पहिलो र दोस्रो शक्तिले तेस्रो शक्ति (माओवादी केन्द्र) लाई रिझाएर राख्नु आफैंमा बाध्यात्मक अवस्था हुनेछ,
१. गोरखाको पालुङटार जनता समाजवादी पार्टी (जसपा)का नेता बाबुराम भट्टराई (विद्यावारिधि) को गृहपालिका हो । त्यहाँ भट्टराईले जसपाबाट प्रेमबहादुर गुरुङलाई मेयरको प्रत्यासी खडा गरेका थिए । निर्वाचनको अन्तिम समयमा पालुङटारमा जसपा र एमालेबीच मेयर, उपमेयरमा एकले अर्कालाई सघाउने समझदारी भएको थियो । त्यो भन्दा केही दिन अघि नेपाली कांग्रेसको स्थानीय नेतृत्वले मेयरमा जसपा उमेदवार गुरुङलाई सघाउन निर्देशन दिएको थियो । तर, कांग्रेसभित्रको कलहका कारण जसपासँग गठबन्धन बन्न सकेन । यसपछि पालुङटारमा जसपा–एमालेबीच गठबन्धन बनेको थियो ।
तर, पालुङटारको मेयरमा नेकपा (माओवादी) केन्द्रका विवश चिन्तनले बाजी मारे । उनले ६ हजार ७२ मत ल्याए भने जसपाका गुरुङले ५ हजार ७ सय १७ मत प्राप्त गरे । ०७४ को निर्वाचनमा पालुङटारमा नेपाली कांग्रेस निर्वाचित भएको थियो । १ फागुन ०५२ बाट तत्कालीन नेकपा (माओवादी) ले सुरु गरेको सशस्त्र द्धन्द्धको राँको सल्काउने जिल्ला मध्ये गोरखा एक हो । त्यसदिन माओवादीले गोरखाको च्याङलीस्थित साना किसान बैंक कब्जा गरेर कागजात जलाएका थिए । गोरखा जिल्लामा ११ वटा स्थानीय तह छन् ।
११ स्थानीय तहमध्ये नेकपा (माओवादी केन्द्र) ले ८ वटामा बाजी मारेको छ । अजिरकोट, गण्डकी, धार्चे, भीमसेन थापा, शहिद लखन थापा, बारपाक सुलीकोट गाउँपालिका तथा गोरखा र पालुङटार नगरपालिकामा माओवादी केन्द्रले जित हात पारेको हो । आरुघाट र सिरानचोक गाउँपालिकालाई कांग्रेसले आफ्नो पोल्टामा पार्न सफल भएको छ । यो समाचार तयार पार्दासम्म मतगणना भइरहेको चुन नुव्री गाउँपालिकामा समेत नेकपा (माओवादी केन्द्र) अघि छ ।
२. गोरखासँगै जोडिएको तनहुँमा पनि माओवादी केन्द्र उसै गरी पुनरोदय भएको छ । ०७४ को स्थानीय निर्वाचनमा तनहुँको आँबुखैरेनी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) निकै दयनीय हैसियतमा थियो । यस गाउँपालिकाका ६ वटा वडामध्ये एउटामा पनि जित हात पार्न सकेको थिएन । गाउँपालिका अध्यक्ष–उपाध्यक्ष त धेरै टाढाको कुरा । माओवादी केन्द्रबाट गाउँपालिकाको अध्यक्षका उम्मेदवार तेस्रो स्थानमा खुम्चिएका थिए । पालिकाभरीमा माओवादी केन्द्र वडा नं १ को एक वडा सदस्यमा चित्त बुझाउन बाध्य भएको थियो । अर्थात गाउँपालिकाभरीमा माओवादी केन्द्र शून्य हुनबाट एक वडा सदस्य जोगाई दिएका थिए ।
तर, यसपटकको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले यो पालिकाको निर्वाचन परिणाम उलटपुलट बनाई दिएको छ । यस पालिकामा माओवादी केन्द्र गठबन्धन बिना नै निर्वाचनमा होमिएको थियो । माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार ३४ वर्षिय शुक्र चुमानले ३ हजार ९ सय ४० मत प्राप्त गरी जित आफ्नो पोल्टामा पारेका छन् । उपाध्यक्षमा पनि माओवादी केन्द्रकै दुर्गा अर्याल २ हजार ८ सय ४८ मत सहित विजयी भएकी छन् ।
३. अब एकछिन एक नं. प्रदेश अर्थात पूर्वी पहाडतिर उक्लौ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ०७४ को स्थानीय निर्वाचनमा माओवादी केन्द्रले लज्जास्पद हार ब्यहोरेको थियो । कतिसम्म भने त्यो निर्वाचनमा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवारले ८ सय २८ मत मात्र प्राप्त गरेका थिए । तर, यसपटक १५ वर्ष सिङ्गापुर प्रहरीमा सेवा गरी निवृत भएका ३८ वर्षिय माओवादी उम्मेदवार राजन लिम्बू २ हजार तीन सय ५८ मत प्राप्त गरी अध्यक्ष निर्वाचित भएका छन् । उनी २०७४ को निर्वाचन सम्पन्न भएपछि चैतमा सिङ्गापुर प्रहरीबाट पेन्सन पकाई स्वदेश फर्किएका थिए ।
तिनै लिम्बुले एमाले उम्मेदवार एवं निवर्तमान गाउँपालिका प्रमुख सरोज लिम्बुलाई ३ सय ४८ मतअन्तरले पराजित गरे । ७ वटा वडा रहेको यस गाउँपालिकामा वडा नंं एक र दुईको वडाध्यक्ष पनि माओवादी केन्द्रले नै जितेको छ । लिम्बुले आफ्नो पक्षमा ल्याएको लहरले जिज्ञासुहरु उत्सुक भएका छन् ।

यी तीन दृष्टान्त, जसले ०७४ को स्थानीय निर्वाचनको तुलनामा नेकपा (माओवादी केन्द्र) ले आफ्नो पक्षमा जनमत पुनरोदय गरेको पुष्टि हुन्छ । स्थानीय तहको निर्वाचन अघि नेकपा एमालेका नेताहरुले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) को अस्तित्व समाप्त हुने भएकाले देश दुई दलिय प्रणाली (नेपाली कांग्रेस र नेकपा (एमाले मात्र) मा जाने जिकिर गरेका थिए । कतिसम्म भने नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीले त अस्ति ३० बैशाखमा मतदान गरेपछि देश दुई दलिय प्रणालीमा जाने ठोकुवा गरेका थिए । त्यसयता ओलीको बोली बन्द छ ।
पाँच दलसँगको गठबन्धनमा होस् वा एक्लै प्रतिस्पर्धा गरेर–माओवादी केन्द्रले आफ्नो साख जोगाएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ ०५१ सालको राप्रपाकै जस्तो ‘बिचौलिया’ भूमिकामा स्थापित भएका छन् । आफ्नो चरित्र अनुसार कांग्रेससँग पनि, एमालेसँग पनि ‘बार्गेनिङ’ गर्ने औजार बनेका छन्, प्रचण्ड ।
नेकपा एमालेका एक जना स्थायी समिति सदस्यका अनुसार स्थानीय तह निर्वाचनबाट माओवादी केन्द्र सकिन्छ भन्ने निश्कर्ष थियो । तर, उसको जनमत यथावत रहेछ भन्ने पुष्टि गरेको छ । यो पुष्टिसँगै प्रचण्डको भाउ बढेको छ । आफूभन्दा ठूला दलहरुसँग ‘च्याखे दाउँ’ थाप्न प्रचण्डलाई बाटो खुलेको छ । ति स्थायी समिति सदस्यका अनुसार स्थानीय तह निर्वाचनमा साख जोगाएकाले आफ्नो ‘बार्गेनिङ पावर’ बढ्यो भनेर प्रचण्ड दंग होलान । तर, यो निर्वाचन परिणामले देश भने अस्थिरतामा जाने संकेत गरेको छ । ’

स्थानीय तह निर्वाचनकै कारण भने देश अस्थिरतामा जाने होइन । यो निर्वाचनको प्रभाव मंसिरमा हुने संघीय निर्वाचनमा पर्छ’, उनी भन्छन्, ‘समानुपातिक व्यवस्थाका कारण यसै पनि हाम्रो शासन व्यवस्था स्थिर अर्थात एउटा मात्र पार्टीले बहुमत ल्याएर सरकार बनाउने खालको छैन । त्यसमाथि प्रचण्डले आफूले खेल्न मिल्ने सुविधाजनक सिट प्राप्त गरे भने देश झन् अस्थिरतामा जानेछ । स्थानीय तह निर्वाचनको परिणामले त्यही संकेत गरेको छ ।’
जे होस्, स्थानीय तह निर्वाचनको परिणामले आउँदो मंसिरमा हुने आम निर्वाचनकालागि नेपाली कांग्रेसले होस् वा नेकपा (एमाले), जसले भए पनि प्रचण्डलाई रिझाउनमा नै ठूलो समय खर्चिनु पर्ने भएको छ । अर्थात प्रचण्ड तानातानमा पर्ने र परिरहने अवस्था देखिन्छ । अर्को शब्दमा भन्दा प्रचण्ड ‘यथावत रुपमा विकाउ माल’ नै बनिरहन सफल भएका छन् ।