव जितेर इज्जत जोगाउन सक्नुहुन्थ्यो ? २० स्थानमा जित निकाल्न सक्थ्यो भन्ने ठान्नु हुन्छ ? अर्को कुरा यहाँले पनि चिहाउँदै हुनुहोला, काठमाडौंमा बालेन शाह, धनगढीमा गोपाल हमाल, धरानमा हरी साम्पाङहरुलाई गठबन्धन त के पार्टी पनि चाहिएन । त्यसकारण गठबन्धन नै सबैकुरा पनि होइन चुनावमा ।
अर्को र अन्तिम कुरा चाहिँ के हो भने संख्या मात्रै पनि ठूलो कुरो होइन । २०७४ को चुनावमा एमाले सबैभन्दा धेरै स्थानमा जितेर ठूलो कहलिएको थियो । तर, एमालेले त्यसबापत के गर्यो, राष्ट्रपति र राष्ट्रिय सभाका सदस्य चुन्ने सिबाय ? कुनै एउटा नगर वा गाऊँ पालिकामा विकासको मोडल दियो ? एउटा वडा पनि बनाएन एमालेले । त्यसकारण अंक गणितमा नजानुहोस् । एउटा गौर नगरपालिकालाई बनाएर देखाउनुहोस् । ‘माधव नेपाल’ मोडलको नगर बनाउनु होस् । वा आफ्नो पार्टीले जितेका नगर वा गाऊँलाई भिन्न मोडलमा विकास गर्नुहोस् । यति गर्नुभयो भने अर्को चुनावमा रोइकराई गरिरहनु पदैन ।
तर, तपाईंले नयाँ पार्टी गठनपछि प्रदर्शन गरेको सक्रिया हेर्दा दुःख लाग्ने अवस्था छ । आफूले पाएका दुई प्रदेश (१ नं र बाग्मती)को नेतृत्व र तिनको काम ‘अशक्त साँडेले गाई ओगटेभन्दा फरक लाग्दैन । यसैगरी ओगट्नैकालागि मात्र चुनाव जित्ने सोच पाल्नु भएको हो भने त्यसको अर्थ क्षणिक मात्र हुनेछ ।
यो सवै सल्लाह भेटेरै दिने विचार नभएको होइन । तर सुन्छु, नयाँ पार्टीको अध्यक्ष भएपछि तपाईंलाई भेट्न पनि देउवा, ओली र प्रचण्डलाई जस्तै हारगुहार र शक्ति प्रदर्शन गर्नुपर्छ रे । त्यही कारण खुला पत्र मार्फत सल्लाह सार्वजनिक गरेको हुँ ।
दिवस गुरागाईं
सञ्चारकर्मी