चुनावमा चित खाएका ७ (भिडियो सहित)

चुनाव हार जीतकै खेल हो । उम्मेदवारको हकमा यो प्रत्यक्ष हुन्छ । तर उम्मेदवारले मात्रै चुनाव हार्दैनन् । पार्टीले पनि सँग–सँगै चुनाव हारिरहेको हुन्छ । र, तिनको नेतृत्वले धुलो चटिरहेको हुन्छ । आज हामी त्यस्ता पार्टीका प्रमुखहरुको कुरा गर्दैछौं जसलाई जनताले नमिठो झापड दिएका छन् ।

कुरा सुरु गरौं विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रबाट–

१. रवीन्द्र मिश्र
बैकल्पिक शक्तिकारुपमा नेपाली राजनीतिमा पस्दैगरेको विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रलाई स्थानीय निर्वाचन २०७९ ले चित खुवाईदिएको छ । २०७४ को स्थानीय निर्वाचनमा राम्रो संकेत प्रवाह गरेका उनले यसपटक लज्जाजनक अवस्था बेहोर्नु पर्यो । काठमाडौंमा उनको पार्टीले उठाएको मेयरका प्रत्यासी प्रतिमा बाँस्कोटाको जमानत समेत जोगिएन । बाराको फेटा गाऊँ पालिकाबाहेक देशैभरी उनको अवस्था दयनीय बन्यो ।

परिवर्तनका एजेन्डाको विरोधमा खुल्लम खुल्ला उत्रिएपछि जनताले राप्रपा र विवेकशीलमा फरक नदेखेको एकथरीको विश्लेषण रहँदै आएको छ । पछिल्लो समय रवीन्द्र मिश्रले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता आदिको विरोध गर्दै आएका थिए । उनले पार्टीलाई राप्रपासँग एकताको प्रयास पनि गरेका थिए । यहीक्रममा उनको पार्टी फुटेर पूर्व विवेकशीलका नेताहरु अलग भएका थिए ।

२. कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि पार्टी नै छोडेर राप्रपा नेपाल ब्यूताउन पुगेका कमल थापालाई समेत स्थानीय निर्वाचनले सुताईदिएको छ । सूर्य चिन्ह लिएर चुनाव लड्ने भनिएपनि उनको पार्टीले कहाँ–कहाँबाट उम्मेदवारी दियो र तिनको अवस्था के रह्यो भन्ने कुरो कसैले थाहा नै पाएन । बरु उनले छोडेपछिको राप्रपाले निकै राम्रो प्रगति गरेको पाईयो ।

३. नेत्रबिक्रम चन्द ‘विप्लव’
नेपाल कम्यूनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’लाई पनि स्थानीय चुनाव फापेन । उनले एमालेको चंगुलमा परेर स्वतन्त्र उम्मेदवार उठाएको तर तिनको दाल नगलेको आम विश्लेषण रहेको छ । चुनावमा भाग लिने कि नलिने भन्ने विवाद हुँदा विप्लवको पार्टी नै फुट्यो । तर पनि उनले स्वतन्त्र उम्मेदवारी दिन लगाए कार्यकर्तालाई । यतिकी माओवादीको मुटु मानिने थवाङमा विप्लवका उम्मेदवारलाई कांग्रेस, एमाले लगायतका दलको समर्थन भएपनि अन्तत माओवादी केन्द्रका उम्मेदवारले बाजी मारे । रोल्पा र रुकुममा नै ‘विप्लव’ नांगेझार भए ।

४. डा. बाबुराम भट्टराई
अरु त अरु आफ्नै गृह नगर पालुङटारमा नै हारे जसपाका अध्यक्ष डा. बाबुराम भट्टराई । गठबन्धनले नपत्याएपछि बाबुरामले पालुङटारमा एमालेसँग एकता गरेका थिए । आफ्नो नगर जितेर लाज बचाउन उनले निकै अघिदेखि पालुङटारमा डेरा जमाएका थिए, पत्नी हिसिला सहित । तर उनको नगरमा पनि माओवादी केन्द्रले बाजी मारिदियो । उनी रित्तो हात काठमाडौं फर्के । उनकै पार्टीका अशोक राई, राजेन्द्र श्रेष्ठ लगायतको पनि चुनावपछि बोल्ती बन्द छ । पार्टीमा ठूलो भाग खोजेर निरन्तर झगडा गरिरहने तर चुनावमा हैसियत देखाउन नसक्ने नेताका रुपमा भट्टराई, राई र श्रेष्ठहरु स्थापित भएका छन् । ७ सय ५३ स्थानीय तहमध्ये ३० तहमा चुनाव जित्नु पनि बाबुरामको लज्जाजनक अवस्था हो ।

५. महन्थ ठाकुर/राजेन्द्र महतो
लोसपा( लोकतान्त्रिक समाजवादी पार्टी)ले पनि यो स्थानीय निर्वाचनमा लज्जाजनक हार ब्यहोर्नु पर्यो । पार्टीले नाम चलेका पालिकाहरु जित्न सकेन मात्र होइन, जम्मा १४ पालिकामा जीत निकालेको छ भने दुईवटामा अग्रता छ । प्रतिस्पर्धी पार्टी जसपा (जनता समाजवादी पार्टी) ले २९ बढी स्थानीय तह जितेको छ भने ३ वटामा अग्रता कायम गरेको छ । मधेस प्रदेशमा रहेका १ सय ४४ स्थानीय तहको नतिजा अन्तिम चरणमा आइरहँदा यी दुबै मधेस केन्द्रीत दलको आरोलो यात्रा देखियो । स्मरणिय छ, महन्थ पनि एमालेसँगको एकतामा थिए ।

६. सिके राउत
यस पटकको स्थानीय निर्वाचनमा सिके राउत नेतृत्वको जनमत पार्टीले मधेस कब्जा गर्ने केही विश्लेषकको भनाई थियो । तर १ सय ४४ स्थानीय तह रहेको मधेस प्रदेशबाट ४ तहमा चित्त बुझाउनु पर्यो सिके राउतले । मधेस प्रदेश बाहेकका जिल्लामा रहेका मधेसी माझ पनि सिकेको जादु चलेन । सिकेले पनि एमालेसँग कतिपय ठाऊँमा एकता गरेका थिए ।

७. हृदेश त्रिपाठी
जनता प्रगतिशील पार्टी स्थापना गरेर स्थानीय चुनावमा होमिएका हृदेश त्रिपाठीको अस्थित्व पनि करिव करिव समाप्त भएको छ । सूर्य चिन्हबाट चुनाव लडेको उनको पार्टीले स्थानीय तहमा कहाँ उम्मेदवारी दियो र कहाँ जीत निकाल्यो भन्ने कुरा एमालेको संख्यामा हेर्नु पर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *