ओलीलाई लक्षित गर्दै प्रचण्डले भने– संविधान मिच्ने र उल्ट्याउन चाहने तत्वलाई जनताले सन्देश दिए
नेकपा (माओवादी केन्द्र)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै संविधान मिच्न र उल्ट्याउन चाहने तत्वलाई स्थानीय निर्वाचनमार्फत जनताले राम्रो सन्देश दिएको बताएका छन् ।
संसद्मा प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममाथि शनिबार विचार राख्दै प्रचण्डले संविधान मिच्न चाहने शक्तिलाई जनतालाई मन नपराएको पनि बताए ।
‘संविधानलाई मिच्न चाहने, संविधान उल्ट्याउन चाहने प्रवृत्तिलाई निर्वाचनको प्रक्रियाबाट जनताले राम्रो सन्देश दिनु भएको छ’, प्रचण्डले भने, ‘यो निर्वाचन सङ्घीय लोकतान्त्रिक गणतन्त्र र गणतन्त्रलाई कार्यान्वयन गर्ने क्रममा कोशेढुङ्गा हुनेछ । र, संविधान उल्ट्याउन चाहने तत्वलाई जनताले मन पराएनन् ।’
प्रचण्डले निर्वाचनमा विदेशमा रहेका नेपालीहरूले पनि उत्साहपूर्वक सहभागिता जनाएको भन्दै खुसी प्रकट गरे । उनले राजनीतिक दल, मतदातादेखि निर्वाचन गराउने भूमिकामा रहेका सबै निकायलाई धन्यवाद ज्ञापन गरेका छन् ।
अब, गठबन्धन सरकार प्रदेश र सङ्घीय निर्वाचनतर्फ उन्मुख हुने उनको भनाइ छ ।
आगामी निर्वाचन जितेर प्रधानमन्त्री बन्न ओलीलाई प्रचण्डको चुनौती
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट फेरि ठूलो दलका नेता भएर प्रधानमन्त्री हुन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन् ।
यसअघि ओलीलाई प्रधानमन्त्री माओवादीले बनाएको दाबी गर्दै अब एमालेको प्रधानमन्त्री बनेर देखाउन प्रचण्डले चुनौती दिएका हुन् ।
२०७४ को सङ्घीय संसद्को निर्वाचनमा माओवादीले बोकेकै कारण एमाले ठूलो दल भएको र नेकपाको तर्फबाट ओली प्रधानमन्त्री भएको बताए ।
नेकपा हुँदा पाँचै वर्ष सरकार चलाउन अध्यक्ष ओलीलाई भनिएको र आफू पार्टी सञ्चालन गर्ने भन्दा अन्ततः त्यसमा ओलीले अरुची देखाएको प्रचण्डको दाबी छ ।
यस्तै, उनले पाँच दलीय गठबन्धन कमजोर भए वा टुटेको अवस्थामा अझै पनि देश दुर्घटनामा जाने बताएका छन् ।
गठबन्धन संविधान बचाउन, लोकतन्त्र बचाउन र गणतन्त्रलाई बचाउन बनेको बताए ।
हाल कांग्रेस नेतृत्वमा पाँच दलीय र एमाले नेतृत्वमा नौं दलीय अर्को गठबन्धन रहेको प्रचण्डको भनाइ छ ।
प्रचण्डले काठमाडौं र धरानका मेयरलाई भने – उहाँहरू सङ्घीय लोकतान्त्रिक गणतन्त्रकाे फूल हुनुहुन्छ
काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकाका मेयरलाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीमा फुलेका दुई फूलको संज्ञा दिएका छन् ।
दुवै फूलरुपी मेयरलाई प्रचण्डले बधाई दिँदै काठमाडौं र धरानवासी मतदातालाई धन्यवाद ज्ञापन गरे ।
उनले दुवै मेयरलाई जनताको भावना र आवश्यकताहरूलाई सम्बोधन गर्ने, दलहरूलाई समदूरीमा राख्दै सबैको सहयोग जुटाउन र शक्ति केन्द्रको प्रभावमा नपर्न सुझाव पनि दिएका छन् ।
संसद्मा प्रस्तुत सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि धारणा राख्दै प्रचण्डले दुई मेयर निर्वाचित हुनुलाई जनताले दलहरूलाई सच्चिन, कमिकजोरी सुधार्न, आत्मलोचना गर्न र उम्मेदवार छनोटमा ध्यान दिन सन्देश दिएको रूपमा बुझिनुपर्ने प्रचण्डको भनाइ छ ।
उनले स्वतन्त्र उम्मेदवारहरूको निर्वाचनले दलहरूलाई चुनौती भन्दा पनि सावधानी अपनाउनतर्फ सचेत तुल्याएको बताए ।