किन थुक्छ कीर्तिपुर, काठमाडौंलाई हेरेर ? (भिडियो सहित)

सन्दर्भः पुष २७ अर्थात पृथ्वी जयन्ती ।

पृथ्वीनारायण शाहको जन्म दिन हो । यस दिनलाई गौरवकासाथ स्मरण गर्दै विविध कार्यक्रम गरिदै आएको छ ।

विगतका तुलनामा यस पटकको पृथ्वी जयन्ती विशेष महत्वको छ । किनकी यस पटकको पुस २७ मा पृथ्वीनारायण शाह जन्मिएको ठिक ३ सय वर्ष पुरा भएको छ । उनको जन्म वि.स. १७७९ हो । समर्थकहरु भन्छन् – छरिएर रहेका ससाना राज्यलाई एउटै मालामा उनेर विशाल नेपाल बनाउन सुरुवात गरे, पृथ्वीनारायण शाहले ।

तर, पुष २७ को समर्थकहरु भएझैं बिरोधमा उत्रनेहरु पनि रहेका छन् । विरोधीहरु भन्छन्, – पृथ्वीनारायण शाहले खुनी हमला गरे, हाम्रो जातलाई दवाए । कीर्तिपुरबासीको थप आरोप छ, पृथ्वीनारायण शाहले युद्ध जीतेपछि हाम्रा पूर्खाको नाक–कान काटे । हाम्रो इतिहास नामेट पारे ।

त्यही कारण कीर्तिपुरबासी काठमाडौंलाई हेरेर थुक्ने गर्छन् । पुष २७ मा कीर्तिपुर थुक्छ, काठमाडौंलाई । थुक्ने ढुंगा छ, कीर्तिपुरमा । त्यहाँबाट पृथ्वीनारायण शाहको दरबार हनुमानढोका देखिन्छ, उनीहरु त्यही दरबार हेरेर थुक्ने गर्छन् ढुंगामा ।

पृथ्वीनारायण शाहका विरोधीहरुको तर्क के–के हुन् ?
पृथ्वीनारायण शाहको निधन वि.सं. १८३१ माघ १ गते बिहान ७ बजे भयो । यसबेला उनी ५२ वर्षका मात्र थिए । पृथ्वीनारायण शाहको निधनपछि उनका बिरोधीहरुले उनलाई हिंस्रक, अमानवीय, सामन्ती राजाको संज्ञा मात्रै दिइरहेका छैनन्, पछिल्ला दिनहरुमा त उनको राज्य विस्तार अभियानलाई एकीकरण नै नमान्ने जिरह पेस गरिरहेका छन् ।

कीर्तिपुरको युद्धमा विजय प्राप्त गरिसकेपछि पृथ्वीनारायण शाहले त्यहाँ पराजितहरुको नाक काटेर १२ धार्नीको थाक लगाएको बिरोधीहरुको आरोप छ । भलै, यस आरोपलाई पुष्टि गर्ने आधारहरु भने बलिया छैनन् । दुई–दुई पटक हारेर तेस्रो पटकमा विजय प्राप्त गरेको, आफ्नो सबैभन्दा विस्वासिलो र सुरो कमाण्डर कालु पाँडे किर्तिपुरकै लडाईँमा मारिएको र आफू पनि संयोगले मात्र बाँच्न सकेकाले त्यहाँ पराजितहरुप्रति पृथ्वीनारायण शाहले एकहदसम्म निर्दयी व्यवहार अवश्य नै देखाएको अनुमान गर्न सकिन्छ । तर, नाक काटेर १२ धार्नी जम्मा गरेको प्रमाण भने बलियो छैन । १२ धार्नी नाक जम्मा गर्न कति मानिस मारिनु पर्ला ? त्यसबेला किर्तिपुरको जनसंख्या कति थियो होला ? जस्ता सामान्य प्रश्नमा घोत्लिने मात्र हो भने पनि पृथ्वीनारायण शाहमाथि गरिएको यस्ता प्रचार मिथ्या साबित हुन्छन् ।

पृथ्वीनारायण शाह एकहदसम्म सन्की र हठी थिए भन्ने उनका केही गतिविधिले देखाउँछन् । जस्तो कि गोरखाको राजगद्दीमा बसिसकेपछि मकवानपुरका राजा हेमकर्ण सेनले आफ्नी छोरी लिन निम्त्याएका थिए । निम्तो अनुसार उनी आफ्नी राजकुमारी लिन आएर दरबार नजिकै डेराडड्डा जमाएर बसेका थिए । यसैक्रममा आफूलाई ससुरा हेमकर्ण सेनका सिपाहीले जुत्ता नफुकाली सलाम गरेको देखेपछि उनीहरुको हत्या गर्न लगाएका थिए । यही विषयमा जेठु दिग्बन्धन सेन र मन्त्री कनकसिंह बानियाँसँग किचलो भएपछि पृथ्वीनारायण शाह श्रीमती नै नलिई आफ्नो राज्य गोेरखा फर्किए ।

