आज संसदमा के के भने ओलीले ?

निर्वाचनमा प्रतिपक्षी दलमथि सरकार निर्मम ढंगले प्रस्तुत भएको ओलीको आरोप

काठमाडौं, १२ जेठ 

प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले स्थानीय तह निर्वाचनमा सरकार प्रतिपक्षी दलमाथि निर्मम ढंगले प्रस्तुत भएको आरोप लगाएका छन् । 

प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै बिहीबार ओलीले सरकार र सत्तारुढ दलका कार्यकर्ता चुनावमा बुथ कब्जा गर्नेदेखि प्रतिपक्षी दलका कार्यकर्तामाथि आक्रमणमा उत्रिएको आरोप लगाए । सत्तारुढ दलका कार्यकर्ता र सरकारले प्रतिपक्षी दलका कार्यकर्तामाथि आक्रमणमा उत्रिने प्रहरीलाई नै परिचालन गरेको ओलीको आरोप छ । 

धाँधलीपूर्ण निर्वाचन गराएको बताउँदै उनले प्रमुख प्रतिपक्षी दलका कारण कुनै पनि केन्द्रको निर्वाचन स्थगित नभएको दाबी गरे । ‘प्रतिपक्षी दलका कारण कतै पनि निर्वाचन स्थगित भएन,’ ओलीले भने, ‘तर, राज्य संयन्त्र प्रयोग गरेर निर्वाचनमा धाँधली गरियो । पञ्चायतकालमा पनि नभएको धाँधली यसपटक गरियो ।’ 

प्रतिपक्षी दल सकाउने गरी सत्तारुढ गठबन्धन चुनावमा होमिएको आरोप लगाउँदै उनले लोकतन्त्रको मूल्यमान्यतामा रहने एमालेलाई सकाउने गरी गठबन्धन लागेको आरोप लगाए । 

सरकारको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरी जस्तो : ओली

एमाले अध्यक्ष केपी ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको तेल मात्र तारेको जस्तो रहेको टिप्पणी गरेका छन् । 

प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै ओलीले नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरीजस्तो रहेको टिप्पणी गरेका हुन् । 

‘नीति तथा कार्यक्रम वर्णमालाका अक्षरहरू भित्र रहेर हेर्दा व्याकरणीय र वाक्य अशुद्धता, संगति नमिल्नु, चास्नीमा नडुबाएको तेलमात्र तारेको जेरी जस्तो, खल्लो, झुल्टिएको, चास्नीमा हाल्न नभ्याएको, अर्थ ननिस्कने छ,’ उनले भने, प्रस्थान विन्दु के हो ? आदि के हो, मध्य के हो ? थाहा छैन ।’

सरकार नै जेरी जस्तो रहेको भन्दै उनले भने, ‘सरकारकै नीति छैन । जेरीजस्तो गुजुल्टिएको, गन्तव्य नभएको । कुनै नीति छैन कहाँ पुग्ने ।’ सरकारको नै नीति र गन्तव्य नै नभएको उनको आरोप छ ।

यसअघि अस्वस्थ भएपछि ओलीले प्रतिनिधिसभामा बसेरै गरे सम्बाेधन 

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली अस्वस्थ भएका छन् ।

प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुने क्रममा प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीले आफू अस्वस्थ रहेको जानकारी दिएका हुन् । 

छलफलमा भाग लिने क्रममा उनले आफू अस्वस्थ रहेकाले बसेर सम्बोधन गर्न सभामुख अग्निप्रसाद सापकाेटासँग अनुमति मागेका हुन् । ‘म अस्वस्थ भएकाले आज बसेर सम्बोधन गर्नेछु,’ उनले भने । 
 
ओली नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी भएका छन् । बुधबार बसेकाे एमाले संसदीय दलकाे बैठकले सरकारले ल्याएकाे नीति तथा कार्यक्रममाथि सूक्ष्म ढंगले केस्रा केस्रा केलाएर संसदमा प्रस्तुत हुन आफ्ना सांसदलाई निर्देशन दिएकाे थियाे । न्युज कारखाना 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *