एक मत अन्तरले वडा अध्यक्ष विजयी

सोलुखुम्बूको थुलुङ दुधकोशी गाउँपालिकामा एक मतले वडा अध्यक्ष पदको जित–हार भएको छ । थुलुङ दुधकोशी गाउँपालिकाको वडा नं. ६ मुक्लीमा एक मत अन्तरले वडा अध्यक्ष जित–हार भएको हो ।

निर्वाचन आयोगका अनुसार ५ सय ५१ मत प्राप्त गरी नेपाली कांग्रेसका उम्मेदवार ३३ वर्षिय महेन्द्रराज राई वडा अध्यक्ष निर्वाचित भएका छन् । उनका उपविजेता नेकपा (माओवादी केन्द्र) का उम्मेदवार ५२ वर्षिय मोहनकुमार राईले ५ सय ५० मत प्राप्त गरे ।

नेकपा (एमाले) का उम्मेदवार नन्दराज गुरुङले ९२ मत पाएका थिए । वडा अध्यक्ष निर्वाचित राई पूर्व गाउँपालिका सभापति र हाल महाधिवेशन प्रतिनिधि हुन् । उनका प्रतिद्धन्द्धी मोहनकुमार राईले दुधकोशी सामुदायिक अस्पताल बनाउन करिव २० रोपनी जग्गा दान दिएका थिए ।

उनले निशुल्क जग्गा दिएपछि गाउँपालिकाको अग्रसरतामा दुधकोशी सामुदायिक अस्पताल निमार्ण कार्य अघि बढेको थियो । तर, अस्पताल बनाउने नाममा ठूलो आर्थिक हिनामिना भएको छ । अनियमिततामा संलग्नहरुले हिसाब लुकाईरहेका छन् । आर्थिक हिनामिनाको हिसाब खोजी गर्न सबै तै चुप मै चुप छन् । अस्पताल बनाउन जग्गा दान दिएकाले राईले जित्ने विस्वासमा माओवादीले उनलाई उम्मेदवार बनाएको थियो ।

कांग्रेस उम्मेदवार राई १ मत अन्तरले विजयी भएपछि पुनः मत गणना हुनु पर्ने भन्दै गणनास्थलमा बसेका माओवादीहरुले बखेडा झिकेका थिए । तर, निर्वाचन अधिकृतले ‘मत गणना भइरहदा तपाईहरु यहीँ हुनुहुन्छ । त्यसैले पुनः मत गणना हुन सक्तैन । मत गणना चित्त बुझेको छैन भने म र निर्वाचन कार्यालयलाई विपक्षी बनाएर ३५ दिनभित्र अदालतमा मुद्दा दिनुस् । अदालतले जे फैसला गर्छ । त्यही अनुसार हुन्छ । यहाँ चुरीफुरी देखाएर नधम्क्याउनुहोस् । यो गुण्डागर्दी गर्ने ठाउँ होइन’ भनेपछि माओवादीहरु कुना पसेका त्यसबेला गणनास्थलमै रहेका नेपाली कांग्रेसका मत गणना प्रतिनिधि शेखर बस्नेतले बताए ।

१ मत अन्तरले वडा अध्यक्ष विजयी हुने यस पटकको स्थानीय तह निर्वाचनमा राई नै सायद पहिलो होलान् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *