एमाले र माओवादी केन्द्र एक भएपछि एमाले नेता विष्णुप्रसाद पौडेललाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महासचिवमा प्रस्ताव गरे । आम विश्लेषण छ, प्रचण्डको उपयोगितावादी सोचका कारण पौडेललाई महासचिवमा प्रस्ताव गरिएको थियो । ईश्वर पोखरेलको छवी राम्रो नभएका कारण प्रचण्ड अरु कोही नेतालाई महासचिव बनाउन चाहान्थे । आफ्नो पार्टीको भागमा महासचिव नपर्ने बुझेका प्रचण्डले समन्वयकारी तथा अध्यक्ष ओलीले पनि ‘नो’ भन्न नसक्ने पात्र छान्ने क्रममा विष्णु पौडेललाई प्रस्ताव गरिएको माओवादी केन्द्रका एक नेता बताउँछन् । आफूले प्रस्ताव गरेको नेतासँग भोलिका दिनमा काम गर्न सजिलो हुने भएकाले प्रचण्डले प्रस्ताव गर्नु भएको हो, ती नेता बताउँछन् ।
भनिन्छ, प्रचण्ड प्रस्तावकै कारण नेकपाका तत्कालीन अध्यक्ष तथा एमालेका वर्तमान अध्यक्ष केपी ओलीको मनमा शंकाको विउ रोपियो । नेकपा बनेपछि पौडेल दुवै अध्यक्षको विश्वास पात्र बन्न खोजेको पनि ओली निकट नेताहरुले आरोप लगाए । यतिसम्मकी नेकपामा शक्ति संघर्ष उत्कर्षमा पुगेकावेला पौडेल कता लाग्छन् भन्ने संका नै उब्जिएको थियो । पौडेलमाथि यही कारण अध्यक्ष ओलीले झापड लगाउन थालेको एमाले नेताहरु नै विश्लेषण सुनाउँछन् ।
झापड नं – ३ बुटबलबाट राजधानी सारेर कमजोर भएको चित्रण गराइयो
५ नं प्रदेशको अस्थायी राजधानी थियो, रुपन्देहीको बुटबल । यसको नामाकरण गर्दै २०७७ असोज २० मा राजधानी सार्ने निर्णय गरियो, दाङको देउखुरीमा । आम रुपमा यो एउटा सामान्य प्रक्रिया थियो । तर, त्यहाँको राजनीतिमा जमेर बसेकाहरुकालागि त्यो प्रक्रिया नै जीत–हारको विषय थियो ।
तत्कालीन मूख्यमन्त्री शंकर पोखरेल प्रदेशको राजधानी आफ्नो गृह जिल्ला दाङ पुर्याउन सफल भएका थिए भने रुपन्देही क्षेत्रका नेता विष्णु पौडेल राजधानी गुमेकोमा निरिह बनेका थिए । रुपन्देहीका नेता भएकाले त्यस क्षेत्रमा पौडेल जवाफविहीन भएर भाग्नु परेको थियो ।
भनिन्छ, पौडेललाई कमजोर बनाएर शंकरलाई थप जिम्मेवारी दिन प्रदेश राजधानी बुटबलबाट देउखुरी सारिएको थियो । नभन्दै अध्यक्ष ओलीले दशौं राष्ट्रिय महाधिवेशनमा पौडेलको महासचिवको जिम्मेवारी खोसेर शंकर पोखरेललाई दिए ।
यस पटक रुपन्देहीमा एमालेले चुनाव हार्ने प्रमुख कारण लुम्बिनी प्रदेशको राजधानी बुटबलबाट उठाएर दाङ पुर्याउनुलाई समेत मानिएको छ । भनिन्छ, यस कुराको पूर्व आंकलन थियो, एमाले नेतृत्वलाई ।
झापड नं २. पाँचौं वरीयताको उपाध्यक्ष बनाएर थन्क्याईयो
विष्णु पौडेल महासचिवको रुपमा सफल थिए भन्ने एमालेमा निकै नेता छन् । नरम, सहयोगी र समन्वयकारी भएकाले उनको सक्रियता लोभलाग्दो थियो । समकालीन नेताहरुकाबीच तुलनागर्दा उनी ‘डाइनामिक’ समेत लाग्थे ।
तर भनिन्छ, पार्टी अध्यक्ष केपी ओली भने उनको भूमिकाबाट संतुष्ट थिएनन् । त्यही कारण उनको महासचिवको कार्यकारी पद खोसुवामा पर्यो । उनी एमालेको पाँचौं नम्मरको उपाध्यक्ष बनाइए ।
एमालेमा ७ जना उपाध्यक्ष रहेका छन् । वरीयताको हिसावमा एमालेका सात उपाध्यक्षहरु यस प्रकार छन् – ईश्वर पोखरेल (बरिष्ठ), युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुवासचन्द्र नेम्बाङ र सुरेन्द्र प्रसाद पाण्डे । यी उपाध्यक्षहरुको नियमित काम के हो ? एमाले जस्तो ब्यवस्थित पार्टीमा समेत यसको जवाफ छैन ।
झापड नं १. स्थानीय तह निर्वाचनमा जीरो बनाइयो
स्थानीय तह निर्वाचन २०७९ मा एमाले खस्कियो । तर, लुम्बिनी क्षेत्रमा प्रभावशाली नेताको परिचय बनाएका एमाले उपाध्यक्ष विष्णु पौडेलको अवस्था लज्जाजनक बन्यो ।
विष्णु पौडेल रूपन्देहीबाट निरन्तर निर्वाचित हुँदै आएका नेता हुन् । तर यस पटकको स्थानीय तहको निर्वाचनमा भने उनले वडामा समेत पार्टीलाई जिताउन सकेनन् । पौडेलले मतदान गरेको बुटवल उपमहानगरपालिका–८ मा कांग्रेसका यज्ञप्रसाद पंगेनी निर्वाचित भए । समग्र बुटबल नगर बनाएको जस पाएका पौडेलले नगरमा पनि पार्टीलाई जिताउन सकेनन् । बुटबल उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका खेलराज पाण्डेय निर्वाचित भए ।
बुटबलमा एमालेले जनमुक्ति पार्टीसँग तालमेल गरेको थियो । पौडेलले एक महिनाभन्दा बढी समय बुटबल बसेर चुनाव जिताउन न्वारान देखिको बल पनि लगाएका थिए । तर, हात लाग्यो सुन्य ।
जिल्लाका अन्य नगरपनि एमालेले गुमायो ।
आफ्नै जिल्लामा विष्णु पौडेल कसरी कमजोर बने ? यसको भित्री कारण पार्टीको आन्तरिक शक्ति संघर्ष नै मानिन्छ । एमालेका एक केन्द्रीय सदस्य भन्छन् – ‘उम्मेदवार छनौटमा महासचिव शंकर पोखरेल हावी हुँदा पौडेल कमजोर जस्तो देखिएका हुन् ।’ भनिन्छ, ‘खासगरी विष्णु पौडेलको प्रभाव क्षेत्रमा शंकर पोखरेलले माथिबाट खेले ।’
पौडेलले उम्मेदवारी छनौटमा समेत निर्णायक भूमिका निर्वाह गर्न सकेको देखिएन ।