हर्क साम्पाङ अर्थात हर्कराज राई, धरान उपमहानगर पालिकाको मेयर बन्न सफल भइसकेका छन् । उनले निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई पराजित गरेका छन् भने एमालेको गढ मानिने धरानमा स्वतन्त्र झन्डा फहराई सकेकाछन् । उनको चुनाव चिन्ह लौरोले चमत्कार नै गरेको छ ।
२०७४ को स्थानीय चुनावमा समेत हर्क साम्पाङले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यस वेला उनको चुनावचिह्न पानीको बोतल थियो । तर, उनले ५ सय ४० मत मात्र पाए । यतिहुँदा पनि उनी निराश भएनन् । अर्को चुनावमा उठ्ने उल्टै घोषणा गरिदिए । त्यसपछि झनै उनले सक्रियता बढाए ।
४० बर्षे हर्क साम्पाङलाई धरानका जनताले कसरी पत्याए ?
कारण नं १. पार्टीसँग वाक्क भएकालाई बिद्रोही बनाए
ठूला पार्टीलाई आँखा चिम्लेर भोट दिँदै आएका जनताले आँखा खोलेको आम विश्लेषणमा सत्यता देखिन्छ । यस अर्थ जनताले शान्त रुपमा बिद्रोह गरेका हुन् भनेर बुझियो भने त्यो गलत हुन्न ।
२०७४ सालको स्थानीय चुनावमा एमालेका उम्मेदवार तारा सुब्बा चुनाव जितेर मेयर बने । तर दुई बर्ष नबित्तै उनको निधन भयो । त्यसपछि २०७६ मा उपनिर्वाचन भयो । त्यसपटक एमालेले नजितेर कांग्रेसले बाजी मार्यो । जनपक्षीय र एमालेले धरानमा धेरै बर्ष स्थानीय तहको नेतृत्व गरे । यसबाट दिक्क भएर उपनिर्वाचनमा कांग्रेसलाई जिताए जनताले । छोटो अवधी भएपनि कांग्रेसले धरानका समस्या समाधानमा जनतालाई विश्वास दिलाउन सकेन । जुन पार्टी भएपनि उस्तै हुन भन्ने अन्यत्रको आक्रोश वा गुनासो धरानमा समेत चुलियो । त्यसकारण उनीहरुले खोजेको उपयुक्त बिकल्प स्वतन्त्र उम्मेदवार हर्कराज राई भए ।
कारण नं २. विभिन्न महत्वपूर्ण अभियानहरुमा संलग्न रहे
राष्ट्रिय एकता सञ्जाल नामको संस्था खोलेर भ्रष्टाचार विरोधी अभियान सञ्चालन गरे, हर्कले । खासगरी पूर्व उपमेयर कृष्ण नारायण पलिखेसँग लागेर उनले भ्रष्टाचार विरुद्धमा अभियान चलाउन थाले । पछि कृष्णनारायणको निधन भएपछि उनी यस अभियानको नेतृत्वमा लागे ।
पहिला हर्कले नामको पछाडि ‘क्रान्ति’ उपनाम लेख्थे । उनका हरेक अभियान वा मुभहरु क्रान्तिकारी हुन्थे । उनले आदिवासी मूलवासी एकता सञ्जाल, आम एकता अभियान पनि चलाए । उनले टेम्पो एकता संघ समेत खोले । लाहुरेका छोरा उनी टेम्पो व्यवसायी समेत भए । उनी एक्लै र कहिले समूहमा भ्रष्टाचारको विरुद्धमा उत्रिए । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बिकृती बिरुद्धमा समेत उनले निकै समय सडक तताए । उनलाई धरानेहरुले यही कारण चिने पनि ।
२०६८ सालमा धरान उपमहानगरपालिकाले सम्पत्ति करमा अत्यधिक वृद्धि गरेपछि धरानका स्थानीय आन्दोलित भए । त्यस आन्दोलनमा समेत हर्कले चिनिनेगरी सहभागिता जनाए । त्यसपछिदेखि उनले धराने जनताको सानोदेखि ठूला–ठूला मुद्धा पकडेर आन्दोलनमा सक्रियता जनाए । यस बापत उनले धेरै पटक प्रहरीको कस्टडीमा रात बिताउनु परेको छ ।
कारण नं ३. धरानेको मनका एजेन्डा समाए
विगत १० बर्षदेखि हर्क जनतासँगै थिए । धराने जनताको सेवामा अहोरात्र संलग्न थिए । धराने जनताको मनका एजेन्डा बोक्न सफल भएका थिए उनी ।
हर्क साम्पाङले खासगरी दुईवटा मुद्धामा धरानको मन जिते । पहिलो धरानको सदिऔं देखिको समस्या पानीको समाधानमा आफू लाग्ने विश्वास दिलाए । साढे दुई लाख लिटर पानी चाहिने धरानले ६०–७० हजार लिटरले गुजारा चलाउँदै आएको छ । उनले यो समस्या जसरी पनि समाधान गर्ने भने । आवश्यक परेको खण्डमा कोशीको पानी ल्याएर पनि धरानमा पानी पुर्याउने उनले बाचा गरे ।
र, दोस्रो आम समस्या भ्रष्टाचार विरुद्धको अभियानमा संलग्न रहे । आफूले भ्रष्टाचार गरे जनताले बाँधेर कुट्न भने । भ्रष्टाचार गरेको खण्डमा आफूले धरान छोडेर जाने पनि बाचा गरे ।
जहिल्यै जनताको पक्षमा लागेर समय कटाउँदै आएका उनले सानादेखि ठूला समस्याहरुमा आफूलाई सक्रिय बनाए ।
भड्किलो चुनाव प्रचारकावीच उनले साधारण ढंगले गरेको प्रचार–प्रसार पनि जनताले मन पराए ।
चुनाव पछि न जित्नेहरु जनतासँग आउँछन् । नत हार्नेहरुले नै मुख देखाउँछन् । तर हर्क अपवाद हुन् । उनी चुनावमा लज्जाजनक हार ब्यहोरेर पनि जनताको वीचमा नै बसिरहे ।