ढिलो होस् वा चाँडो अपराध छिप्दैन भन्ने पुनः प्रमाणित भएको छ । आठ वर्ष अघि सन् २०१४ मा सौन्दर्य प्रतियोगिता गराउने क्रममा एक किशोरीलाई बलात्कार गरेको अभियोगमा मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । आज केहीबेर अघि काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाबाट खटेको प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो ।
पाण्डेले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिता आयोजना गरेका थिए । त्यही प्रतियोगिता समापनपछि ‘सक्सेस पार्टी’ का नाममा आफूलाई बानेश्वरस्थित एभरेष्ट होटलमा बोलाएर पाण्डेले बलात्कार गरेको भन्दै किशोरीले अस्ति ४ जेठमा सामाजिक सञ्जाल टिकटकमार्फत सार्वजजिक गरेकी थिइन ।
यसपछि पाण्डेलाई पक्राउ गरी कानूनी दायरामा ल्याउनु पर्ने भन्दै देशव्यापी बिरोध भएको थियो भने यस विषयले संसदमा समेत प्रवेश पाएको थियो ।
पाण्डेको पक्राउले एक साथ दुई वटा सन्देश दिएको छ । पहिलो–अपराध छिप्दैन । ढिलो चाँडो खुलासा हुन्छ । दोस्रो सामाजिक सञ्जाल यति बलियो भएको छ कि कुनै ठूला भनिने दैनिक पत्रपत्रिकाले भन्दा सामाजिक सञ्जालले चाँडो प्रभाव विस्तार गर्छ ।
पाण्डेमाथि कसरी कानूनी कारवाही अघि बढाउने भन्नेबारे परामर्श भइरहेको प्रहरी उच्च स्रोतले बताएको छ ।