बालेन शाहलाई खुलापत्र । ‘तिमीले उठाउनु पर्ने गोवद्र्धन पर्वत सजिलो छैन’ (भिडियो सहित)

श्री बालेन शाह
विकास अभियन्ता ।

अव
श्रीमान् बालेन्द्र साह
मेयर, काठमाडौं महानगर ।

मध्यपुर थिमी भक्तपुर निवासी म एक सामान्य नागरिक । तिमीलाइ भोट हाल्न नपाएको तर चुनावी यात्रामा तिमीलाइ नजिकबाट नियालिरहेको मान्छे ।

तिम्रो उम्मेदवारीलाई आम युवाले समर्थन गर्दैगर्दा म पनि कतिखेर–कतिखेर त्यही भिडमा मिसिन पुगेँ ? यसमा तिम्रो ब्यक्तित्व, विपक्षीप्रतिको ब्यवहार र नेपाली नागरिक माथिको सम्मानका शब्दहरुले भूमिका खेलेको हुनुपर्छ ।

नेपाली राजनीतिदेखि बिल्कुल पर रहेर विद्यालयमा शिक्षण पेसा अगालेर बसिरहेकी म । मैले पढाउने बिषय सामाजिक भएकाले देशको ईतिहास–वर्तमान विद्यार्थीलाई बताउनु मेरो कर्तब्य हुन्छ । तर मेरा बाबु–नानीहरुले सात समुद्रपारीका देश जाने भविश्य मनमा रोपिसकेको तीतो यथार्थ सुन्दा भावविव्हल हुनेगर्छु । म उनीहरुलाई शिक्षा दिन सक्छु तर सुनिश्चित भविश्यको ज्ञारेन्टी गर्न भने सक्दिन । नेपाली राजनीतिले जर्जर बनाउदै लगेको देशको अवस्था बुझाउन सक्दिन । मनमा खेलिरहन्छ, कोही त त्यस्तो ब्यक्ति आओस् जसले मेरा तमाम विद्यार्थी माझ आशाको दियो बाल्दियोस् ।

तिम्रो नाम सुन्दै गर्दा, पढ्दै गर्दा, अन्तर्वार्ता हेर्दै गर्दा मैले कल्पना गरेको त्यो पात्र तिमीभित्र देख्न थालेँ । कताकता मनमा आशाको विजारोपण भएको भान हुन थाल्यो ।

सुन्दै थिएँ, चुनावी यात्राकाक्रममा तिम्रो घर र थरको प्रसंग । अनि सुन्दै थिएँ, तिम्रो समुदायका वारेमा । अनि नियाल्दै गएँ, तिम्रो राजनीतिक संस्कार । यिनै विषयलाई लिएर भएका अनेक टिका–टिप्पणीले सामाजिक सञ्जालका भित्ता भरिएका देख्थेँ । एकथरीले बिनासित्ती आक्रोश पोख्दै थिए । मानौं तिमी भर्खरै कोशी–गण्डकी बिक्रि गरेर आएका छौं । र,त्यसमा हेर्थें तिम्रा शालिन जवाफ र गतिशिल सोच । अनि अझ बढी धिक्कार लाग्थ्यो राजनीतिक संस्कारको नाममा मक्किएको सत्ता जोगाउन गरिएको कोकोहोलो ।

म धेरै सर्टिफिकेट सिरानीमा हालेर अवसरहरुमा नाताबाद–कृपाबादको जकडाइमा परेको मान्छेमा पर्छु । र, यो मात्र होइन आम गृहिणी, आम युवा र आम शिक्षित नागरिकको हो । यसमा देशको प्रणालीलाई नै धुमिल गराउने राजनीति ब्यवस्थालाई दोष नदिएर कस्लाई दिऊँ ।

मलाई एउटा शिक्षित नागरिक बनाउने श्रेय जनकपुरलाई जान्छ । र जान्छ, मलाई राजनीतिशास्त्र र समाजशास्त्र बुझाउने ती मधेसी मुलका मेरा गुरुबर्गलाई । यिनै कारणले होला मभित्र मधेश र मधेसी समुदाय प्रती छुटै साहानुभुती र सम्मान को भावना गढेको छ ।

यद्धपि मनमा अनेक सङ्का–उपसंका नउठेका भने होइनन् । मान्छे पनि हुन नसकेका आकृतीहरुले राजनीतिको नाममा स्थापित गरेका कुशंस्कारहरुका कारण मेरो मनले चाँडै तिमिलाई विश्वास गर्न नसकेकै हो । राजनीतिको फोहोर पोखरीमा डुबुल्की मारिरहेका नरपशुहरुको स्कूलिङले ‘जुन जोगी आए पनि कानै चिरेको’ उखान संझाइरहन्छ । अगुल्टोको झट्टी खाएर डढेकाहरु विजुली चम्कदा तर्सन्छन् नै । मेरो संका यही विन्दुसम्म मात्र थियो ।

तर, सत्य के हो भने तिमीले पाएको ६१ हजार ७ सय ६७ मत भनेको फगत मत होइन । त्यो काठमाडौंबासीको विश्वास हो । एक पटक डढेलो लाग्यो भने फेरि–फेरि त्यहाँ विश्वासको विजारोपण हुँदैन ।

तराई र पहाडलाई एकाकार बनाउने तिमी सेतुको रुपमा आएका, आम युवाको आशाको केन्द्रबिन्दु, आम नगरिकका विश्वास र नयाँ युगको थालनीगर्न आएका काठमाडौंबासीका कृष्ण हौ । तर पनि तिमीले उठाउनु पर्ने गोवद्र्धन पर्वत सजिलो चाहिँ छैन । …
धन्यबाद
सुलोचना खतिवडा
पेशा– शिक्षण ।
ठेगाना – तिम्रो छिमेकी जिल्ला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *