स्थानीय तह निर्वाचनको परिणाम सार्वजनिक भईरहदा पूर्व राजा ज्ञानेन्द्र शाह कपनको हाकु रेष्टुरेष्ट पुगेका छन् । दरबार हत्या काण्डमा ज्यान गुमाएका कान्छा भाई धीरेन्द्रका छोरीहरु पूजा, सिताष्मा र दिलासाका साथ पूर्व राजा हाकु रेष्टुरेष्ट पुगेका हुन् । उक्त रेष्टुरेष्ट युवा उद्योगी वसन्तविक्रम पाण्डेको हो ।

पूर्व राजा हाकु रेष्टुरेष्ट जाने सूचना पाएपछि नेपालमुहार ‘टीम’ उक्त रेष्टुरेष्ट पुगेको थियो । नेपालमुहार प्रतिनिधिसँग पूर्व राजा ज्ञानेन्द्र शाहले छोटो संवाद गरेका छन् । ‘मुलुकको अवस्था, स्थानीय निर्वाचनको परिणामलाई कसरी नियाली रहनु भएको छ ? नेपालमुहारको प्रश्नमा पूर्वराजा ज्ञानेन्द्र शाहले ‘मुलुकको अवस्था, निर्वाचन परिणामलाई आम नागरिकले जसरी हेरिरहेका छन्, मैले पनि त्यसैगरी हेरिरहेको छु’ भनेर जवाफ दिएका छन् ।

पूर्व राजालाई रेष्टुरेष्टका सञ्चालक वसन्तविक्रम पाण्डे, अर्जुन प्रसाईँ, सौरव भण्डारीलगायतले स्वागत गरेका थिए । पूर्व राजाको स्वागतमा चौथो नेपाल आइडलका विजेता भुपेन्द्र थापा मगरलगायत कलाकारको समूहले ‘रातो र चन्द्र सूर्य, जंङ्गी निशान हाम्रो’ जहाँ छन् वुद्धका आँखा, यस्तो पनि हुँदो रै,छ’, गल्ती हजार हुन्छन्’ जस्ता दुई दर्जन जति गीत गाएका थिए । पूर्व राजा स्वतस्र्फूत आफूहरुको रेष्टुरेष्टमा आउनु भएको सञ्चालक वसन्तबिक्रम पाण्डेले बताए ।

पूर्व राजा हाकु रेष्टुरेष्ट आएको जानकारी पाएपछि उनलाई हेर्न ठूलो पक्ति रेष्टुरेष्टमा आएको थियो । रेष्टुरेष्टमा पूर्व राजाले निकै रमाइलो गरी समय बिताएका थिए । साँझ पौने आठ बजे रेष्टुरेष्ट पुगेका पूर्व राजा राती ११ बजेर १० मिनेटपछि मात्र बाहिरिएका थिए । पूर्व राजा बाहिरिदा युवाहरुको ठूलो पक्तिले ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’ नारा लगाएका थिए ।
