राष्ट्रपति संसद भवनमा, नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौं, १० जेठ 

राष्ट्रपति विद्यादेवी भण्डारी आगामी आर्थिक वर्ष २०७९/०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न नयाँबानेश्वरस्थित संसद भवनमा पुगिन् । 

संघीय संसदका दुवै सदनलाई संयुक्त सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । 

निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै राष्ट्रपतिद्वारा धन्यवाद ज्ञापन

राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचनले लोकतन्त्रलाई जगैदेखि बलियो बनाएको बताएकी छिन् । 

आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले लोकतन्त्रको आधार स्तम्भ रहेको स्थानीय तह निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न भएको बताइन् । 

उनले सरकार र निर्वाचन आयोगलाई धन्यवादसमेत ज्ञापन गरेकी छिन् । 

निर्वाचन सफलतापूर्वक सम्पन्‍न भएको पृष्ठभूमिमा संसद्को दुवै सदनलाई सम्बोधन गर्न पाउँदा उनले खुसीसमेत प्रकट गरेकी छिन् । 

निर्वाचनमा जनताको उत्साहपूर्ण सहभागिता भएको र सबै दल सहभागी भएको भन्दै हुनुलाई सकारात्मक भएको बताइन् । 

एमसीसी सम्झौताअनुसार काम अघि बढ्यो : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौताअनुसारको काम अघि बढेको जानकारी दिएकी छन् । 

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले एमसीसी सम्झौताअनुसार विद्युत् प्रशारण लाइनको काम अघि बढेको जानकारी दिएकी हुन् ।

१० महिनासम्ममा थप ६३८ मेगावट विद्युत् उत्पादन भएको उनले बताइन् । 

२३ हजार ५९१ जनालाई जग्गा धनी प्रमाण पुर्जा दिइयो राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले २३ हजार ५९१ जना नागरिकलाई जग्गा धनी प्रमाण पुर्जा दिएको बताएकी छिन् । 

विभिन्‍न कारणले जग्गा धनी प्रमाण पुर्जा नभएका नागरिकहरूलाई सरकारले पुर्जा दिएको राष्ट्रपति भण्डारीले बताएकी हुन् । 

भूमिहीन र सुकुम्वासी नागरिकहरूलाई सरकारले स्थानीय तह निर्वाचनअघि पुर्जा उपलब्ध गराएको थियो ।

राष्ट्रपति भण्डारीले २०७८ भित्रै दिगो विकासका लक्ष्य प्राप्त गर्ने र देशलाई मध्य आय भएको मुलुकमा पुर्‍याउने सरकारको लक्ष्य रहेको पनि बताएकी छिन् । 

सन् २०२६ सम्ममा अति कम विकासोन्मुक मुलुकबाट स्तरोन्नती गरिने र त्यसका लागि ठोस योजना कार्यान्वयमा ल्याइने उनको भनाइ छ । 

यस्तै, कोभिड महामारीको बेला असहज परिस्थितिका कारण अर्थतन्त्रको बाह्य क्षेत्रमा चाप परेको तर विस्तारै विप्रेषण र पर्यटन आयमा सुधार हुँदै गएको राष्ट्रपति भण्डारीको दाबी छ । 

अब क्रमशः आर्थिक संरचनाहरूलाई सबल बनाउँदै संकटग्रस्त जस्तै बनेको अर्थतन्त्रलाई सबलीकरण गर्नुपर्नेमा उनको जोड छ । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *