महानगरमा नै घट्यो, एमालेको भोट

२०७४ मा ६ मध्ये २ वटा महानगर जितेको एमालेले यस पटक एउटा पनि महानगरपालिका जितेन

२०७९ को निर्वाचनमा ६ महानगरमा १ लाख ४१ हजार ५ सय ५१ नयाँ मतदाता थपिदा समेत (२०७४ को तुलनामा) १८ हजार १ सय १०मत कम प्राप्त गर्यो, एमालेले ।

२०७४ को स्थानीय निर्वाचनमा ६ मध्ये २ वटा महानगरजितेको नेकपा एमालेले यस पटक एउटा पनि महानगरमा झण्डा गाड्न सकेन । सीट संख्या कम भएपनि मत बढेको भाषण एमाले नेताहरुले गरिरहँदा महानगरमा भने एमालेले मतदाता पनि गुमाएको तथ्यांकले देखाउँछ ।

२०७९ को स्थानीय निर्वाचनमा १ लाख ४१ हजार ५ सय ५१ नयाँ मतदाता थपिदा ६ महानगरमा जम्मा मतदाता संख्या १० लाख ७४ हजार ३ सय पचासी पुगेका थिए ।

२०७४ को निर्वाचनमा जम्मा २ लाख १८ हजार २ सय ८० मत प्राप्त गरेको एमालेले यस पटक १८ हजार १ सय १० मत गुमाएको छ । अर्थात २०७९ को चुनावमा ६ महानगरमा एमालेको जम्मा मत २ लाख १ सय ६९ मा सीमित भएको छ ।

कुन महानगरमा कति मत गुमायो वा थप्यो एमालेले ?
महानगरको कुरा सुरु गरौं काठमाडौंबाट । २०७४ मा ६४ हजार ९ सय १३ मत ल्याएर एमालेका विद्यासुन्दर शाक्यले मेयरमा चुनाव जितेका थिए । यस पटक महानगरमा २० हजार ९ सय ३३ नयाँ मतदाता थपिदा समेत एमाले ३८ हजार १ सय १७ मतमा सीमित भयो ।

पोखरा महानगरमा समेत एमालेको भोट कम भयो । २०७४ को निर्वाचनमा १ लाख ६८ हजार ६९ भोट मध्ये ६० हजार १ सय १८ मत पाएको थियो, एमालेले । २०७९ मा ३९ हजार ६ सय ४३ मतदाता थपिदा पनि एमालेको भोट घट्यो । उसले ७ हजार २ सय ७० भोट घटाउँदै यसपटक मात्रै ५२ हजार ८ सय ४८ मा चित्त बुझाउनु परेको छ ।

भरतपुर महानगरमा समेत एमालेको भोट घट्यो । २०७४ को निर्वाचनमा १ लाख ५० हजार २ सय ७४ भोट मध्ये ४२ हजार ९ सय २४ मत पाएको एमालेले २०७९ मा ३५ हजार ४ सय ७८ मतदाता थपिदा पनि भोट घटायो । उसले ३ हजार ३ सय ९९ भोट घटाउँदै यसपटक मात्रै ३९ हजार ५ सय २५ मा चित्त बुझाउनु परेको छ ।

ललितपुर महानगरको अवस्था पनि खासै फरक छैन । यस महानगरमा २०७४ सालको स्थानीय निर्वाचनमा १ लाख १२ हजार ९ सय २२ मतदाता हुँदा एमालेले २४ हजार ३ सय १६ मत प्राप्त गरेको थियो । २०७९ मा १० हजार २ सय ६८ मतदाता बढ्ला एमालेले २ सय ४४ भोट बढाएको छ ।

विराटनगर महानगरको अवस्था स्थिर देखिन्छ । यस महानगरमा २०७४ सालको स्थानीय निर्वाचनमा १ लाख १३ हजार ७ सय ६१ मतदाता हुँदा एमालेले १७ हजार ३ सय २१ मत प्राप्त गरेको थियो । २०७९ मा १९ हजार ३ सय ८१ मतदाता बढ्दा एमालेले ४ हजार १ सय ३४ भोट बढाएको छ ।

वीरगञ्ज महानगरमा भने एमालेको मत उल्लेख्य मात्रामा बढेको छ । निवर्तमान मेयर विजय सरावगीलाई टिकट थमाएर भित्राएपछि उसको भोट बढेको बुझ्न सकिन्छ । यस महानगरमा २०७४ सालको स्थानीय निर्वाचनमा १ लाख ८ हजार ५ सय १ मतदाता हुँदा एमालेले ८ हजार ६ सय ८८ मत प्राप्त गरेको थियो । २०७९ मा १६ हजार १ सय ४६ मतदाता बढ्दा एमालेले १४ हजार ९ सय ८३ भोट बढाएको छ ।

यो सवै भोट एमालेको मात्रै हो र ?
एमालेले ६ महानगरमा प्राप्त गरेको सम्पूर्ण मत (२ लाख १ सय ६९) उसैको मात्र पनि होइन । किनभने एमालेले ठाऊँ अनुसार अन्य पार्टी वा शक्तिसँग तालमेल समेत गरेको थियो । जस्तो भरतपुरको कुरागर्दा त्यहाँ एमाले र राप्रपाबीच चुनावी तालमेल थियो । कमल थापाको राप्रपा नेपाल, विप्लव माओवादी, परिवार दल, सिके राउतको जनमत पार्टी, लोसपा र ह्देश त्रिपाठीको जनता प्रगतिशील पार्टीसँग पनि एमालेको कार्यगत एकता थियो । ती पार्टीबाट पनि धेरथोर मत एमालेको सूर्य चिन्हमा प्राप्त भएकै छ ।

निश्कर्ष
२०७४ को स्थानीय निर्वाचनको तुलनामा यस पटक १ लाख ४१ हजार ५ सय ५१ मतदाता थपिएका थिए । तर, एमालेले २०७४ मा प्राप्त गरेको भन्दा १८ हजार १ सय १० मत कम पायो । यो मतमा पनि एमालेले साँठगाँठ गरेका लोसपा, राप्रपा, राप्रपा नेपाल, जनमत पार्टी, परिवार दल, जनता प्रगतिशील पार्टी आदिको हिस्सा रहेको छ ।

के नयाँ थपिएका मतदाताले एमालेलाई मत दिएनन् ? वा एमालेले ठूलो संख्यामा पुराना मतदाता गुमायो ? यस सम्बन्धमा अनुसन्धान हुन बाँकी छ ।

तर, एमालेले यस पटकको चुनावमा पञ्चायती कालको भन्दा बढी धाँदली भएको निश्कर्ष निकालेको छ । एमालेलाई एउटा आम प्रश्न, जितेका ठाऊँमा चाहिँ धाँदली भएको हो कि होइन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *