पोखरामा अत्यधिक मत बदरः मेयरमा २० हजार, उपमेयरमा १९ हजार

पोखरा, ११ जेठ
पोखरा महानगरपालिकाको मतगणना सकिएको छ । मेयरमा गठबन्धनका धनराज आचार्य र उपमेयरमा एमालेकी मन्जुदेवी गुरुङ विजयी भएका छन् । मेयरमा आचार्यले ६ हजार ४५ मतान्तरले एमालेका कृष्ण थापालाई हराउँदा उपमेयरमा गुरुङले ३ हजार ८ सय ८३ मतान्तरले कांग्रेसकी कोपीला रानाभाटलाई पराजित गरिन् ।

वडाध्यक्षमा कांग्रेसले बहुमत पाएको छ भने नगरसभा सदस्यमा एमालेको बहुमत छ । ३३ वडा रहेको यहाँ २३ जना कांग्रेस र १ जना स्वतन्त्र गरी गठबन्धनले २४ अध्यक्ष जितेको छ । एमालेले भने ९ वडा मात्रै जित्यो । नगरसभा सदस्यमा भने उपमेयरसहित एमालेले ८७ र गठबन्धनले मेयर सहित ८० सिट जितेको छ ।

पोखराको चुनावमा यसपालि अत्यधिक मत बदर भएको भेटिएको छ । १ लाख ४३ हजार १ सय १० मत गणना हुँदा पूर्ण बदर खासै धेरै नभएपनि मेयर र उपमेयरमा भने अधिक मत बदर देखिएको छ । मेयरमा २० हजार ३३२ र उपमेयरमा १९ हजार ९१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो अनुपात हिसाव गर्दा मेयरमा १४।२० र उपमेयरमा १३।३४ प्रतिशत मत बदर भएको देखिन्छ, जुन पोखराको इतिहासमै सबैभन्दा धेरै बदर हो । दुई तिहाई वडामा अध्यक्ष कांग्रेसले जित्दै गर्दा उपमेयर भने निकै फराकिलो अन्तरले कांग्रेसकै उम्मेद्वार पराजित  भएकी छिन् । बहुमत नगर सदस्य र लोकप्रिय मतका साथ उपमेयर विजयी हुँदै गर्दा मेयरमा एमाले उम्मेद्वार झन् बढी फराकीलो मत अन्तरले चुनाव हारेका छन् । 

पोखरा महानगरको मेयरमा धनराज विजयी, थापाले दिए बधाई

पोखरा, ११ जेठ
पोखरा महानगरको मेयरमा गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेद्वार कृष्ण थापालाई ५ हजार ८ सय ५१ मत अन्तरले चुनाव हराएका हुन् । आचार्यले ५८ हजार ६ सय ६९ मत पाउँदा निकटतम प्रतिश्पर्धी थापाले ५२ हजार ८ सय १८ मत मात्रै पाए । यस्तै, मेयरमा राप्रपाका शंकर खरालले ५ हजार ६ सय ५७ मत पाए भने स्वतन्त्र उम्मेद्वार गनेश पौडेलले २ हजार ९ सय ५१ मत पाएका छन् ।

उपमेयरमा भने नेकपा एमालेकी उम्मेद्वार मन्जुदेवी गुरुङ विजयी भइन् । उनले गठबन्धनबाट कांग्रेसकी उम्मे्दवार कोपीला रानाभाटलाई ३ हजार ३ सय १४ मत अन्तरले पराजीत गरेकी हुन् । गुरुङले ६० हजार ३ सय ७२ मत पाउँदा रानाभाटले ५७ हजार ५८ मत पाइन् । उपमेयरमै राप्रपाकी रन्जना सेनले ५ हजार ६ सय ८३ मत पाएकी छिन् ।

यसैबीच, मेयरमा प्रतिश्पर्धी कृष्ण थापाले विजयी उम्मेद्वार धनराज आचार्यलाई बधाई दिएका छन् । उनले कार्यकाल सफलताको शुभकामना सहित अविर लगाएर बधाई दिएका हुन् ।

न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *