सन्दर्भः ७७ औं जन्मजयन्ती ।
तत्कालीन राजा वीरेन्द्रप्रति नेपाली जनता किन सकारात्मक थिए ? कुन–कुन कदम र निर्णयले उनी नेपाली जनताका प्रिय राजा बन्न सफल भएका थिए ? यही विषयमा केन्द्रीत छ, यो आलेख ।
जनताको नजरमा वीरेन्द्र
१. पढेलेखेका छन्
ब्रिटेनको इटन कलेज र अक्सफोर्ड विश्वविद्यालय, अमेरिकाको हार्वर्ड विश्वविद्यालय तथा टोकियो विश्वविद्यालयको अब्बल शिक्षा वीरेन्द्रले पाएको जानकारी युवराज छदै आम जनता समक्ष आएको थियो । यसले भावी राजा पढेलेखेको विद्धान् हुँदैछन् भन्ने संदेश स्थापित थियो । किनभने राजा महेन्द्रले औपचारिक शिक्षा लिएको वारेमा कसैलाई पनि जानकारी थिएन ।
त्यसैगरी राजा भएपछि विदेशी मञ्चमा उनले दिएका मन्तब्यहरुको पनि उच्च प्रशंसा गरिन्थ्यो । २०३८ साल भदौ १६ गते पेरिसमा आयोजित अल्पविकसित राष्ट्रहरूको सम्मेलनमा राजा वीरेन्द्रले गरेको सम्बोधन संसारमै चर्चित र प्रशंसित बनेको थियो । उनका यस्ता धेरै भाषण र विदेश भ्रमणहरु सफल भएका थिए ।
२. मितव्ययी छन्
– दरबारका पुराना सोफाहरू हटाएर महारानी ऐश्वर्यले नयाँ फर्निचर ल्याउने सुझाव दिँदा राजा वीरेन्द्रले भनेछन्, ‘जनताले दुःख गरेर तिरेको करबाट यी फर्निचर किनिएका हुन् । पुराना सोफाका कपडा फेरेर मरम्मत गरे हुन्छ, नयाँ किन्नुपर्दैन ।’ नयाँ गाडी खरिद गर्ने कुरामा पनि वीरेन्द्र यस्तै प्रतिकृया दिन्थे । यी र यस्ता समाचार जनताको कान कानसम्म पुगेका थिए ।
३. प्रजातन्त्रप्रेमी छन्
– राजा वीरेन्द्रले २०३६ सालमा जनमत संग्रह घोषणा गरेपछि उनी प्रजातन्त्रप्रेमी हुन् भन्ने संदेश फैलियो । त्यसमा पनि २०४६ सालमा प्रजातन्त्र स्थापना गर्न राजा राजी भएपछि त झनै उनी प्रजातन्त्रप्रेमी भन्ने कुरा स्थापित नै भयो । भनिन्थ्यो, उनी वेलायती राजसंस्थाको मोडेलबाट प्रभावीत थिए ।
माओवादी क्रान्तिलाई दबाउन शाही सेनाको प्रयोगलाई रोक्ने श्रेय पनि वीरेन्द्रलाई दिइन्छ । खासगरी माओवादी र तत्कालीन राजनीतिक दलका विरोधीहरुले उनको यो कदमप्रति सकारात्मक धारणा बनाएका थिए ।
४. राष्ट्रवादी छन्
– राजाहरु राष्ट्रवादी हुन्छन् भन्ने आम छवीकाबीच वीरेन्द्र झनै राष्ट्रवादी भन्ने संदेश सम्प्रेषण भएको थियो ।
– २०३० सालमा राजा वीरेन्द्रले उत्तरी हिमालय क्षेत्रमा बसोबास गर्ने खम्पा विद्रोहलाई शान्तिपूर्ण तरिकाले निःशस्त्रीकरण गर्न सफल भएका थिए । उनको राजनीतिक जीवनकालागि यो घटना सर्वाधिक महत्वपूर्ण मानिन्छ ।
