पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिको विरोधमा यी ठाऊँबाट सुरु भए आन्दोलन

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बारामा प्रदर्शन 

बारा, पछिल्लो समय सरकारले हप्तैपिच्छे पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै बारामा बिरोध प्रदर्शन भएको छ ।

नेकपा एमाले निकट भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बारा र राष्ट्रिय युवा संघ नेपाल निजगढ नगर कमिटिले मगलबार बिरोध प्रदर्शन गरेको हो ।

अनेरास्ववियु र युवा संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा मोटरसाईकल, स्कुटर र अटो डोर्याएर सान्केतिक रुपमा बिरोध गरेका हुन । 
हरेक हप्ता पेट्रोलियम पदार्थको मूल्यवृद्धिले प्रत्यक्ष रुपमा सबै जनतालाई असर गरिरहेकाले मूल्यवृद्धिको विरुद्धमा पार्टी नहेरेर सबैजना एकजुट भएर लाग्न नेकपा एमालेका युवा नेता जयराम कुवरले आग्रह गरे । 

यस्तै मूल्यवृद्धिको विरुद्धमा आगामी दिनमा समेत राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले पनि बाराका बिभिन्न स्थानमा एकसाथ बिरोध प्रदर्शन गर्ने घोषणा गरेको छ ।

मूल्यवृद्धिबाट लाखौं विद्यार्थी मात्रै नभई जनसमुदायमाथि सिधा प्रहार भएकोले यसलाई स्वीकार्न नसकिने एमाले निजगढका सचिब तिलक घलानले बताए । 
यस्तै उपभोक्ता, विद्यार्थी, श्रमजीवि वर्गमाथि मूल्यवृद्धिले पारेको असरप्रति जिम्मेवार बन्न र मूल्यवृद्धि खारेज गर्न समेत अनेरास्ववियु र युवा संघले माग गरेको छ ।

पहिले कोभिड– १९ का कारण लामो समयदेखि अप्ठ्यारो भोगिरहेका नेपाली जनताको अब पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ढाड सेक्ने काम भईरहेको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य इराज कोइरालाले बताए । उनले उपभोक्ता, विद्यार्थी, श्रमजीवि वर्गमाथि मूल्यवृद्धिले पारेको असरप्रति जिम्मेवार बन्न र मूल्यवृद्धि खारेज गर्न समेत सरकारलाई आग्रह गरे । 

नेपाल आयल निगमले सोमवार मध्यरातदेखि पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर १० रुपैयाँ वृद्धि गरेको थियो भने यस्तै, ग्यासमा पनि प्रतिसिलिन्डर २०० रुपैयाँ बढाएको थियो ।

मूल्यवृद्धि विरुद्ध हेटौंडामा र्‍याली, सडकमा आगो बालेर चिया पकाउँदै प्रदर्शन

हेटौंडा,

नेकपा एमालेको विभिन्न भातृ संगठनहरुले मूल्य वृद्धिको विरोधमा प्रदर्शन गरेका छन् ।

हेटौंडाको सीमाचोकबाट बुद्धचोकसम्म मोटराइकल डोहोर्‍याउँदै र ग्यासको सिलिन्डर बोकेर प्रदर्शन गरेका थिए ।

त्यसैगरी उनीहरुले सडकमा नै आगो बालेर चिया पकाएर प्रदर्शन गरेका थिए ।

एमालेको भातृ संगठन अनेरास्ववियु, नेपाल खेलकुद महासंघ लगायतको संगठनहरुले संयुक्त रुपमा प्रदर्शन गरेका थिए । उनीहरुले गठबन्धन सरकार जनतालाई मूल्य वृद्धि उपहार, मैले पकाएर खाएको पनि देखि सकेनौ है सरकार लगायतका नाराहरु लगाएका थिए ।

पेट्रोलियम पदार्थ मूल्यवृद्धि खारेजको माग गर्दै विरोध प्रदर्शन

खोटाङ,  

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजको माग गर्दै खोटाङमा एमाले निकट अनेरास्वबियु र युवा संघले विरोध कार्यक्रम गरेको छ । सरकारले छोटो समयमा पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको भन्दै अनेरास्वबियु र युवा संघले विरोध कार्यक्रम मंगलबार विरोध कार्यक्रम गरेको हो । 

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्वबियु र युवा संघले दिक्तेलको भवनगैरास्थित एमाले पार्टी कार्यालयबाट त्रिबेणीचोकसम्म सरकारविरुद्ध नाराबाजी गर्दै विरोध र्‍याली निकालेको थियो । अनेरास्वबियु र युवा संघले पेट्रोलियम पदार्थको मूल्य घटाएर नागरिकलाई राहतको महसुस गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।

कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य नेता ओमप्रकाश घिमिरे र पूर्वकेन्द्रीय सदस्य दीपक ठटालले सरकारले पेट्रोलियम पदार्थको मूल्य नघटाए आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *