अनलाइन बजारमा ठगहरुले अनेक उपाय निकालेर ठगी गरिरहेका छन् ।
हाम्रो बजार डटकमको वेवसाईटको विज्ञापनबाट ल्यापटप ठगी गर्ने समूहका चार जनालाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले गौतम वुद्ध अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको समन्वयमा अस्ति १३ जेठमा भैरहवाका विभिन्न स्थानबाट पक्राउ गरेकोमा आज प्रहरी परिसर काठमाडौं पठाएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले सार्वजनिक गरेको विज्ञप्ति अनुसार हाम्रो बजारडटकमले ल्यापटप, मोवाईल, क्यामेरा जस्ता सामग्रीको बिक्री गर्न वेवसाईटमा विज्ञापन राखेको थियो । उक्त पेजमा क्रिष्टोफर पिलग्रिम नाम बताउने व्यक्तिले ‘आफू युएसएमा छु । नेपालको साथीलाई ल्यावटप उपहार दिनुछ । कुरियर गरेको अतिरिक्त शुल्क ५ हजार रुपैयाँ दिन्छु’ भनेर भैरहवाको आँखा अस्पताल लाईनमा बिक्रम थापाको नाममा ल्यावटप पठाउन लगाएका थिए ।

तर, पछि ठग समूहले मीनबहादुर थापाको नाममा एनआईसी एसिया बैंकको खाता नं. उम्काई ७० हजार रकम समेत निकालेका थिए । यसरी ठगीमा संलग्नहरु राज भनिने मीनबहादुर थापा, ५५, फेनीकुमार जेट्टी, ३३, हेमन्त भुद्दगिरी, २४ र भारष्कर नायक, ३२ छन् । थापा दाङ घोराही उपमहानगरपालिका–१५ का हुन् भने अरु तीन जना भारतीय नागरिक हुन् ।
अनलाइनबाट ठगी गर्ने समूहले यसअघि भारत, चीन, अमेरिका, वेलायत, हङ्कङ, सिंगापुरलगायत देशमा बसेर ह्वाट्प एप, भाइवर, म्यासेन्जर प्रयोग गरी ठगी गर्ने गरेको थियो । रोचक के यस समूहले भने नेपालभित्रै बसेर ठगी गरेको छ ।