– २०४५ सालमा वीरेन्द्रले चीनबाट विमानभेदी हतियारसमेत ल्याएर नेपाली सेनालाई सुदृढ गर्न खोज्दा भारतले १५ महिना नाकाबन्दी लगाएको थियो । जसको उनले डटेर सामना गरेका थिए ।
५. शान्ति क्षेत्र घोषणा
– नेपाललाई सदैव सुरक्षित, स्वतन्त्र, शान्त र समुन्नत बनाउने अभिप्रायले राजा वीरेन्द्रले २०३१ साल फागुन १३ गते (शुभराज्याभिषेकको भोलिपल्ट) शान्ति क्षेत्रको प्रस्ताव राखे । आफ्नो शुभराज्याभिषेकमा काठमाडौंमा उपस्थित भएका विभिन्न देशका राष्ट्राध्यक्ष र सरकार प्रमुखसमक्ष उनले नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस् भन्ने प्रस्ताव राखेका थिए । ११६ राष्ट्रले समर्थन गरे पनि भारतले भने समर्थन गरेन । वीरेन्द्रप्रति भारतीय यो व्यवहारको पनि ‘सेम्प्याथी’ थपिदै गएको थियो ।
६. विकाशप्रेमी छन्
– बुझ्नेहरुले राजा वीरेन्द्र शाहले बाबु महेन्द्रको रफ्तारमा काम गर्न सकेनन् भने पनि आम जनताले भने वीरेन्द्र विकासप्रेमी मान्दथे । पाँच विकास क्षेत्र घोषणा, सार्कको स्थापना, विभिन्न कलकारखानाको स्थापना आदिका कारण उनको विकासप्रेमी छवी स्थापित थियो ।
७. कलाप्रेमी छन्
– प्रा. यदुनाथ खनालले लेखेका छन्– ‘चित्रकलामा राजा वीरेन्द्रको सौख गहिरो थियो ।’ कलाकार मनुजबाबु मिश्रले वीरेन्द्रको चित्रकलाका सम्बन्धमा पुस्तक नै लेखेका थिए भने डाक्टर लय मैनालीले समेत वीरेन्द्रको कलाकारिताका सम्बन्धमा बर्णन गरेका छन् । उनले सृजना गरेका ४ वटा चित्र कलाबृत्तमा प्रसिद्ध छन् । वीरेन्द्रका कला गुरु विजय थापका अनुसार उनी ‘सर्जक’ नै थिए ।
भनिन्छ– अधिराजकुमारी श्रुतिले बुबासँग पेन्टिङको प्रारम्भिक शिक्षा लिएकी थिइन् । उनले चित्रकलाको एकल प्रदर्शनी समेत गरेकी थिईन् । श्रुतिका कला गुरु चाहिँ गोविन्दमान सिंह डंगोल थिए ।
वीरेन्द्र कहिलेकाहीं सांस्कृतिक कार्यक्रममा मादल बजाउँथे । सुबी शाहले उनलाई मादल बजाउन सिकाएका थिए । एकपटक विदेश जाँदा आफूले गीत गएको र राजा वीरेन्द्रले मादल बजाएको कुरा कीर्तिनिधि विष्टले आफ्नो संस्मरणमा लेखेका छन् ।
– वीरेन्द्र हेलिकप्टर उडाउँथे । उनको उडान ‘प्रोफेस्नल पाइलट’ले पनि जिब्रो टोक्ने खाल्को थियो पनि भनिन्छ । अर्थात उनी पारंगत पाइलट थिए ।
८. दरबारका भुमिगत गिरोहबाट पीडित छन्
– वीरेन्द्रको पालामा धेरै नकारात्मक कामहरु पनि भए । जस्तो लिम्पियाधुरा–कालापानी क्षेत्र भएको चुच्चे नक्सा हट्यो, जसले ४० हजार हेक्टर अर्थात ३ सय ९५ बर्गकिमी क्षेत्र घट्यो वा गुम्यो । सिंहदरबारबाट हरायो सुगौली सन्धीको सक्कली कागजात । त्यसैगरी २०३६ सालको जनमत संग्रहमा धाँदली गरेर बहुदललाई हराईयो । देशभरीका मूर्ति र पुरातात्विक महत्वका बस्तुहरु उनकै पालामा चोरी भए । पञ्चयती व्यवस्था झन् झन् निरंकुश हुँदै गयो । यी र यस्ता धेरै नकारात्मक काम भए र भइरहे राजा वीरेन्द्रको नेतृत्व रहेको पञ्चायती व्यवस्थामा । तर पनि वीरेन्द्रलाई यी तमाम गल्तीका सम्बन्धमा जनताले दोषी ठानेनन् ।
बरु पञ्चायतका एकजना खम्बा सूर्यबहादुर थापाले भनेजस्तो भुमिगत गिरोहले वीरेन्द्रलाई काम गर्न दिएनन् वा बदनाम गरे भन्ने निश्कर्ष निकाले जनताले । दरबारका भूमीगत गिरोह भनेर खासगरी तत्कालीन महारानी ऐश्वर्य र अधिराजकुमार ज्ञानेन्द्रलाई चिनिन्थ्यो । त्यसकारण दोषजती ऐश्वर्य र ज्ञानेन्द्रलाई अनि सकारात्मक काम वीरेन्द्रलाई भाग लाग्थे । वीरेन्द्र लाटो, सोझो भएको वताउँथे दरवारमा नजिक रहेकाहरु ।
नभन्दै वीरेन्द्रको वंशनासपछि राजा भएका भाइ ज्ञानेन्द्र शाहले आफू दाइजस्तो नभएको भनेर प्रतिकृया दिएपछि त झनै वीरेन्द्रप्रति आम जनताको सद्भाव बढेको थियो ।
वीरेन्द्रको व्यक्तित्व
– तत्कालीन युवराज महेन्द्र शाह र उनकी जेठी पत्नी राजकुमारी इन्द्रराज्यलक्ष्मी देवीका जेठा छोराको रूपमा वि.सं. २००२ पुष १४ गते काठमाडौँको नारायणहिटी राजदरबारमा वीरेन्द्रको जन्म भएको थियो । उनी बाँचिरहेका भए अहिले ७७ बर्षका हुन्थे ।
– वीरेन्द्रले दार्जिलिङको सेन्ट जोसेफ स्कुलमा सुरुवाती अध्ययन गरेका थिए । वि.सं २०१५ मा संयुक्त अधिराज्यको इटन कलेजमा भर्ना भएका उनी २०२० सम्म त्यहाँ अध्ययनगरी नेपाल फर्केका थिए । पछि उनले २०२३ देखि २०२४ सम्म हर्वार्ड विश्वविद्यालयमा राजनीतिक सिद्धान्तको कोर्ष गर्नु पूर्व नै टोकियो विश्वविद्यालयमा समेत अध्ययन गरेका थिए ।
– वीरेन्द्रले २०२६ फागुन १६ मा केन्द्र शम्शेर जवराकी छोरी ऐश्वर्या राज्य लक्ष्मीदेवीसँग विवाह गरेका थिए । इतिहासको सबैभन्दा भव्य हिन्दू विवाह समारोहको रूपमा रहेको उक्त विवाहको लागि ९५ लाख अमेरिकी डलर खर्च भएको वताईन्छ ।
– पिता महेन्द्रको अकस्मात र रहस्यपूर्ण निधन पश्चात् २०२८ माघ १७ मा २७ वर्षको उमेरमा वीरेन्द्र राजा बनेका थिए । तर त्यसअघि नै वीरेन्द्रले पैदल यात्री भएर नेपाल घुमेका थिए ।
– उनी कलाप्रेमी थिए । आफ्नै अध्यक्षतामा ललितकला संस्था नाफा स्थापना गरेका वीरेन्द्र राम्रो चित्रकार पनि थिए ।
– समग्रमा वीरेन्द्र भद्र र शालीन मानिन्थे ।