काठमाडौं, १३ जेठ
प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूको विरोध प्रदर्शन भएको छ ।
बिहीबार बसेको बैठकमा एमाले अध्यक्ष केपी ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरीजस्तो भनेर दिएको अभिव्यक्तिलाई शुक्रबारको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले भ्रष्टाचारको चास्नीमा डुबेकाले अरुलाई पनि सोही देखेको बताएपछि एमालेका सांसदले सो अभिव्यक्ति रेकर्डबाट हटाउन माग राखेर विरोध जनाएका हुन् ।
एमालेका सांसदहरू आ-आफ्नो स्थानबाट उठेर विरोध जनाइरहेका छन् । आयल निगम खारेज गर्न आधा कमिसन खाइसकेको भन्ने एमाले अध्यक्ष ओलीको आरोप पुष्टि गर्न मन्त्री बडूले चुनौती दिएका छन् ।
मन्त्री बडूको यस भनाईलाई धेरैले ‘जस्तालाई त्यस्तै जवाफ’ भनेर टिप्पणी गरेका छन् ।
एमाले अध्यक्ष ओलीले विहिबार संसदमा तीन घण्टा बोलेका थिए । सञ्चो छैन भन्दै बसेर बोलेका ओलीले उक्त समय सरकारको उछितो काड्न खर्चेका थिए । आफ्नो पार्टीले स्थानीय चुनाव हार्नुमा सरकारले बम पड्काएको, गोली चलाएको, मान्छे मारेको र बुथ कब्जा गरेको समेत ओलीले आरोप लगाएका थिए । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको समेत उनले हदैसम्म खिल्ली उडाएका थिए ।