त्यसैगरी काशी–गोरखपुरबाट आधुनिक हतियार लिएर फर्कनेक्रममा गोरखपुरको गोमतीनगरमा लखनउका तत्कालीन नवाब बलवन्तसिंहका सिपाहीहरुले पृथ्वीनारायण शाहसँग रहेका सबै सहयोगीहरुको भारी चेकजाँच गर्न खोजे । यो घटनाबाट क्रुद्ध बनेका शाहले उनीहरुलाई मार्न निर्देशन दिए । उनीहरु मारिए । बिरानो मुलुकमा सामान्य विवादमै अर्काका सिपाहीको हत्या गरिनु हठीपनकै उदाहरण हो ।

नुवाकोटमा विजय प्राप्त गरेपछि ज्युँदै पक्राउ परेका जयन्त रानालाई पृथ्वीनारायण शाहले छाला काडेर नून–चूक लगाएर क्रुरतापूर्वक हत्या गराएका थिए ।

यी केही प्रतिनिधि घटनाका कारण उनका विरोधीहरुले पृथ्वीनारायण शाहलाई क्रुर, हिंस्रक, सामन्तीको उपमा दिने गरेका हुन् । तर, त्यसबेलाको लडाईँलाई यसवेलाका विरोधीहरुले आधुनिक चश्माले मुल्यांकन गर्दा पक्कै उनीमाथि न्याय हुँदैन । मानवअधिकारका सिद्धान्तहरु प्रतिपादन भइसकेको, आधुनिक कानूनका सिद्धान्त र आचार संहिताहरु जारी भइसकेको वर्तमान समयमा त बिरोधीहरुलाई निर्ममता र कायरतापूर्वक दमन गरिने गरेको छ भने आजभन्दा झण्डै तीन सय वर्ष अगाडिको युद्ध तत्कालीन परिवेश अनुसार हिंस्रक हुनु स्वभाविकै हो । पृथ्वीनारायण शाहका पक्षपातीहरु भन्छन् –त्यसवेला रामराम भनेर बसेको भए पक्कै नेपाल एकीकरण हुने थिएन ।

कस्ता थिए पृथ्वीनारायण शाह ?
पृथ्वीनारायण शाहप्रति चासो राख्ने सबैलाई जानकारी भएकै कुुरा हो, उनका पिता गोरखाका राजा नरभुपाल शाहका चारवटी पत्नीहरु थिए । शर्मा बालचन्द्र नेपालले लेखेको ऐतिहासिक रुपरेखा नामक पुस्तकको तृतिय संस्करणको पृष्ठ २१६ मा उल्लेख भए अनुसार जसमध्ये माइली पत्नी कौशल्यावतीका गर्भबाट बृहस्पतिवार वि.सं. १७७९ साल पुस २७ मा पृथ्वीनारायण शाहको जन्म भएको थियो ।

आचार्य बाबुराम, नेपालको संक्षिप्त वृत्तान्त पुस्तकका अनुसार पृथ्वीनारायण शाहको पहिलो विवाह मकवानपुर राज्यका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग वि.सं. १७९५ सालमा भयो । तर, विवाह सम्पन्न भए लगत्तै दुई पक्षबीच खटपट बढ्यो । राजा सेनले ‘राजकुमारी अहिले सानै छिन्, त्यसैले उनलाई अहिले नै गोरखामा पठाइहाल्न संभव भएन । एक–आध वर्षपछि शुभ साइत हेरी ‘गौना’ गर्न आउनुहोला‘ भनेर गोरखा राज्यबाट आएका जन्तीहरुका साथ ज्वाईँ पृथ्वीनारायण शाहलाई रित्तोहात फर्काइदिएका थिए ।

पृथ्वीनारायण शाहको दोस्रो विवाह भारत गोरखपुरकी राजपुत कन्यासँग वि.सं. १७९७ सालमा भयो । दोस्रो विवाहको दुई वर्षपछि पिता नरभुपाल शाहको वि.सं. १७९९ चैत्र २५ गते देहवसान भएसँगै यसैदिनबाट युवराज पृथ्वीनारायण शाह गोरखा राज्यको राजा भए । राजा भए लगत्तै उनले नुवाकोट राज्यमाथि आक्रमण गरे । त्यसअघि उनका पिता नरभुपाल शाहले पनि नुवाकोटमाथि हमला गरेर असफल भएका थिए । पृथ्वीनारायण शाह पनि पराजित भए । यसपछि उनी बन्दुक, गोला, बारुदको जोहोका लागि भारत हान्निए ।

भारतको गोरखपुर, काशीमा आफ्ना ससुरासमेतको सहयोगमा पृथ्वीनारायण शाहले तत्कालीन समयका आधुनिक हतियारहरु संकलन गरे । यी हतियार प्राप्त गरेसँगै पृथ्वीनारायण शाहले नुवाकोटमाथि पुनः हमला गरी वि. संं. १८०१ असोज १५ गते त्यस राज्यलाई आफ्नो नियन्त्रणमा लिए । एवं रीतले आफ्नै ससुराली मकवानपुर राज्यमाथि समेत आक्रमण गरेर शाहले नियन्त्रणमा लिए । १८१९ मा पृथ्वीनारायण शाहले मकवानपुर राज्यमाथि हमला गरेर नियन्त्रणमा लिएका थिए ।

यसपछि उनको चौबिसी राज्यसँग लडाईँ भयो । १८२१ मा चौबिसी राज्यमाथि शाहले कब्जा जमाए । यससँगै उनले काठमाडौं उपत्यकाका राज्यलाई निसानामा पार्न थाले । १८२२ मा तेस्रो पटकमा किर्तिपुरलाई आत्मसमर्पण गर्न बाध्य तुल्याए र १८२५ मा काठमाडौं, त्यसको १० दिनकै हाराहारीमा ललितपुर अनि १८२६ मंसिर १ मा भादगाउँ (भक्तपुर) मा आधिपत्य जमाए ।

वि. स. १९९२ मा ज्ञवाली सूर्यबिक्रमको पुस्तक पृथ्वीनारायण शाह अनुसार १८२८ मा उनको नजर पूर्वतिर बढ्यो । उनले अरुणसम्म सीमा बिस्तार गरे । त्यसको एक वर्षपछि विजयपुर जिते । त्यही बर्ष अरुण तथा तमोर माझको इलामलाई आत्मसमर्पण गराए ।

पृथ्वीनारायण शाह नभएको भए के हुन्थ्यो ?
उनको कालक्रमलाई नियाल्दा पृथ्वीनारायण शाह दुरदर्शी राजा थिए भन्न सकिन्छ । राजगद्दीमा नबस्दै उनले मकवानपुरका राजाकी छोरीसँग बिहे गरेर उनलाई आफ्नो काबुभित्र राख्न खोजेको देखिन्छ । त्यसैगरी भक्तपुरका राजा रणजित मल्ललाई मितेरी साइनो गाँसेर ‘मित बुबा’ बनाएका थिए । यो चातुर्यताको अर्थ पनि मल्ललाई आफूप्रति नरम बनाउनु नै थियो ।

पृथ्वीनारायण शाहले नुवाकोटमा आक्रमण गर्न आउनु अघि उनको सबैभन्दा बलियो शत्रु राज्य लमजुङ थियो । आफू नुवाकोट आक्रमण गर्न गएका बेला लमजुङले गोरखामाथि आक्रमण नगरोस् भनेर पृथ्वीनारायण शाहले कुटनीतिक पहलकदमी मार्फत लमजुङलाई आफ्नो वशमा पारेका थिए । उनले राज्य बिस्तार गर्दा सबै राज्यहरुलाई एकै पटक आक्रमण गर्ने भन्दा एकपछि अर्कोलाई आक्रमण गरेर नियन्त्रणमा लिने रणनीति अपनाएका थिए । तीन सय वर्ष अघिको आँखाले हेर्दा उक्त कार्यशैली निकै दुरदर्शी मान्न सकिन्छ ।

ग्यारेन्टीकासाथ भन्न सकिन्छ, उनी लहडमा र सनकमा सीमित थिएनन् । उनले दुई ढुंगाबीचको तरुल भनेर नेपाललाई बुझेको हुनाले नै हो, एकीकृत राज्य बनाउने सोच र दृढता पलाएको ।

एउटा कोणबाट सोच्न सकिन्छ,– पृथ्वीनारायण शाह नभएको भए नेपाल के हुन्थ्यो ? अहिले जे जतिले आफूलाई सगर्व नेपाली भनेर चिनाइरहेका छन् वा चिनिइरहेका छन्, उनीहरु के हुन्थे ?

पृथ्वीनारायण शाहले नेपाल राज्य बिस्तार नगरेका हुन्थे भने पनि एउटा नागरिकका रुपमा अवश्य नै हाम्रो जन्म हुने थियो होला । तर, हामीले आफूलाई गर्वका साथ नेपाली भनेर चिनाउन भने अवश्य नै पाउने थिएनौ । सुन्दर हिमाली उपमहाद्धीपका जनता हुन पाउने थिएनौं । हामी भुरे टाकुरे राज्यका जनता हुने थियौं वा ‘बिट्रिस’हरुले भारतीय उपनिवेशको राज्यमा यस धर्तीलाई गाभिसकेका हुने थिए । तसर्थ नेपाल राज्य बिस्तारको जस पृथ्वीनारायण शाहलाई दिनुको विकल्प छैन । उनीमाथि समीक्षा हुनसक्छ, तर अनेकन लान्छना लगाउनु अग्रगामी चेत अवश्य नै होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *