‘श्रीलंकाको अर्थतन्त्रसँग तुलना हुँदैन’ अस्ति ८ जेठ (२२, मे) मा गोरखापत्र दैनिकको पृष्ठ ४ मा भारतका लागि नेपालका राजदूत शंकर शर्मा (विद्यावारिधि) को नाममा छापिएको मुख्य लेखको शिर्षक हो, यो । भारतमा स्थापित अंग्रेजी पत्रिका ‘दी इन्डियन एक्सप्रेस) मा १३ मे (३० बैशाख) मा ‘नेपाल्स इकोनोमी इज नट लाइक लंकाज’ शिर्षकमा श्रीलंकाप्रति ‘दया भाव’ देखाउँदै राजदूत शर्माको लेख प्रकाशित भएको थियो ।
शर्माको त्यही लेखलाई गोरखापत्र दैनिकले नेपालीमा अनुवाद गरेर ८ जेठमा प्रकाशित गरेको थियो भने त्यही दिनको ‘दी राइजिङ नेपाल’ ले ‘दी इन्डियन एक्सप्रेस’ कै शिर्षकमा मुख्य लेख बनाएको थियो । राजदूत शर्माले श्रीलंकाको अर्थतन्त्रमाथि टिप्पणी गर्दै नेपाल र भारतका पत्रिकामा लेख प्रकाशित गरेपछि कानेखुशी गर्दै सही, कूटनीतिक वृतमा अमर्यादित शैली भन्दै बिरोध भएको छ ।
भनिरहनै परेन, राजदूत पद कूटनीतिक जिम्मेवारीको पद हो । नेपालले पन्चशीलका आधारमा सबै देशहरुसँग कूटनीतिक सम्बन्ध अघि बढाएको छ । नेपालका लागि चीन होस् वा भारत, अमेरिका होस् वा श्रीलंका– ‘कसारको कुन बोक्रा, कुन गुदी’ भनिए जस्तै कूटनीतिक रुपमा उत्तिकै प्राथमिकताका देशहरु हुन् । तर, राजदूत शर्माले श्रीलंकाको अर्थतन्त्रलाई ‘बिचरा’ भन्दै नेपाल र त्यहाँको आर्थिक अवस्था लेखाजोखा गरेर कूटनीतिक मर्यादा उल्लंघन गरेको जानकार बताउँछन् ।
परराष्ट्र मन्त्रालयका एक जना सहसचिवका भनाइमा कूटनीतिक जिम्मेवारीमा रहेका राजदूत शर्माले लेख्नै नहुने लेख लेखेका हुन् । अझ् त्यसलाई नेपालको सरकारी मुखपत्र दी राइजिङ नेपालले जस्ताको तस्तै र गोरखापत्र दैनिकले अनुवाद गरेर प्रकाशित गरेर कूटनीतिक सीमा भन्दा अमर्यादित काम गरेका छन् । ‘कुनै राजनीतिज्ञले यस्तो लेख लेखेको, टिप्पणी गरेको भए सामान्य रुपमा लिन सकिन्थ्यो । तर, कूटनीतिक जिम्मेवारीमा राजदूतको पदमा रहेको व्यक्तिले श्रीलंकामाथि टिप्पणी गर्दै लेख लेख्नु कूटनीतिक मर्यादाभन्दा बाहिरको काम हो’, ति सहसचिव भन्छन्, ‘कूटनीतिक मर्यादाको ख्याल गर्ने देशहरुले भए राजदूत शर्मालाई स्पष्टिकरण सोध्थे । फिर्ता समेत बोलाउँथे । हाम्रो त सरकार नै कूटनीतिप्रति गम्भीर नभएकाले जुन राजदूतले जे मर्यादाहिन काम गरे पनि सबै तै चुप मै चुप हुन्छन् ।’


राजदूत शर्मा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् । यस अर्थमा शर्मा राम्रो आर्थिक ज्ञाता मानिन्छन् । अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालय राम्रोसँग चलाउन नसकेको आक्षेप भोगिरहेका छन् । हुन पनि शर्मा अर्थतन्त्रका ज्ञाता होइनन् । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थ मन्त्रालय चलाउन नयाँ अर्थमन्त्री खोजिरहेको गाईगुँई चलिरहेको छ । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले १५ जेठमा बजेट बक्तव्यपछि मन्त्रिपरिषद् फेरबदल हुन सक्ने बताइसकेका छन् ।
‘राजदूतको जिम्मेवारीमा बसेको व्यक्तिले श्रीलंकाको आर्थिक अवस्था गए गुज्रेको भनेर लेख्नु कूटनीतिक मर्यादा विपरीत हो । राजदूत शर्मालाई राजनीति गर्न मन भए अर्थतन्त्रका ज्ञाता नै हुन् । प्रधानमन्त्रीसँग लविइङ गरेर अर्थमन्त्री भए भईगयो नि’, कूटनीतिबारे जानकार एक जना अगुवा भन्छन्, ‘राजदूतको जिम्मेवारीमा रहेर कूटनीतिक मर्यादा विपरीत बोल्नु भन्दा सिधासिधी राजनीतिमा आउनु राम्रो हो ।’