पहिलो बैठकबाट काठमाडौंका मेयरले गरेका ३ महत्वपूर्ण निर्णय

होटल, रेष्टुरेन्टको शौचालय सार्वजनिक रुपमा प्रयोग गर्ने व्यवस्था गर्ने

काठमाडौं महानगरपालिकाले रेष्टुरेन्ट, होटल पेट्रोल पम्पको शौचालय प्रयोग गर्ने निर्णय गरेको छ । 

वैशाख ३० गतेको निर्वाचनबाट चुनिएका महानगरका जनप्रतिनिधिको सोमबार बसेको पहिलो नगर कार्यपालिकाको बैठकले ति स्थानका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो । 

रेष्टुरेन्ट र चेन होटल व्यवसायीसँगको कुराकानीका क्रममा उनीहरुको शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न सकिनेबारे छलफल भएको भन्दै मेयर बालेन शाहले बैठकमा प्रस्ताव गरेका थिए । सार्वजनिक शौचालयहरु पनि बनाउँदै जाने उनले बताए । त्यसरी प्रयोग गर्न मिल्ने शौचालयमा महानगरले बोर्डहरुसमेत राख्ने जनाइएको छ । 

त्यसअघि पदभार ग्रहण गर्दै मेयर साहले बैठक लाइभ गर्ने निर्णय गरेका थिए । 

गुनासो सुन्नका लागि सात दिनभित्रमा कल सेन्टर स्थापना गरिने

काठमाडौं महानगरपालिकामा गुनासो सुन्नका लागि कल सेन्टर स्थापना गरिने भएको छ । 

वैशाख ३० गतेको निर्वाचनबाट चुनिएका महानगरका जनप्रतिनिधिको सोमबार बसेको पहिलो नगर कार्यपालिकाको बैठकले महानगरबासीको गुनासो सुन्नका लागि कल सेन्टर स्थापना गर्ने निर्णय गरेको थियो । मेयर बालेन्द्र साहले यससम्बन्धी प्रस्ताव बैठकमा राखेका थिए । कल सेन्टर सात दिनभित्र स्थापना गरिने निर्णय कार्यपालिका बैठकले गरेको हो । 

काठमाडौं महानगरपालिकाले इन्फ्रास्ट्रक्चर एम्बुलेन्स चलाउने

काठमाडौं महानगरपालिकाले इन्फ्रास्ट्रक्चर एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ । 

वैशाख ३० गतेको निर्वाचनबाट चुनिएका महानगरका जनप्रतिनिधिको सोमबार बसेको पहिलो नगर कार्यपालिकाको बैठकले मेयर बालेन्द्र साहको प्रस्तावमा यस्तो निर्णय गरेको हो । 

सडकका खाल्डाखुल्डी पुर्न, ढल निकास नियमित गर्न भौतिक पूर्वाधार एम्बुलेन्स ७ दिनभित्र सञ्चालनमा ल्याउने निर्णय बैठकले गरेको हो । 

कुनै पनि स्थानमा खाल्डा खुल्डी भयो भने यो एम्बुलेन्सको प्रयोग गर्दै त्यसलाई पुरिने बैठकमा मेयर साहले भने । आज साना देखिएका खाल्डा भोलि ठूलो हुने र टेन्डरको प्रकृया थाल्नु पर्ने अवस्थाको अन्त्य गर्नका लागि यस्तो एम्बुलेन्स प्रभावकारी हुने उनको दाबी छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *